महोत्तरी। प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ। उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन्।
दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्ला पर्ने यस क्षेत्रका मतदाता विकासका दृष्टिले धेरै पछाडि छ। यहाँका बासिन्दाले स्वास्थ्य सेवाका निम्ति भारत जानुपर्ने बाध्यता छ।
“कोही बिरामी परेमा भारतीय मुद्रा साट्न दौडनुपर्छ, बिरामी हुँदा सीतामढी पुग्नुपर्ने बाध्यता छ”, सम्सी गाउँपालिका–६ का ३५ वर्षीय इम्तियाज अहमद दुखेसो गरे।
जिल्लाको दक्षिणपश्चिममा पर्ने सोनमा गाउँपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकाका अधिकांश बस्तीहरूमा स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रले भरपर्दो सेवा नदिँदा बिरामी भारत जान बाध्य हुन्छन्। सम्सी–६ का ४० वर्षीय शेष सौरात भन्छन्, “मान्छेको स्वास्थ्य उपचारसँग जोडिने विषय चुनावमा पर्याप्त महत्व पाएको छैन।”
क्षेत्रको पूर्वी भेगमा पर्ने रामगोपालपुर, मनराशिशवा र औरहीकाभन्दा सम्सी र सोनमाका बासिन्दाका पीडा बढी सुनिन्छन्। सोनमा–३ का रामकलेवर यादव भन्छन्, “यहाँ स्तरीय न अस्पताल छन्, न गुणस्तरीय शिक्षाको व्यवस्था छ। बर्खामा मडहा र हर्दी नदीले कटान बढाउँछन्, जागै रात बिताउनुपर्छ।”
यहाँका किसान अकासे खेतीमा निर्भर छन्। सोनमा–२ का सामाजिक–राजनीतिक कार्यकर्ता मदन साह भन्छन् “गाउँमा पूर्व–पश्चिम दुवैतिर नदी छन्, तर सिँचाइको व्यवस्था छैन। नदी वरदान हुनुपर्नेमा अभिशाप बनेका छन्।”
मतका निम्ति घरदैलो गरिरहेका उम्मेदवारहरू सुविधासम्पन्न अस्पताल, गुणस्तरीय विद्यालय, नदीमा पक्की तटबन्ध र कुलो खन्नेसम्मका आश्वासन दिन थालेका छन्। सोनमा–६ का रामप्रताप यादवले भने “हामी यसपालि स्पष्ट योजनाबिना विश्वास गर्दैनौँ। विकासको दूरदृष्टिसहितका योजना देखाउने उम्मेदवारले मात्र हाम्रो मत पाउनेछ।”
यो क्षेत्रमा १३ राजनीतिक दलका र २३ स्वतन्त्र उम्मेदवार छन्। राजनीतिक दलका चार र तीन स्वतन्त्र सहित सात महिला उम्मेदवार छन्।
नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका उम्मेदवार दलगत प्रतिस्पर्धामा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेकपा संयुक्त, उज्यालो नेपाल पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, आम जनता पार्टी र जनता लोकतान्त्रिक पार्टीका उम्मेदवार पनि मैदानमा छन्।