काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

आवरण

आँखा उपचारमा देशले आर्जन गरेको ख्याति र अनुभव अरू देशका लागि पनि अनुकरणीय

२२ माघ २०८२
नेपाल नेत्र ज्योति संघले आयोजना गरेको आँखा शिविरमा शल्यक्रिया गरेपछि सेवाग्राही। तस्बिर : कृष्ण भट्टराई
अ+
अ-

हातमा पुर्जा बोकेका महिला र पुरुष लामबद्ध उभिएका छन्। कोही आराम गर्न भुइँमै थचक्क बसेका छन् त कोही भुइँमै बसेर आफूले ल्याएका खानेकुरा खाइरहेका छन्। झट्ट हेर्दा सानोतिनो बजारजस्तै लाग्ने यो दृश्य गएको १६ माघमा विराटनगर आँखा अस्पतालमा देखिएको हो। लामबद्ध मान्छेमध्ये अधिकांश भारतबाट आँखा उपचारका लागि आएका हुन्।

नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको यो अस्पताल नेपालमा सबैभन्दा धेरै आँखाका बिरामीको उपचार गर्ने अस्पतालमध्येमा पर्छ। सन् २००६ मा स्थापना भएको अस्पतालले सन् २०२५ मा मात्रै सात लाख बिरामीको आँखाको उपचार गरिसकेको छ। यसमा पनि ७० हजारको त शल्यक्रिया नै भएको छ।

एकै वर्षमा सात लाख जनाको आँखाको उपचार गर्नु सामान्य होइन। अस्पतालको तथ्याङ्क अनुसार ओपीडीमा भर्ना हुने बिरामीमध्ये ५४ प्रतिशत नेपाली छन् भने बाँकी ४६ प्रतिशत भारत, बंगलादेश र भुटानबाट आउने छन्। अस्पतालका प्रबन्धक कुमार पृथु भन्छन्, “यहाँ आउने विदेशीमध्ये पाँच प्रतिशत बंगलादेशी र एक प्रतिशत भुटानी छन्। बाँकी भारतका विभिन्न प्रान्तबाट आउँछन्।”

विराटनगर आँखा अस्पतालअन्तर्गत कोशी प्रदेशका विभिन्न ठाउँमा २२ वटा आइकेयर सेन्टर सञ्चालनमा छन्। सुनसरीको इटहरी र इलामको फिक्कलमा आँखाको अप्रेसन नै गर्न सक्ने अस्पताल चलाइएका छन्। अस्पतालले गाउँगाउँ पुगेर आँखा शिविर र सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। अस्पताल आउन नसक्ने बिरामीका लागि पनि शल्यक्रिया शिविर सञ्चालन हुन्छ।

बिराटनगर आँखा अस्पतालमा उपचारकालागि लाइन बसेका सेवाग्राही। तस्बिर: रस्मिता भट्टराई

नेत्रज्योति संघले देशभरमा यस्ता २८ वटा आँखा अस्पताल, २ सय २४ वटा आइकेयर सेन्टर र ४५ जिल्लामा संघका शाखामार्फत आँखा उपचार सेवा प्रदान गरिरहेको छ। सन् २०१९ देखि २०२४ सम्ममा नेपाल आएर उपचार गर्ने विदेशी बिरामीको चाप हरेक वर्ष बढ्दो छ। कतिसम्म भने सन् २०२४ मा मात्रै संघअन्तर्गतका अस्पतालबाट कूल ३२ लाख ९४ हजार ४ सय ३० जनाले उपचार लिएका थिए। यीमध्ये विदेशीको संख्या ९ लाख ७ हजार ७१ थियो।

आँखाको शल्यक्रिया गराउनेमा नेपालीभन्दा विदेशीको संख्या बढी छ। गत वर्ष दुई लाख ५९ हजार ८ सय ९० जनाको आँखाको शल्यक्रिया भएको थियो। त्यसमा १ लाख ६२ हजार ८ सय ४५ विदेशी र ९७ हजार ४५ नेपाली थिए। “पाँच वर्षयताको तथ्याङ्कले हरेक वर्ष शल्यक्रिया गर्नेमा नेपालीभन्दा विदेशीको संख्या बढी देखाउँछ,” पृथु भन्छन् ।

