काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

प्रतिनिधिसभा निर्वाचन

विगतमा बाचाअनुसार काम नभएकाले दिक्किएका महोत्तरीका मतदातालाई आकर्षित गर्न उम्मेदवारहरूलाई कठिन

महोत्तरीमा चुनाव प्रचारमा बायाँबाट जसपाका शरतसिंह भण्डारी, रास्वपाका प्रमोद महतो, कांग्रेसका बजरङ्ग नेपाली र नेपाली कम्युनिष्ट पार्टीका भरतप्रसाद साह।
अ+
अ-

आफूले जिताएर पठाएका जनप्रतिनिधिबाट निरन्तर ठगिएको अनुभव गर्दै आएका महोत्तरीका बासिन्दासामु फेरि अर्को चुनाव नजिकिँदो छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरू जनताका घरदैलो र खेतखलियानमा पुगेर भोट मागिरहेका छन्। जनमत तान्न विभिन्न बाचा र अजेन्डा अघि सारिरहेका छन्। तर विगतमा बाचाअनुसार काम नभएका कारण दिक्किएका मतदाताले उम्मेदवारका प्रतिबद्धतालाई खासै वास्ता गरिरहेका छैनन्। जिल्लावासीले आवश्यकतामा आधारित भौतिक विकास र आर्थिक गतिविधिको अभाव भोग्दै आएका छन्।

महोत्तरीमा चारवटा निर्वाचन क्षेत्र छन्। यीमध्ये क्षेत्र नम्बर १ को बर्दिबास, २ को लोहारपट्टि, ३ को जलेश्वर र ४ को रामगोपालपुरमा निर्वाचनको उत्साह न्यून छ। उम्मेदवारहरू ग्रामीण भेगका सोझासीधा, कम पढेलेखेका र निरक्षर मतदाता रिझाउन खटिइरहेका छन्।

सदरमुकाम जलेश्वर र आसपासका क्षेत्रलाई प्रतिनिधित्व गरी निर्वाचित भएका सांसदहरूले बाँडेका विकासको सपना कहिल्यै पूरा नगरेको यस क्षेत्रका मतदाताको गुनासो छ। २०५१ सालको प्रतिनिधिसभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित महेन्द्र रायले जलेश्वर रंगशालामा पारापिट बनाउन गाड्न लगाएको पिलर यसको उदाहरण हो। त्यसपछिका कुनै सांसदले त्यहाँ दर्शक बस्ने लायकको स्टेडियम बनाउन जाँगर नचलाउँदा हालसम्म पनि पिलर ठडिएकै छ।

२०३९ सालमा स्थापना भएको रामानन्दन विश्वेश्वर महेन्द्र क्याम्पसको आधुनिक भवन र उच्च प्राविधिक शिक्षा केन्द्र बनाउन कसैले चासो देखाएनन्। सीमावर्ती भारतीय बजार भिठ्ठामोडमा तीव्र विकास भइरहँदा नेपालतर्फको मलिवारा बजार व्यवस्थित गर्न हालसम्म योजना समेत बनाइएको छैन। आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को बजेटमा घोषणा भएको जलेश्वर इन्जिनीयरिङ कलेज स्थापना र भिठ्ठामोड–जलेश्वर–जनकपुर रेलमार्ग निर्माण अझैसम्म प्राथमिकतामा परेको छैन।

वर्षायाममा रातो खोलामा आउने बाढीबाट हुने क्षति रोक्न किनारा व्यवस्थित गर्ने र घाट निर्माण गर्ने काम कुनै सांसदको प्राथमिकतामा पर्न सकेको छैन। तत्कालीन जिल्ला विकास समिति हुँदा जलेश्वर नजिकैको बेला टोलमा रातो खोलामा निर्माण सुरु भएको झोलुंगे पुल अधुरै रह्यो। यसले गर्दा बेला टोलवासीलाई जलेश्वर महादेव मन्दिर पुग्न दुई गाउँ घुमेर हाटबजार आउनुपर्ने बाध्यता छ।

