सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनअन्तर्गत सातौं अधिवेशन आजदेखि सुरु हुँदैछ । ९ माघमा बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले १८ गते संसद अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । यो अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो १ बजे बोलाईएको छ । प्रदेश सभाको छैटौं अधिवेशन २१ साउन २०८२ मा अन्त्य गरिएको थियो ।
एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बाध्यात्मक परिस्थितिमा यो बैठक आह्वान गर्न गरिएको हो । हाल कर्णाली प्रदेश सभाको आफ्नै बैठक हल छैन । २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रदेश सभाको बैठक हल, सभामुख तथा उपसभामुखका कार्यकक्ष, सचिवालयको कार्यकक्षा लगायतका संरचनामा ठूलो क्षति पुगेको छ । बैठक हल ध्वस्त भएको छ ।
आफ्नो संरचना नभएको अवस्थामा बोलाईएको र कानुन निर्माणमा केन्द्रित हुने यो अधिवेशनअन्तर्गतका बैठकहरु एउटा तालिम केन्द्रमा बस्ने भएका छन् । आन्दोलनका क्रममा क्षति भएको भवनमा तत्काल संसद बैठक बस्न नसकिने अवस्था नरहेकाले वैकल्पिक उपाय अपनाएर अधिवेशन गर्न लागिएको कर्णाली प्रदेशसभा सचिव जिवराज बुढाथोकीले बताए । उनका अनुसार आजदेखि सुरु हुने अधिवेशनअन्तर्गतका वैठकहरु भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहलमा हुनेछन् । प्रदेश सभा सचिवालय परिसरमा अस्थायी बैठक कक्ष निर्माण भईरहेकाले उक्त काम पूरा नहुने बेलासम्मका लागि वैठकहरु प्रशिक्षण केन्द्रमा बस्ने बुढाथोकीले बताए ।
कृषि तथा पशुपंक्षी प्रशिक्षण केन्द्रको सभाहलमा पनि तत्कालका लागि तत्कालका लागि अस्थायी भौतिक संरचना थप गरी रोष्टम, ससभामुख, उपसभामुखको आसन व्यवस्थापन गरिएको उनले बताए । सत्ता पक्ष, प्रतिपक्ष दलका नेता, सांसद, दर्शक दीर्घा पनि व्यवस्थापन गरिएको उनले बताए । उक्त तालिम केन्द्रमा साउण्ड सिस्टम, सुरक्षा व्यवस्थापन लगायतका काम पनि पूरा गरिएको सचिव बुढाथोकीले बताए ।
२४ भदौमा आन्दोलनकारीले संसद सचिवालयका विभिन्न संरचनाहरुमा गरेको आगजनी र तोडफोडबाट भौतिक संरचना, इलेक्ट्रोनिक्स डिभाइस, सवारी साधन लगायतका झण्डै चार करोड रुपैयाँ बराबरको क्षति भएको थियो । विभिन्न निकायाको रोहबरमा गरिएको मुचुल्का अनुसार प्रदेश सभा सचिवालयमा ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । यी संरचना पुनर्निर्माणको लागि काम सुरु भइसकेको छ ।