विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत मुकेश मण्डल पेसाले स्वास्थ्यकर्मी (एचए) हुन्। २२ वर्षीय मुकेश बिरामीको उपचारमै खटिन्थे।
बिरामीको प्राण जोगाउने पेसा सम्हालेका मुकेशले मंगलबार बिहान आफ्नै जीवनसंगिनीको हत्यासँगै आफूले पनि प्राण त्यागे। गत १२ मंसिरमा मुकेश र २१ वर्षीया अम्बिका मण्डलले बिहे गरे। एक-अर्काको हात समातेर सँगै बाँच्ने र मर्ने कसम खाएका थिए। उनीहरूले मन्दिरमा खाएको त्यो कसम विवाहको दुई महिना पनि टिकेन। मुकेश र अम्बिकाको जीवन मंगलबार बिहान रंगेली ५‚ धनपट्टीस्थित ससुराली घरमा अन्त्य भयो।
विवाहलगत्तै मुकेश-अम्बिकाको सम्बन्धमा दरार आउन थाल्यो। मुकेश प्रेम विवाहलाई कानुनी मान्यता (विवाह दर्ता) दिन हिच्किचाउँथे। आफ्नो भविष्य र सम्बन्धको सुरक्षा नदेखेपछि अम्बिकाले एक महिनाअघि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी पनि दिइन्।
प्रहरीको रोहबरमा मुकेशलाई झिकाइयो। अन्ततः मोरङ अदालत पुगेर विवाह दर्ता भयो। कानुनी रूपमा सम्बन्ध आधिकारिक त बन्यो, तर यसले मुकेशको मनमा प्रेमभन्दा पनि आक्रोश बढ्यो। यही कानुनी लडाइँमा उनीहरूबीच खटपट झनै चुलियो। अम्बिका विगत १५ दिनदेखि विराटनगरको डेरा छाडेर माइतीमा बस्दै आएकी थिइन्।
मुकेशका जेठा दाजु सुधीरका अनुसार परिवारलाई लागेको थियो- मुकेश विराटनगरमै काम गरिरहेका छन्। तर, सोमबार राति साढे १० बजेतिर मुकेश आफ्नो घरबाट करिब दुई किलोमिटर टाढा रहेको ससुराली पुगे। त्यहाँ उनले अम्बिकासँगै बसेर खाना खाए। सबै सामान्य देखिएको थियो, उनीहरू सँगै सुते।
भित्री मनमा बलिरहेको आवेग मुकेशले मंगलबार बिहान २:४५ बजेतिर बिस्फोट गरे। मोरङ प्रहरी प्रमुख (एसपी) कवित कटवालका अनुसार उनीहरूबीच राति पुन: विवाद सुरु भएको देखिन्छ। विवादले उग्र रूप लिएपछि मुकेशले आफूसँगै लगेको वा कोठामा उपलब्ध चक्कु प्रयोग गरी अम्बिकामाथि अन्धाधुन्ध प्रहार गरे। अम्बिकाको घटनास्थलमै मृत्यु भयो। मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरे।
घटनालगत्तै एसपी कटवाल र डीएसपी लीलाराज लामिछानेको टोली घटनास्थल पुगेको थियो। कटवाल भन्छन्, “प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच पहिलेदेखि नै खटपट रहेको र विवाह दर्तापछि सम्बन्ध थप बिग्रिएको देखिन्छ। स्वास्थ्यकर्मी जस्तो जिम्मेवार पेसामा रहेका युवकले यति सानो आवेगलाई नियन्त्रण गर्न नसक्दा दुईवटा परिवार सखाप भए।”
दुई महिनाअघि मन्दिरमा खाएको ‘सँगै मर्ने’ कसम यसरी बीभत्स रूपमा पूरा होला भनेर कसैले सोचेका थिएनन्। मुकेशका दाजु सुधीर भन्छन्, “एउटा सानो विवाद र इगोले दुईवटा कलिला जीवन र दुई परिवारको खुसी सदाका लागि खोसेर लग्यो।”