राजनीति
गठन भएको तीन महिनामै गतिशील लोकतान्त्रिक पार्टीको सुस्त चाल
प्रतिनिधिसभा सदस्य निर्वाचन हुन २७ दिन बाँकी रहँदा राजनीतिक दल र उम्मेदवारहरूलाई घर–घर पुगेर भोट माग्न भ्याईनभ्याई छ। तर, आर्थिक समृद्धि र रोजगारी वृद्धिलाई प्रमुख नारा बनाएर स्थापना भएको गतिशील लोकतान्त्रिक पार्टी चुनावको मुखमा पनि खासै सक्रिय देखिँदैन।
नयाँ वा पुराना सबै दल आफ्ना पक्षमा भोट तान्न चुनावी गतिविधि दिनदिनै बढाइरहेका छन्। जेन-जी आन्दोलनको ठ्याक्कै दुई महिनापछि २४ कात्तिकमा निर्वाचन आयोगमा दर्ता भएको गतिशीलको गति झन् झन् सुस्त छ। चुनावचिह्न फूल चार्ज भएको ‘ब्याट्री’ रहेको गतिशीलको चालचुल नभएका कारण ‘ब्याट्री डाउन’ भएको टिप्पणी हुने गरेको छ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत संरक्षक रहेको गतिशीलका अधिकांश संस्थापक सदस्यहरू पढेलेखेका र विभिन्न पेशा-व्यवसायमा सफलता हासिल गरेका व्यक्ति छन्। विशेषगरी बुढानीलकण्ठ स्कुलका पूर्वविद्यार्थीहरूको संलग्नता रहेको गतिशील पार्टीले वडा–वडामा रोजगारी सिर्जना गर्ने, देशलाई आर्थिक रूपमा समृद्ध बनाउने नीति अख्तियार गरेको छ।
दल गठन भएको तीन महिना पुगिसक्दा गतिशीलले संगठन विस्तार गर्न सकेको छैन। पार्टीले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न चाहनेका लागि आफ्नो वेबसाइटमार्फत आवेदन दिन आह्वान गरेको थियो। तर एउटै पनि आवेदन परेन।
त्यसपछि पार्टीले समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाउन सक्ने भए पनि ११ जनालाई मात्र उम्मेदवार बनायो। त्यस्तै, प्रत्यक्षमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा गरेको गतिशीलले तीन जनालाई मात्र उम्मेदवार बनाएको छ। पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर ५ मा निशा अधिकारी, सुर्खेत २ मा पवन थापा मगर र सर्लाही २ मा उमेशकुमार सिंह उम्मेदवार छन्। यीमध्ये गतिशील पार्टीको चुनावी गतिविधि काठमाडौँ ५ मा निशाको सक्रियतामा सीमित देखिन्छ।

भोट माग्दै गतिशीलकी उम्मेदवार निशा अधिकारी।
पार्टीका संरक्षक बस्नेत चुनावमा उठ्ने चर्चा रहे पनि सोचेजस्तो माहोल नदेखेपछि उनी उम्मेदवार बन्न चाहेनन्। पार्टीका अध्यक्ष र अन्य प्रमुख पदाधिकारी कोही पनि उम्मेदवार बनेनन्। पार्टीका एक केन्द्रीय सदस्यको भनाइमा संस्थापकहरूलाई रोजगारी र आर्थिक समृद्धिको कुराले आम नागरिकलाई तान्छ भन्ने लागेको थियो। विभिन्न पेशा-व्यवसायमा व्यस्त उनीहरूले विज्ञापन गरेपछि सदस्य र उम्मेदवार बन्न मान्छेहरू आउँछन् भन्ने सोच राखे पनि त्यस्तो भएन।
‘भाइरल बन्ने दौडमा छैनौँ’
