काठमाडौँ । चर्चित लोकगायक तथा कलाकार प्रकाश सपुत शनिबार आफ्नै गृह जिल्ला बागलुङ पुगेका छन्, तर यसपटक उनको यात्रा सांगीतिक कार्यक्रमका लागि होइन । चुनावी माहोलमा सक्रिय हुँदै उनी मतदातासँग भोट माग्ने उद्देश्यका साथ बागलुङ पुगेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार रहेका सपुतले राजनीतिक यात्राको पहिलो पाइला आफ्नै जन्मथलोबाट चालेका छन् । बागलुङको पञ्चकोट धाममा अवस्थित ५ हजार ५ सय ५५ किलो तौलको महाघण्ट अगाडि कालो पोसाकमा खिचिएको तस्बिर सार्वजनिक भएपछि उनको उपस्थितिले थप चर्चा पाएको छ । सामाजिक सञ्जालमा यो तस्बिरलाई ‘बालेन स्टाइल’सँग तुलना गर्दै प्रतिक्रिया आइरहेका छन् ।
काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुत पहिलो पटक औपचारिक रूपमा चुनावी अभियानका लागि बागलुङ पुगेका हुन् । उनले बागलुङ क्षेत्र नम्बर १ का रास्वपाका प्रत्यक्ष उम्मेदवार सुशील खड्काको पक्षमा मत माग्दै पश्चिम बागलुङको क्षेत्र नम्बर २ सम्म पुग्ने कार्यक्रम रहेको बताएका छन् ।
यसका साथै सपुतले बझाङ र अछाममा समेत पार्टीका गतिविधिमा आफू खटिएको जानकारी दिँदै आवश्यकता अनुसार अन्य जिल्लामा पनि चुनावी प्रचारमा जाने योजना रहेको उल्लेख गरेका छन् । गीत–संगीतमार्फत समाजका मुद्दा उठाउँदै आएका सपुतको राजनीतिमा प्रवेशलाई धेरैले नयाँ प्रयोग र फरक आशाको रूपमा हेरेका छन् ।