काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सक्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ‘भर्चुअल मिटिङ’ गरेको छ।
गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारीहरूसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाको कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका ढुवानीलगायत विषयमा छलफल भएको हो।
बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नेलगायत विषयमा छलफल गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
गृह-सचिव श्रेष्ठले बैठकमा छलफल भएका विषयका सम्बन्धमा आवश्यकताअनुसार जिल्ला सुरक्षा समितिको बैठक बसेर प्रभावकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूलाई निर्देशन दिए।
बैठकमा प्रमुख जिल्ला अधिकारीहरूका अतिरिक्त मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख एवं मन्त्रालयका कर्मचारीहरूको सहभागिता थियो।
