काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

नियात्रा

गुरु गोरखनाथ आशीर्वचनपछि नै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सफल भएको जनश्रुति सुन्दै आएको मलाई गोरखनाथ गुफा हेर्ने ठूलो धोको थियो। दरबार परिसरमा गुफा देखेपछि लाग्यो, मेरो एउटा सपना पूरा भयो।

सबै तस्बिर सौजन्य: प्रतीक्षा आले
अ+
अ-

 काठमाडौँ–पोखरा राजमार्ग (पृथ्वी राजमार्ग)को आँबुखैरेनी खण्डबाट २४ किलोमिटर उत्तरको उकालो यात्रापछि गोरखा पुगिन्छ। गुरु गोरखनाथले रक्षा गरेको हुनाले यो ठाउँको नाम गोरखा रहेको मानिन्छ।

वर्तमानमा गोरखाको पहिचान वैश्विक अर्थात् ‘ग्लोबल’ बनिसकेको छ। नेपाल देशको एकीकरणकर्ता पृथ्वीनारायण शाहको भूमि, गुरु गोरखनाथको भूमि, भीमसेन थापाको भूमि, विश्वभरि साहसी योद्धाका रूपमा चिनिने नेपालीको भूमि र २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाक रहेको भूमि। इतिहासको विद्यार्थीका रूपमा मलाई गोरखाको ऐतिहासिक यथार्थले आकर्षण गर्नु स्वाभाविक पनि थियो।

मैले जेजति इतिहास अध्ययन गरेको छु, त्यसका आधारमा सहजै भन्न सक्छु– नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले नै गरेका हुन्, यसमा विमति हुन सक्दैन। राज्य एकीकरणको शैलीमा केही असहमति हुन सक्छ। मेरो अर्को निष्कर्ष छ– पृथ्वीनारायणले भौगोलिक एकीकरण गरेको नेपालको सामाजिक र भावनात्मक एकीकरणको प्रयत्नको आरम्भ भने बीपी कोइरालाले गरेका हुन्।

गोरखा दरबार

गोरखा ७७ जिल्लामध्येको यस्तो ऐतिहासिक जिल्ला हो, जहाँबाट नेपाल एकीकरणको महाअभियान आरम्भ भएको थियो। एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका हुन्, तर नेपाल निर्माणमा धेरै गोर्खाली वीर वीरांगनाले योगदान दिएका थिए। देशीविदेशी पर्यटकले गोरखालाई भ्रमणको प्राथमिकताको सूचीमा राखेको देखिन्छ। देशभरका विद्यालय, महाविद्यालय तहका विद्यार्थीले गोरखाको अवलोकन भ्रमण गर्छन्।

यति महत्त्वपूर्ण भूमि गोरखाको पहिलो पटक भ्रमण गर्ने अवसर मलाई जेठ २०४३ मा प्राप्त भएको थियो। म रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुरमा प्रवीणता प्रमाण तहको विद्यार्थी हुँदा शैक्षिक भ्रमणका सन्दर्भमा यहाँ आएको सम्झना छ। आँबुखैरेनीबाट पहाडी बांगाटिंगा पक्की सडक छिचोल्दै यहाँ आउँदा बाटामा किलोमिटर लेखिएको ढुंगा (माइलस्टोन)को अंक नै स्थानको नामका रूपमा चर्चित भएको मैले यहाँ नै पहिलो पटक देखेको हुँ।

म निकै उत्साहित थिएँ, पृथ्वीनारायण शाहको जन्मभूमि भ्रमण गर्ने अवसर पाउँदा। त्यस बेलाको गोरखा आजको जस्तो उन्नत र विकसित थिएन। गोरखा बजारमाथि दरबारसम्मको उकालो यात्रा हामीले पैदलै गरेका थियौँ। तर एउटा कुरा अनुभव भएको थियो–दरबार क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने प्रयास त्यति बेलै थालिएको थियो।

