भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्।
गाउँमा सिँचाइ पोखरी निर्माण भएर एकैसाथ २१ घरपरिवारलाई सिँचाइको पहुँच पुगेपछि किसानहरुमा उत्साह थपिएको हो। विगतमा पानीको अभावले परम्परागत खेतीमा सीमित स्थानीय किसानहरु अहिले बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला र आलु जस्ता नगदेबाली उत्पादनमा जुटेका छन्।
स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा भएपछि आफूले तीन रोपनीमा व्यावसायिक तरकारी खेती सुरु गरेको बताए। पानीको अभाव हट्दा खेती गर्न निकै सहज भएको र यसले आम्दानीको बाटो खोलेको उनको भनाइ छ।
प्रदेश सरकारको क्रमागत बजेटबाट प्राप्त ३० लाख रुपैयाँ खर्चेर तीनवटा ठूला सिँचाइ पोखरी निर्माण गरिएपछि यस क्षेत्रको सिँचाइ समस्या समाधान भएको हो। वडाध्यक्ष राजेन्द्र राईका अनुसार तरकारी उत्पादनका लागि यो क्षेत्र उपयुक्त भए पनि पानीको समस्याले किसानहरु पछि परेका थिए, जुन अहिले हटेको छ।
बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ को साथ गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ‘एक घर, एक टनेल’ कार्यक्रम र सिँचाइ पोखरी निर्माणलाई तीव्र बनाएको छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सडक सञ्जालको पहुँच पुगिसकेकाले यहाँ उत्पादित तरकारी बिक्री गर्न बजारको समस्या नभएको उल्लेख गरिन्।
गाउँपालिका अध्यक्ष किरण राईले किसानलाई आत्मनिर्भर बनाउन भूगोल र माटो सुहाउँदो जैविक खेतीमा जोड दिएको बताए। किसानले उत्पादन गरेका सामग्री सहजै बजारसम्म पुर्याउन गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा समेत सञ्चालनमा ल्याएको छ।
गाउँपालिकाको प्राविधिक सहयोग र अनुदान कार्यक्रमले स्थानीय युवा तथा किसानलाई व्यावसायिक कृषिमा टिक्न थप प्रोत्साहन मिलेको छ।