काठमाडौं। आगामी वैशाख १६ र १७ गते लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बिहीबार बसेको परिषद् बैठकले ‘तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन’ आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको संयोजकत्वमा १० सदस्यीय ‘मूल आयोजक समारोह समिति’ समेत गठन गरेको छ।
सरकारले चालु आर्थिक वर्षमा सम्मेलन आयोजनाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसअघि राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा हुने भनिएको यो सम्मेलन अब बुद्ध जयन्तीको अवसरमा हुन लागेको हो।
सम्मेलनका संयोजक डा. लामाका अनुसार बुद्ध दर्शनमार्फत विश्व शान्ति, दया, करुणा र विश्व बन्धुत्वको भावना फैलाउनु यसको मुख्य ध्येय रहेको छ। दुई दिनसम्म चल्ने यस बौद्ध सम्मेलनमा बुद्ध जन्मस्थल र सम्पदा, पर्यावरण र संस्कृति, बौद्ध शिक्षा जस्ता विषयमा छलफल हुनेछ।
यस सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहनेछ। यसअघि पहिलो र दोस्रो सम्मेलन सम्पन्न भइसकेको छ। लुम्बिनी विकास कोषका अनुसार यो तेस्रो संस्करणले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई अझ सशक्त बनाउने छ।