काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्वतयारी तथा मतदान अवधिभर जिल्लास्थित प्रशासन र सुरक्षा संयन्त्रले स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वयलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।
गृह सचिव तथा मन्त्रालयका उच्च पदाधिकारीसहित काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले निर्वाचन तयारी र जिल्लाको समग्र अवस्था बुझ्ने क्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई आवश्यक निर्देशन दिएका हुन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित गृह मन्त्रालयले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले जोड दिए।
सो अवसरमा मन्त्री अर्यालले धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयको अवलोकन गर्दै मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेसँग भेट गरी निर्वाचन तयारीको अवस्थाबारे जानकारी लिए।
त्यसैगरी काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूले जिल्लाको शान्ति सुरक्षाको अवस्था र निर्वाचन व्यवस्थापनसम्बन्धी तयारीबारे गृहमन्त्रीलाई अवगत गराएका थिए।