आँखा उपचारको क्षेत्रमा यो स्तरको उपलब्धि हासिल हुनुमा चाहिँ सरकारको भन्दा बढी योगदान समुदायको छ। समुदायकै योगदानका कारण आँखा उपचारमा नेपालमा अब्बल रेकर्ड बनाउन सकेको हो। हुन पनि आँखा उपचारमा राज्यको लगानी चाहिँ न्यून देखिन्छ। विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको आर्थिक सहयोग, समुदायको दान र सहकार्यले देशलाई आँखा उपचारमा भरोसायोग्य गन्तव्य बनाएको छ। संघका सञ्चार अधिकृत कृष्ण भट्टराई भन्छन्, “देशको आँखा उपचारमा ८० प्रतिशत लगानी समुदाय र गैरसरकारी संस्थाको छ। एक प्रतिशतजति सरकार र बाँकी निजी क्षेत्रको हो। समुदायकै लगानीले नेपाल आँखा उपचारको भरोसायोग्य गन्तव्य देश बनिसकेको छ।”

नेपाल नेत्र ज्योति संघले सञ्चालन गरेको आँखा शिबिरमा सहभागी। तस्बिर: कृष्ण भट्टराई

आँखा उपचारमा देशमै सबैभन्दा ठूलो सञ्जाल नेत्र ज्योति संघकै छ। दाताको सहयोगमा सन् १९९२ बाट सुरु भएको तिलगंगा आँखा अस्पतालले गौशाला, भक्तपुर र हेटौंडामा आँखा अस्पताल सञ्चालन गरेको छ। त्यस्तै रेडक्रसको सहयोगमा पनि आँखा अस्पताल सञ्चालन गरिएका छन्। सरकारी अस्पतालमा पनि आँखाको उपचार हुन्छ।

सन् १९९५ देखि लेन्स उत्पादन गर्न थालेको तिलगंगाले अहिले विश्वका ४० भन्दा बढी देशमा लेन्स निर्यात गर्ने गरेको छ।

तिलगंगाले आँखाको उपचारसँगै लेन्स उत्पादनमा नाम कमाएको छ। सन् १९९५ देखि लेन्स उत्पादन गर्न थालेको तिलगंगाले अहिले विश्वका ४० भन्दा बढी देशमा लेन्स निर्यात गर्ने गरेको छ। वर्षमा तिलगंगाले साढे ४ लाख लेन्स उत्पादन गर्छ भने एउटा लेन्सको मूल्य ३ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ। उत्पादन भएका मध्ये ६० प्रतिशत विदेश निर्यात हुन्छ भने ४० प्रतिशत नेपालमा खपत हुन्छ। तिलगंगाको आँकडा अनुसार डा.सन्दुक रुइतको टिमले बनाएका लेन्स विश्वका ६५ लाखभन्दा बढी मानिसको आँखामा हालिएको छ।

नेपाल नेत्र ज्योति संघले सञ्चालन गरेको आँखा शिबिरमा सहभागी। तस्बिर: कृष्ण भट्टराई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निजी सार्वजनिक साझेदारीले नेपाल आँखा उपचारमा दक्षिण एसियामै अब्बल देश बनेको छ। बुढाथोकी भन्छन्, “नेपालमा बनेको लेन्स र आँखाको उपचार दुवै सस्तो र स्तरीय भएकाले नेपालबाट अरू देशले पनि आँखाको उपचारको अभ्यासबाट सिकिरहेका छन् ।”

दक्ष जनशक्ति, स्तरीय उपचार

आँखा उपचारमा देश आत्मनिर्भर बन्नुमा दक्ष जनशक्ति उत्पादनले पनि योगदान गरेको छ। नेत्रज्योति संघकै जर्मकोमा दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय उपचारमा विशेष ध्यान दिइएको छ। यसले नेपाली बिरामीलाई मात्र होइन, भारतीय, बंगलादेशी र भुटानी नागरिकलाई पनि आकर्षित गरेको छ।

