म्याग्दी। बेनी नगरपालिकाका तीन प्रमुख धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति कार्य लक्ष्यभन्दा निकै अगाडि सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो योजना निर्माण व्यवसायीको सक्रियता र स्थानीयको समन्वयका कारण तोकिएको अवधिभन्दा पाँच महिनाअघि नै सकिएको हो।
गण्डकी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेको यस योजनाका लागि बिबिपीएल बिएसडीएस धवलागिरिसँग २०८३ असार १६ गतेसम्मको ठेक्का सम्झौता भएको थियो। तर, पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको सही व्यवस्थापनले गर्दा निर्माण कार्य छिटो सकिएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए। धेरैजसो विकास आयोजनाहरु ढिलासुस्तीले थला परिरहेका बेला यस सडक खण्डले समयमै काम सक्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।
यस योजनाअन्तर्गत गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर सडक फराकिलो बनाइएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख डा. महेन्द्र बानियाँका अनुसार पहिले चार मिटर मात्र चौडा रहेको सडकलाई अहिले सात मिटर बनाइएको छ। यसका साथै घुम्ती र ग्रेड सुधार, पर्खाल तथा नाली निर्माणको काम पनि सम्पन्न भएको छ।
मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा आकर्षित गर्न यो सडकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। रामायणको पात्र रावणको जन्मभूमि मानिने पछै र शिखर शैलीको ऐतिहासिक जगन्नाथ मन्दिरसम्मको यात्रा अब सहज हुनेछ।
बाँकी खण्डको स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल भइरहेको छ। सडक सहज भएपछि स्थानीयको जनजीवन सहज हुनुका साथै धार्मिक पर्यटकको बसाइ लम्बिने अपेक्षा गरिएको छ।