काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

२० माघ २०८२
अ+
अ-

बाजुरा। बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभरका एक हजार ८०६ जना किशोरीलाई यो खोप लगाउने तयारी पूरा भएको छ।

यही माघ २७ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने यस अभियानमा विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेटिने छ। स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काका अनुसार जिल्लाका कक्षा ६ मा अध्ययनरत एक हजार ७८१ र विद्यालय बाहिर रहेका २५ जना किशोरीलाई खोप दिइने लक्ष्य राखिएको छ।

विद्यालय बाहिर रहेका किशोरीहरुमध्ये बुढीगङ्गामा १६, बडीमालिकामा ६ र त्रिवेणी नगरपालिकामा एक जना रहेका छन्। गत वर्ष जिल्लामा अभियानका रूपमा सात हजारभन्दा बढी किशोरीलाई यो खोप लगाइएको थियो। यस वर्षदेखि भने यसलाई सरकारले नियमित खोप तालिकामा समावेश गरेको छ।

खोप केन्द्र र समयतालिका जिल्लाका नौवटै स्थानीय तहमा विद्यालयमै खोप केन्द्र स्थापना गरिने छ। विद्यालय जान नपाएका किशोरीका लागि नजिकैको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।