यात्राका क्रममा मनमा अनेकौँ प्रश्न उब्जिएको थियो– यस्तो विकट भूगोलयुक्त सामान्य, सानो भूमिको राजाले नेपाल एकीकरणजस्तो विशाल कार्य कसरी गरे होलान्? अनि उत्तर पनि अनुमान गर्थेँ– आँट, आकांक्षा, प्रतिबद्धता र निरन्तरको प्रयत्नको परिणाम।

गोरखा दरबार

त्यसपछि मैले धेरै पटक यो भूमि टेकेको छु। पत्रकारिताका तालिमलगायतका सन्दर्भका थुप्रै स्मृति सुरक्षित छन् मेरो मानसपटलमा। पहिलो पटक त्यहाँ जाँदा कोही परिचित थिएनन्, तर अहिले म पत्रकारहरू किशोर थापा, शिव उप्रेती, नरहरि सापकोटा, भीमलाल श्रेष्ठ, कैलाशबाबु श्रेष्ठ, किरण लोहनी, मोहसिन अलि मियाँ, नरेन्द्र ढकाल, प्रतीक्षा आले, विकास मरहट्टा, हरिराम उप्रेतीलगायतका साथीसँग निरन्तर सम्पर्कमा छु

गोरखा दरबार, गोरखा नगरपालिका– ६ माझकोटमा अवस्थित छ। इतिहासकार दिनेशराज पन्तका अनुसार, विसं. १६७१ देखि १६९१ लाई राजा राम शाहको शासनकाल मानिन्छ। गोरखा दरबार राजा राम शाहकै पालामा निर्माण भएको मानिन्छ। दरबार परिसरको एक छेउमा रहेको राम शाहको चौतारीले पर्यटकलाई आकर्षण गर्ने गरेको छ। स्थानीयका अनुसार राजाले यही चौतारीमा बसेर न्याय सम्पादनको कार्य गर्थे।

गोरखा बजारबाट करिब तीन किलोमिटरमाथि एक हजार २०० मिटरको उचाइमा रहेको गोरखा दरबार चुनासुर्कीको प्रयोग गरी इँटाको गारो, झिँगटी लगाई निर्माण भएको छ। टुँडाल धेरै आकर्षक छन्। पत्रकार शिव उप्रेतीका अनुसार, यहाँ पृथ्वीनारायण शाहलाई बाल्यकाल छँदा सेकाएको अखण्ड धुनी अहिलेसम्म पनि निरन्तर बलिरहेको छ भन्ने स्थानीयको विश्वास छ।

२०७२ सालको भूकम्पपछि पनि म गोरखा पुगेको थिएँ। भूकम्पले सामान्य क्षति पुर्‍याएको दरबारको अहिले समान ढंग, ढाँचा र शैलीमा जीर्णोद्वार गरिएको छ। यस दरबारबाट द्रव्य शाहको शासनकालदेखि पृथ्वीनारायणको शासनकालसम्म १० राजाले शासन गरेका थिए।

यो दरबार क्षेत्र ऐतिहासिक, पुरातात्विक सम्पदाको अवलोकन गर्न मात्र नभई लाङटाङ, गणेश हिमालदेखि मनास्लु, बौद्ध, हिमालचुली, लमजुङ, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे हिमश्रृङ्खला अवलोकन गर्न पनि उपयुक्त छ। यहाँबाट गोरखा, तनहुँ, लमजुङका विभिन्न पहाडी श्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

गोरखकाली मन्दिर र गोरखनाथ गुफा

गोरखकाली मन्दिर 

गोरखा दरबारसँगै रहेको गोरखकाली मन्दिर आकर्षणको अर्को केन्द्र हो। नेपाल पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष किशोर थापाका अनुसार, गोरखकालीलाई शाहवंशीय राजाको कुलदेवी भनेर पनि चिनिन्छ। थापाका अनुसार, शाहवंशले राज्य गर्न आरम्भ गरेको समय (विसं.१६१६) देखि नै यहाँ देवी कालिकाको स्थापना गरी मन्दिर निर्माण गरेको इतिहास छ।