त्यस्तै, पश्चिमतर्फ नजिकै रहेको चकवा गाउँ पुग्न दशकौँदेखि घुमाउरो बाटो प्रयोग गर्नुपरिरहेको छ।

नेपाल टेलिभिजनको जलेश्वर रिले स्टेशनलाई छुट्टै च्यानल बनाउन नागरिकस्तरबाट दबाब दिइए पनि विकासको मुद्दा बनाइएन। यस्तै, मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल)ले ओगटेको ३० बिघाभन्दा बढी जग्गामा शिक्षण संस्था र अस्पतालहरू खोल्न तीन दशकयता माग गर्दै आए पनि संघीय जनप्रतिनिधिहरूले बेवास्ता गरेको स्थानीयवासीको आरोप छ। पोखरामा मेडिकल कलेज र अस्पताल खुल्न अगावै जलेश्वरमा इन्जिनीयरिङ कलेज खोल्न भारतीय समूहले सस्तो मूल्यमा जग्गा खरिद गरेको थियो। मनिपालको भौतिक सम्पत्ति भारतीयहरूबाट नेपाली सञ्चालकको हातमा आएपछि जलेश्वरको जग्गा बिक्री हुने चिन्ता पनि बढेको छ।

महोत्तरी ३ मा २०४८ सालपछि भएका सबै आम निर्वाचनमा तराई ब्राह्मण समुदायका व्यक्तिहरूले नै जित हासिल गर्दै आएका छन्। दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (एमाले)का रामदयाल मण्डलले जितेर त्यसमा क्रमभंग गरे पनि तराई ब्राह्मण समुदायको दबदबा कायमै छ। यस क्षेत्रमा राजनीतिक दलभन्दा मुस्लिम, दलित र पिछडावर्गका जातिहरूलाई रिझाएर उनीहरूले चुनावी नतिजा आफ्नो पक्षमा पार्दै आएका छन्।

२०४८ सालदेखि २०६२/६३ सालको जनआन्दोलन अगाडिसम्म नेपाली कांग्रेसको पकड क्षेत्र रहेको महोत्तरी क्षेत्र नम्बर १ अहिले कम्युनिष्टको क्षेत्र बनेको छ। बर्दिबास बजार रहेको यस क्षेत्र आर्थिक गतिविधिमा अगाडि छ। बर्दिबासमा होटल र अस्पतालमा अत्यधिक लगानी छ। तर यस क्षेत्रको मुख्य समस्या नदीजन्य पदार्थको अवैध दोहन राजनीतिक मुद्दा बन्न सकेको छैन। त्यस्तै, प्राकृतिक र पुरातात्विक महत्त्वको पर्यटन क्षेत्रको विकास पनि प्राथमिकतामा पर्न सकेको छैन।

महोत्तरी १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रहेका गिरिराजमणि पोखरेल आफ्ना मतदातासँग।

आव २०७३/७४ को बजेटमा समेटिएर २०७६ सालदेखि बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना सञ्चालनमा रहे पनि मूर्त रूप लिन सकेको छैन। बर्दिबास–गौशाला सडकको रामनगरमा निजी उद्योगहरू सञ्चालनमा रहे पनि औद्योगिक करिडोर बनाउन पहल भएको छैन। यसको सट्टा सहरीकरणको प्रभावमा रहेको जनकपुरधाम–बर्दिबास राजमार्गलाई औद्योगिक करिडोर बनाउने सपना बाँडिएको छ। त्यस्तै, बर्दिबास–भँगहा औद्योगिक करिडोर बनाउने सपना बाँडिए पनि काम थालिएको छैन।

