काठमाडौं। नेपाली कांग्रेसले चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको बताएको छ।
बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु मानव अधिकारको विषय बनेपनि नौतिकताको विषय चाँही नभएको बताएका हुन्।
उनले भने,‘चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु मानव अधिकारको विषय त बन्ला र नौतिकताको विषय चाँही होइन्। त्यो नुहुनुपर्ने थियो भयो तर,स्वतन्त्र,निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने नागरिक र पार्टीको हक त्यो कर्तव्य सरकारको हो। सरकार त्यसमा लाग्नुपर्छ।’
त्यस्तै उनले कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने प्रस्ट पारे। पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन्।
उनले भने, ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो। कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन्। चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ। हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ। त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु।’

उनले अधिनायकवादीहरु मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे। उनले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराए।
विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा धृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको बताउँदै कांग्रेस त्यसप्रति कांग्रेस सचेत रहेको उनले बताए।