मैले अध्ययनका क्रममा पृथ्वीनारायण शाह र गुरु गोरखनाथको सम्बन्धबारे थोरै थाहा पाएको थिएँ। त्यस आधारमा गोरखनाथको गुफा हेर्ने धोको थियो। गुफामा गुरु गोरखनाथले ध्यान गरेको किंवदन्ती छ। दरबार परिसरमा गुफा देखेपछि लाग्यो, मेरो एउटा सपना पूरा भयो।

गोरखनाथ गुफा

गोरखनाथबाट आशीर्वचन प्राप्त गरी युद्ध गर्दा पृथ्वीनारायण नेपाल एकीकरण गर्न सफल भएको जनश्रुति छ। पत्रकार प्रतीक्षा आलेका अनुसार, गोरखनाथ गुफामा हरेक वर्षको चण्डी पुर्णिमाको दिनदेखि ११ दिनसम्म सवा लाख रोट महोत्सव हुन्छ।

गोरखा संग्रहालय र भीमसेन स्मारक

गोरखा संग्रहालय

गोरखा नगरपालिका– ६ ठूलोआँगनमा ६ रोपनी क्षेत्रफलमा फैलिएर रहेको छ, गोरखा संग्रहालय। यस संग्रहालयमा विशेष गरी नेपाल एकीकरणसँग सम्बन्धित युद्धसामग्रीहरू राखिएका छन्। पृथ्वीनारायण शाहको गद्दी, उनको ५१ हात लामो चिना, राम शाहले प्रारम्भ गरेका मानापाथी, प्राचीन वाद्यवादन, चर्चित कलाकारकृत कलाहरूले  यहाँका ग्यालरी सजिएका छन्।

संग्रहालयसँगै ७० रोपनी क्षेत्रफलमा पृथ्वीपार्क छ। यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिकका साथै एकीकरण अभियानमा साथसहयोग गर्ने वीर सपुतहरूको नामांकित शिलापत्रलाई पनि मैले नियाल्ने अवसर पाएको छु।

भीमसेन पार्क

नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको जन्मस्थल पनि गोरखा नै हो। गोरखा दरबारबाट उत्तरतर्फ गोरखा नगरपालिका–४ पिपलथोकमा उनी जन्मेहुर्केको इतिहासमा उल्लेख छ। यही स्थानलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित गोरखा नगरपालिकाले भीमसेन स्मारक निर्माण गरेको छ। त्यहाँ वनभोज स्थल, पार्कलगायत विभिन्न पर्यटकीय पूर्वाधार बनाइएका छन्।

लिगलिगकोट पुग्दा

स्नातकोत्तर उत्तीर्णपछि २०४९ सालतिर रोजगारी खोज्ने सन्दर्भमा पनि म गोरखा पुगेको छु। त्यसपछिका दिनमा कहिले पत्रकारका लागि प्रशिक्षण सञ्चालन गर्न त कहिले प्रेस काउन्सिलको सदस्यका रूपमा सञ्चार अनुगमनका क्रममा पुगेको पनि सम्झन्छु। पत्रकार महासंघको अध्यक्ष हुँदा पनि यहाँ डुलेको सम्झना छ। तर लिगलिगकोट जान पाएको थिइनँ।

नेपाल एकीकरणको उद्गमस्थल गोरखा भएजस्तै गोरखाको जग लिगलिगकोट हो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गृहक्षेत्र पालुङटार नगरपालिका२ मा अवस्थित लिगलिगकोट करिब एक हजार ५०० मिटरको उचाइमा छ। यो ठाउँबारे ममा ठूलो जिज्ञासा थियो। तर गोरखा बजारबाट करिब २५ किलोमीटरको दूरीमा अवस्थित यो ठाउँ जाने संयोग धेरैपछि मात्र जुर्‍यो १८ पुस २०७७ मा लिगलिगकोटमा पत्रकार महासंघ जिल्ला शाखा गोरखाले साधारणसभा आयोजना गरेको थियो। अतिथिका रूपमा म पनि आमन्त्रित थिएँ। उक्त कार्यक्रममा महासंघ गोरखाका पूर्वअध्यक्ष (हाल प्रेस काउन्सिलका सदस्य) भीमलाल श्रेष्ठलाई सम्मान गरिएको थियो।

