काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्।
नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता सङ्कटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे। सेवा विस्तारसँगै डिजिटल सेवा, डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पुर्याएको उनको भनाइ छ।
गृहमन्त्री अर्यालले दूरसञ्चार सेवा सम्पर्कको माध्यम मात्र नभइ शैक्षिक, आर्थिक र सामाजिक विकासको प्रमुख पूर्वाधार बनेको बताए। “नविनतम प्रविधिको आधारमा गुणस्तरीय सेवा प्रवाह गर्नु समयको आवश्यकता भएको छ,” उनले भने, “नयाँ–नयाँ प्रविधिमा आधारित सेवाको विकास गर्दै सार्वजनिक दायित्व र नवप्रवर्तनलाई सन्तुलनमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउनु सेवाग्राहीको हक र अधिकार हो।”
सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उनको धारणा छ। आगामी दिनमा नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमा आधारित सेवा प्रवाह गर्दै ग्राहकको आत्मसन्तुष्टिलाई केन्द्रमा राख्ने विश्वास पनि गृहमन्त्री अर्यालले व्यक्त गरे। सार्वजनिक संस्था नागरिक र सरकार जोड्ने सेतु भएको उल्लेख गर्दै उनले नागरिक-सरकार सम्बन्धलाई प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने बताए।
सरकारको नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास आफूले लिएको उनले भने। नेपाल टेलिकमको सुदृढीकरण र विकासमा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि गृहमन्त्री अर्यालले व्यक्त गरे।