महोत्तरीको उत्तरी भेगमा पर्ने क्षेत्र नम्बर १ र दक्षिणी भूगोलमा पर्ने क्षेत्र नम्बर ३ मा दशकौँ अगाडिदेखि बाचा गरिएका योजनाहरू कतिपय सुरु नै गरिएका छैनन्, कति चाहिँ सुरु गरिए पनि बीचैमा अलपत्र छाडिँदा आधाअधुरा अवस्थामा छन्। यसले गर्दा दुवै क्षेत्रका मतदातामा चरम निराशा छ।

जिल्लाको पूर्व–पश्चिम भूगोललाई क्षेत्र नम्बर २ र ४ ले जोडेको छ। यी दुवै क्षेत्र उत्तर र दक्षिण भूगोलको तुलानामा कम विकसित छन्। अन्य निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यहरू एकै समुदायबाट भए पनि अनुहार फेरिँदै आएका छन्, तर महोत्तरी २ मा चार दशकदेखि एकै व्यक्ति शरतसिंह भण्डारीको दबदबा छ। बीचमा, २०७० सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रमा कांग्रेसकी किरण यादव प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन्।

महोत्तरी २ मा भौतिक विकासको गति सुस्त छ। मानवीय विकास र भौतिक विकासमा एकसाथ काम हुन नसकेको देखिन्छ। जनकपुरधामदेखि पडौलस्थान हुँदै हुलाकीमार्ग जोड्ने मध्यवर्ती सडक व्यवस्थित र चौडा हुन बाँकी छ। यो सडक व्यवस्थित नहुँदा सर्लाहीको मलंगवाबाट आउने निजी सवारीसाधनले जलेश्वर हुँदै जनकपुरधामसम्मको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता छ। बदिया बन्चौरीमा रहेका सयौँ वर्ष पुराना पुरातात्विक स्थलहरूबारे अध्ययन अनुसन्धान हुन सकेको छैन।

महोत्तरी ३ मा उम्मेदवार रहेका नेकपा एमालेका मनोजकुमार सिंह मतदातासँग।

महोत्तरी २ र ४ मा चुनाव जित्न मुख्यगरी यादव समुदायको विश्वास जित्नुपर्ने हुन्छ। जिल्लाको समसी बजारलाई प्रतिनिधित्व गर्ने क्षेत्रबाट यादवबाहेक एकपटक नेकपा (एमाले)का दीपनारायण साह दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए।

जिल्लाको प्रमुख समस्या नै शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच नहुनु हो। कतिपय क्षेत्रमा खाद्यान्न संकट र बालबालिकामा कुपोषण छ। आर्थिक अवस्थामा सुधार ल्याउन कुनै ठोस योजना र औद्योगिकरणको अभाव छ। रातो खोलालगायत अन्य नदीहरूको किनारलाई व्यवस्थित गरेर ‘रिभरसाइड टुरिज्म’ वा करिडोर बनाउन ठोस पहलकदमी नहुँदा किनारका बासिन्दा सधैँ बाढीको जोखिममा रहन्छन्।

महोत्तरी जिल्लाबाट २०४८ सालदेखि हालसम्म प्रतिनिधिसभा तथा संविधानसभा सदस्यमा निर्वाचित ३३ जनामध्ये यादव जातिबाट दश, पहाडी ब्राह्मण-क्षेत्रीबाट नौ, तराई ब्राह्मण, भूमिहारबाट आठ, कोइरी (कुशवाहा)बाट दुई तथा गुरुङ, राजपूत, केवट र तेली जातिबाट एक/एकजना छन्। यो जिल्ला अझैसम्म पूर्ण साक्षर हुन सकेको छैन। २०७८ सालको जनगणनाअनुसार पाँच वर्षभन्दा बढी उमेरको साक्षरता दर ५९.८ प्रतिशत मात्र छ।

जिल्लाको जनसंख्या सात लाख ६ हजार ९९४ छ। यीमध्ये २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न योग्य मतदाता चार लाख ३१ हजार २८२ जना छन्।