सन् १९७८ अघि वीर अस्पतालमा मात्र आँखा रोग उपचार विभाग थियो। त्यसबेला आँखाको शल्यक्रिया गर्नुपर्दा एक वर्ष पालो कुर्नु पर्थ्यो। सन् १९८० सम्म नेपालमा जम्मा सात जना मात्र आँखाका विशेषज्ञ चिकित्सक थिए। उनीहरू काठमाडौं, पूर्व तथा मध्य क्षेत्रमा कार्यरत थिए। पोखराभन्दा पश्चिमी क्षेत्रमा आँखा उपचारको कुनै सेवा उपलब्ध थिएन। नेपालीहरू समस्यामा परे उपचारका लागि भारतको सीतापुर जान बाध्य थिए।

तर, संघले जनशक्ति उत्पादनका लागि भारत र अरू देशका तालिम दिने संस्थालाई पत्र लेखेर अनुरोध गरेपछि अवस्था बदलिएको छ। विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) बाट १० जना चिकित्सक नेत्रविज्ञानमा एमडी गरेर स्वेदश फर्किए। त्यो टोलीकै सदस्य थिए– डा.सन्दुक रुइत। पढेर स्वेदश फर्केपछि सन्दुककै सक्रियतामा तिलगंगा आँखा अस्पताल शुरु गरिएको हो। उनले पशुपति क्षेत्र विकास कोषको जग्गा अनि विदेशी दाताको सहयोग जुटाएर तिलगंगा शुरु गरेका हुन्।

स्विस रेडक्रसको सहयोगमा अरू तीन जनाले भारतको चण्डीगढबाट नेत्रविज्ञानमा एमडी गरे भने अरू पाँच जनाले भारतको कस्तुरबा मेडिकल कलेज मणिपालबाट स्नातकोत्तर गरे। यसबाट आँखा उपचारमा दक्ष जनशक्तिको संख्या अरू थपियो। त्यसै गरी सन् १९८१ देखि नेत्रज्योति संघले सीटीईभीटीसँग सम्बन्धन लिएर आँखा उपचारका सहायक जनशक्ति उत्पादन पनि शुरु गर्‍यो। यसरी उत्पादन भएका जनशक्ति जिल्लाहरूमा जान थालेपछि देशमा आँखा उपचार थप सहज भएको हो।

२०३० सालमा नेपालको पहिलो आँखा अस्पताल, नेपाल आँखा अस्पतालको शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट ।

आँखा उपचारका लागि दक्ष जनशक्ति उत्पादनमा शुरुदेखि नै ध्यान दिइएकै कारण देशलाई आवश्यक पर्ने चिकित्सक तथा प्राविधिकको ठूलो अभाव छैन। अहिले देशलाई ६ सय १० जना नेत्र रोग विशेषज्ञ आवश्यक पर्छ। यसमध्ये ४ सय ४३ त उत्पादन भइसकेका छन्। नेपाललाई अझै १ सय ८६ विशेषज्ञको थप आवश्यकता पर्छ। विशेषज्ञ अलिकति कम भए पनि अरू जनशक्ति पर्याप्त भएकाले आँखा उपचारमा कुनै समस्या नरहेको संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र बताउँछन्।

संघको आँकडा अनुसार देशमा अहिले नेत्र चिकित्सकको संख्या नै १ हजार ४ सयको हाराहारीमा छ, जुन जनसंख्याको तुलना र विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ७ सय ९० बढी हो। त्यस्तै आँखा रोगका सहायक जनशक्तिको संख्या २ हजार ४ सय छ। यो संख्या पनि विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १ हजार १ सय ८० ले बढी हो। “आँखा उपचारमा नेपाल दक्षिण एसियामै अब्बल गन्तव्य बनेको छ। यही कारण विदेशबाट पनि यहाँ उपचार गराउन बिरामी ओरिएका हुन्,” मिश्र भन्छन्, “शल्यक्रियाका लागि अस्पताल भर्ना भएका बिरामी भोलिपल्टै घर जान सक्ने हुँदा उनीहरूको रोजाइ पनि नेपाल नै हुने गरेको छ ।”