लिगलिगकोटमा १६१५ सालको विजयादशमीमा लमजुङका राजकुमार द्रव्य शाह दौडेर राजा भएका थिए। पत्रकार थापा र उप्रेतीले मलाई जानकारी गराएका थिए– गोरखा राज्यको किचलोबीच पण्डित नारायणदास अर्ज्याललगायतको प्रयत्नबाट द्रव्य शाहले गोरखा राज्यमा विजय प्राप्त गरेपछि २५ भदौ १६१६ मा उनको राज्याभिषेक गरिएको थियो।

चेपे र मर्स्याङ्दीको दोभानबाट लिगलिगकोटसम्म करिब १३ किलोमिटर दौडेर राजा भएको इतिहासको सम्झनामा अहिले पनि दसैँको छेकोमा सांकेतिक रूपमा लिगलिगे दौड हुने गरेको छ।

त्यस बेला मैले लिगलिगकोट डाँडोमा उभिएर अतीतमा दौडिँदै राजा बन्ने परम्पराको कल्पना गरेको थिएँ। डाँडोमा नेपालको झन्डा फहराइएको छ। यो झन्डा देशकै सबैभन्दा ठूलो भन्ने दाबी पनि गरिएको छ। यो ठाउँ चिनाउन यहाँ साइकल दौड प्रतियोगिता आयोजना गरिँदै आएको छ।

पैदलै मनकामना

मनकामना मन्दिर

गोरखा चिनाउने अर्को प्रमुख केन्द्र हो, मनकामना माई मन्दिर। पत्रकार भीमलालका अनुसार, भक्तजनहरू मनकामनालाई गोरखकालीकी कान्छी बहिनी भनेर पनि चिन्छन्। मनकामना मन्दिर पुग्न अहिले पृथ्वी राजमार्गस्थित कुरिनटार, चेरेसदेखि केबलकारको व्यवस्था छ। २०५५ सालदेखि सञ्चालनमा आएको यो केबलकार देशकै पहिलो हो।

अहिले मनकामनासम्म पुग्न विभिन्न नौ ठाउँबाट मोटरबाटो निर्माण गरिएको छ। पछिल्लो समयमा केबलकारकै फेदबाट पनि जीप सेवा सञ्चालनमा छ। सबैभन्दा धेरै चल्तीमा रहेको बाटो हो– आँबुखैरेनीबाट रामशाहघाट हुँदै ढाँडबारीसम्मको। यो बाटो पहिले पदयात्राका लागि प्रसिद्ध थियो। केबलकार सञ्चालनमा आउनुअघि श्रद्धालुहरू यही बाटो प्रयोग गर्थे।

म यो बाटो हुँदै दुई पटक (२०४३ र २०४९ सालमा) मनकामना गएको छु। सुन्तलाघारी हुँदै सुन्तला खाँदै यो बाटोबाट यात्रा गर्नुको आनन्द बेग्लै हुन्थ्यो। करिब चार घण्टा उकालो सिँढीको पदयात्रा गरेपछि मनकामना पुग्न सकिने उक्त बाटो अहिले जीर्ण छ।

मनकामनासँग मेरो अर्को स्मृति पनि जोडिएको छ। पुस २०६५ तिरको कुरो हो। मेरो नेतृत्वको पत्रकार महासंघको बैठक मनकामना मन्दिर परिसरमा चलिरहेको थियो। त्यहीँ हामीले थाहा पायौँ, जनकपुरमा पत्रकार उमा सिंहमाथि बर्बर आक्रमण भएको। जानकारीसँगै हामीले बैठक टुंग्याएका थियौँ। सिंहलाई बचाउन सकिएन। यो घटना मेरा लागि सधैँ आलो घाउ बनेर रहेको छ।

२०७२ साल भूकम्प गएकै वर्षको तिहारतिर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रममा सहजीकरणका लागि म गोरखा बजार पुगेको थिएँ। जहाँ म भूकम्पले जताततै क्षति पुर्‍याएको गोरखा बजारको साक्षी बन्न पुगेँ। लाग्यो, यस्तो विनाश कसैले भोग्नुनपरे हुन्थ्यो!