काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान। गेट्टी इमेज
अ+
अ-

इस्लामाबाद। पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तानी सरकारले आफ्ना बुबाको उपचारमा चासो नदेखाएको आरोप लगाएका छन्।

उनले आफ्ना बुबालाई सरकारले उचित चिकित्सा सेवा नदिएको आरोप लगाए। साथै उनले पाकिस्तान सरकारले भिसा नदिएको पनि लगाए। पाकिस्तानी सरकारले ‘जानाजानी’ आफ्नो र आफ्नो भाइको भिसा प्रशोधन नगरेको उनले आरोप लगाए।

कासिम खानले इन्स्टाग्राममा पोस्ट गरेका छन्, “मेरो भाइ र म हाम्रो बुबालाई भेट्न पाकिस्तान यात्रा गर्न खोजिरहेका छौँ। तर सरकारले यसमा पनि प्रतिबन्ध लगाएको छ।”

आफ्नो बुबा एकान्त काराबासमा रहेको र स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि उपचार नपाएको कासिमको आरोप छ। उनले भनेका छन्‚ “उहाँ ९१४ दिनदेखि एकान्त कारावासमा हुनुहुन्छ। उहाँको स्वास्थ्य बिग्रँदै गएको छ र उहाँले चिकित्सा सेवा प्राप्त गर्न पाउनुभएको छैन।”

कैदीलाई उपचार अस्वीकार गर्नुलाई सरकारको क्रूरता रहेको उनको भनाइ छ। “अब सरकारले जानाजानी हाम्रो भिसा प्रशोधन गर्न अस्वीकार गरिरहेको छ। कैदीलाई चिकित्सा उपचार अस्वीकार गर्नु क्रूरता हो। उनका छोराछोरीलाई भेट्न पाउने अधिकार अस्वीकार गर्नु सामूहिक सजाय हो।”

कासिम खानले यसविरुद्ध बोल्न अन्तर्राष्ट्रिय मानवअधिकार संगठन र सरकारहरूलाई अपिल गरेका छन्। इमरान खानका दुई छोरा, कासिम खान र सुलेमान खान बेलायतमा बस्छन्।