बिराटनगर आँखा अस्पताल।

नेपालमा आँखाको उपचार पनि खासै महँगो छैन। आँखा उपचार कम खर्चिलो भएकाले पनि विदेशीहरू नेपालतिर आकर्षित हुने गरेका छन्। नेत्रज्योति संघका आँखा अस्पतालमा बेड शुल्क सरदर २ सय रुपैयाँ छ भने शल्यक्रिया शुल्क ५ हजारदेखि १५ हजारसम्म छ। यही शुल्कले पनि विदेशीलाई नेपाल आउन प्रेरित गरेको छ। जस्तो गत वर्ष मात्र संघले आफू मातहतका अस्पताल आउने विदेशी नागरिकबाट मात्रै डेढ अर्ब आम्दानी गरेको थियो। यसमा तिलगंगा, रेडक्रस र अन्य निजी आँखा अस्पतालको आम्दानी समेटिएको छैन।

आँखा उपचारमा देशले प्रगति गरेका कारण पछिल्लो समय संघ, प्रदेश र स्थानीय तहले पनि आँखा उपचारमा बजेट विनियोजन गर्न थालेका छन्।

विराटनगर आँखा अस्पतालका निर्देशक कुमार पृथु नेपालमा उपचार गर्न आउने विदेशी बिरामीले अस्पतालमा मात्र नभई अन्य कुरामा पनि खर्च गर्ने गरेकाले त्यसले अर्थतन्त्रमा पनि योगदान पुगेको बताउँछन्। उनी भन्छन्, “भारतभन्दा नेपालमा सस्तो उपचार पाइन्छ भनेर पूरै परिवार नै नेपाल आउने भारतीय धेरै छन्। परिवारसहित नेपाल आउँदा घुमघाम पनि हुन्छ। त्यसले पर्यटनलाई पनि टेवा नै दिएको छ ।”

आँखा उपचारमा देशले प्रगति गरेका कारण पछिल्लो समय संघ, प्रदेश र स्थानीय तहले पनि आँखा उपचारमा बजेट विनियोजन गर्न थालेका छन्।

चालु आर्थिक वर्षमा मात्रै तीनै तहका सरकारले आँखा उपचारमा करिब २७ करोड अनुदान दिएको नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश मिश्र बताउँछन्।

संघर्षबाट सफलता

आँखा उपचारमा नेपालले एकाएक सफलता पाएको भने होइन। यस क्षेत्रमा देशले पाएको लोभलाग्दो सफलतामा सबैभन्दा ठूलो योगदान डा.रामप्रसाद पोखरेलको छ। सन् १९७४ मा उनले गरेको संघर्षकै कारण पहिलो पटक देशमा नेपाल आँखा अस्पताल खोलिएको हो।

सन् १९७८ को मार्चमा भारतको नयाँदिल्लीमा निको पार्न सकिने अन्धोपनको विषयमा विश्व स्वास्थ्य संगठनले एक कार्यक्रम आयोजना गरेको थियो। त्यो कार्यक्रममा नेपालबाट डा. पोखरेल सहभागी थिए। उनले त्यहाँ नेपालमा अन्धोपनविरुद्ध लड्न आफूले गरिरहेको संघर्षबारे कार्यपत्र नै प्रस्तुत गरेका थिए।

मोतिबिन्दुको शल्यक्रिया पछिको खुसी।

उनको कार्यपत्रबाट कार्यक्रममा सहभागी सबै प्रभावित भए। डा.पोखरेलले आफ्नो पुस्तक ‘तमसोमा ज्योतिर्गमय’ मा यसबारे लेखेका छन्, ‘मेरो प्रस्तुतिपछि केही प्रतिनिधिले सहयोग गर्ने इच्छा देखाए। सहयोगको हात अगाडि बढाउनेमा डा.निकोल ग्रासेट, डा.थांगेभेलु र अन्य सदस्य पनि हुनुहुन्थ्यो ।’

कतिसम्म भने नयाँदिल्लीमा पोखरेलले कार्यपत्र प्रस्तुत गर्दा नेपालमा भने आँखाको शल्यक्रियामा प्रयोग हुने सूक्ष्मदर्शक यन्त्र पनि थिएन। त्यतिबेला नेपालीका आँखामा कस्ता समस्या छन् भन्नेसम्म थाहा थिएन। त्यसबारे कुनै तथ्यांकसमेत थिएन।

