काठमाडौं । रुसको राष्ट्रपति कार्यालय क्रेमलिनले भारतको ‘तेल आपूर्तिमा विविधता ल्याउने’ सम्बन्धी भनाइप्रति आफ्नो प्रतिक्रिया दिएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले बुधबार भने, “भारतले सधैँ अन्य देशहरूबाट पनि यी उत्पादनहरू खरिद गर्दै आएको छ । त्यसैले हामी यस मामिलामा कुनै नयाँ विकास भएको देख्दैनौँ ।”
पेसकोभले रुस भारतको एकमात्र तेल आपूर्तिकर्ता नरहेको बताएका छन्। रुसको यो भनाइ भारतीय वाणिज्यमन्त्री पीयूष गोयलको प्रतिक्रियापछि आएको हो। गोयलले बुधबार विश्वव्यापी परिस्थितिमा आउने परिवर्तनलाई मध्यनजर गर्दै भारतले आफ्ना नागरिकको ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जाका स्रोतहरूमा विविधता ल्याउने बताएका थिए ।
अमेरिका–भारत व्यापार सम्झौता र रुसी तेलको प्रसंग
नयाँ दिल्लीको यो टिप्पणी भारत र अमेरिकाबीच भएको व्यापार सम्झौतालगत्तै आएको हो। फेब्रुअरी २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आकस्मिक रूपमा भारतसँगको व्यापार सम्झौताको घोषणा गरेका थिए ।
ट्रम्पले भारतमाथि लगाइएको ट्यारिफ (भन्सार शुल्क) घटाएर १८ प्रतिशतमा झार्दै भारत सरकार रूसबाट तेल खरिद बन्द गर्न सहमत भएको दाबी गरेका थिए ।
यसअघि, रुसबाट तेल खरिद गरेको भन्दै ट्रम्प प्रशासनले सन् २०२५ मा भारतमाथि अतिरिक्त २५ प्रतिशत ट्यारिफ लगाएको थियो । ट्रम्प प्रशासनका केही अधिकारीहरूले भारतले रुसी ‘युद्ध मेसिन’लाई आर्थिक सहयोग पुर्याइरहेको आरोप समेत लगाउँदै आएका थिए । रोयटर्सबाट