यस्तो स्थिति झेलेका डा. पोखरेलकै पहलमा नेदरल्यान्डको लगानीमा सन् १९८१ मा पहिलोपल्ट राष्ट्रिय अन्धोपनसम्बन्धी सर्वेक्षण गरियो। विश्व स्वास्थ्य संगठन, नेपाल नेत्रज्योति संघ, स्वास्थ्य मन्त्रालय, सेवा फाउन्डेसन र नेदरल्यान्डको सहकार्यमा गरिएको त्यो सर्वेक्षणले ०.८४ प्रतिशत नेपाली दृष्टिविहीन रहेको पत्ता लगायो। सर्वेक्षणले १.७ प्रतिशत नेपालीले एउटा आँखा नदेख्ने तथ्य उजागर गर्‍यो। त्यस्तै १.८५ प्रतिशतको आँखाको दृष्टि कमजोर देखियो। त्यो सर्वेक्षणले नेपालमा अन्धोपनको प्रमुख चुनौतीका रूपमा मोतिबिन्दुसमेत देखायो। अन्धोपनको दोस्रो समस्याका रूपमा चाहिँ आँखाको नानीमा समस्या देखिने खस्रे रोग (ट्रकोमा) देखिएको थियो।

सन् १९७८ मै रविशमशेर राणा, डा.रामप्रसाद पोखरेल, मणिहर्ष ज्योति, बद्रीविक्रम थापा, अनंगमान शेरचन, बनवारीलाल मित्तल, तोलाराम दुगड, राजकृष्ण श्रेष्ठ र कमलमणि दीक्षितसहित नौ जना प्रतिष्ठित व्यक्तिले स्थापना गरेका हुन्– नेपाल नेत्रज्योति संघ।

सर्वेक्षणको नतिजा सार्वजनिक भएपछि डा.पोखरेलकै नेतृत्वमा आँखा सेवाका लागि गुरुयोजना बन्यो। त्यसमा २० वर्षको अवधिमा आत्मनिर्भर जनशक्ति निर्माण गर्ने, समुदायलाई सहयोगका लागि अपिल गर्ने, ग्रामीण क्षेत्रमा जनचेतना जगाउने लगायतका सात बुँदा थिए। तर, अरू रोगकै उपचारमा चुनौती झेलिरहेको सरकारसँग यो गुरुयोजना कार्यान्वयन गराउने क्षमता थिएन। त्यसैले यो कामको जिम्मेवारी नेत्रज्योति संघलाई दिइएको थियो।

सन् १९७८ मै रविशमशेर राणा, डा.रामप्रसाद पोखरेल, मणिहर्ष ज्योति, बद्रीविक्रम थापा, अनंगमान शेरचन, बनवारीलाल मित्तल, तोलाराम दुगड, राजकृष्ण श्रेष्ठ र कमलमणि दीक्षितसहित नौ जना प्रतिष्ठित व्यक्तिले स्थापना गरेका हुन्– नेपाल नेत्रज्योति संघ। यसले विदेशी दातासँग हारगुहार गरेर त्यतिबेला नै १४ वटै अञ्चलमा आँखा अस्पताल खोल्न समुदायसँग पनि सहकार्य शुरु गरेको थियो। । संघको आह्वान अनुसार देशका धेरै ठाउँमा समुदायले जग्गा दान गरे भने कयौंले आर्थिक सहयोग गरे।

नेपाल नेत्र ज्योति संघका संस्थापकहरु रवि शमसेर राणा, डा.रामप्रसाद पोखरेल, मणि हर्ष ज्योति, बद्रिविक्रम थापा, अनंगमान शेरचन, बनवारीलाल मित्तल, तोलाराम दुगड, राजकृष्ण श्रेष्ठ र कमलमणि दिक्षित।

विराटनगर, लाहान, वीरगन्ज, भैरहवा र नेपालगन्जमा स्थानीयले आँखा अस्पताल खोल्न जग्गा दान दिए भने कैलालीको गेटा, दाङ र भरतपुरमा सरकारले नै जग्गा उपलब्ध गरायो। संघका कार्यकारी निर्देशक डा.मिश्र भन्छन्, “संघले ४० वर्षअघि नै जनसहभागितालाई प्राथमिकता दिएर काम गरेको हो। विश्व स्वास्थ्य संगठनले त आँखा उपचारमा पछि मात्र जनसहभागिताको अवधारणा ल्याएको हो। समुदायसँग मिलेर गरेको काम सफल हुन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो।”