गतिशील पार्टीले मैदानमा जानुको साटो टेबलबाट पार्टी चलाउन खोज्दा असफल भएको पार्टीकै एक केन्द्रीय सदस्यको बुझाइ छ। उनी भन्छन्, “पार्टीमा पढेका, असल र सफल मान्छे छन्, तर नेतृत्व गर्ने राम्रो मान्छे भएन। सोचेजस्तो सजिलो रहेनछ राजनीति।”
पार्टीका महासचिव पीयुष कायस्थ भने गतिशील नयाँ दल भएकाले पनि पुरानाजस्तो सक्रिय नदेखिएको बताउँछन्। आफ्नो पार्टी अजेन्डामा अघि बढेको तर निर्वाचनको समय छोटो हुँदा संगठन तयार भइनसकेको उनको भनाइ छ। भन्छन्, “आर्थिक समृद्धि र रोजगारीजस्ता हाम्रा अजेन्डा आम मतदातामा पुर्याउन समय पनि पुगेन।”
उनी भन्छन्, “फरक काम गरौँ भनेर आएका हामीले पनि अरुले जस्तै गलत कुरा बोल्नु भएन। स्टन्ट गरेर भाइरल बन्नु हुँदैन, बिस्तारै समय आउँछ भन्ने हो।”
यसपटकको निर्वाचनमा नयाँ र पुराना दलमा केही फरक नदेखिएकाले गतिशीलले उनीहरूसँग प्रतिष्पर्धा गर्न नचाहेको तर उपस्थिति देखाउन केही ठाउँमा उम्मेदवार भने उठाएको कायस्थको भनाइ छ। “बजारमा पढेलेखेका मान्छेले राजनीति गर्न नजानेको टिप्पणी हामीले पनि सुनेका छौँ,” उनी भन्छन्, “फरक काम गरौँ भनेर आएका हामीले पनि अरुले जस्तै गलत कुरा बोल्नु भएन। स्टन्ट गरेर भाइरल बन्नु हुँदैन, बिस्तारै समय आउँछ भन्ने हो।”
पार्टीका अध्यक्ष दिनेश प्रसाईं यसपटकको चुनावमा पार्टीले सांकेतिक रूपमा मात्र उम्मेदवार उठाएको बताउँछन्। कृषि, पर्यटन, रोजगारीजस्ता विषयमा दीर्घकालीन सोचसहित काम गरिरहेकाले स्टन्ट गरेर भाइरल बन्ने दौडमा पार्टी नरहेको उनको तर्क छ। भन्छन्, “अहिलेको चुनाव पपुलिज्मतिर गयो। यस्तो माहोलमा हाम्रा अजेन्डा, सुशासन, रोजगारीका कुरा सुन्ने अवस्था देखिएन।”
पार्टीको स्टन्टबाजी नगर्ने नीतिअनुसार नै शान्त भएर अघि बढेको अध्यक्ष प्रसाईंको दाबी छ। भन्छन्, “अहिले गहिरो विषय, गम्भीर कुरा सुन्ने गतिलो माहोल छैन।”
चुनाव खर्च प्रतिउम्मेदवार दुई लाख
फजुल खर्चबाटै भ्रष्टाचारको सुरुआत हुने भन्दै गतिशीलले चुनावमा अनावश्यक खर्च नगर्ने नीति लिएको छ। एकजना उम्मेदवारले निर्वाचनमा दुई लाख रुपैयाँभन्दा बढी खर्च नगर्ने पार्टीको नीति छ। नेताहरूलाई आफ्नो घरखर्च, छोराछोरीको पढाइ शुल्क काटेर चुनावमा खर्च नगर्न र चुनाव प्रचारमा हिँड्दा जंकफुड खानुभन्दा मकै-भटमास, मोहीजस्ता खानेकुरा खान आग्रह गरेको अध्यक्ष प्रसाईं बताउँछन्। भन्छन्, “हाम्रो अजेन्डा राम्रो भए पनि समय थोरै भएकाले मतदातासम्म पुर्याउन सकिएन, चुनावचिह्न र दलको नाम समेत धेरैले थाहा नपाएकाले प्रमुख नेताहरू उम्मेदवार बन्नुभएन।”
एक महिनायता गठबन्धन गरौँ भनेर विभिन्न दल आए पनि आफूहरूले त्यस्ता गतिविधि नगर्ने अठोट लिएको कायस्थको भनाइ छ।
महासचिव कायस्थ आफूहरू जसरी पनि संसद्मा जानैपर्छ भन्ने पक्षमा नरहेको बरु मतदातालाई अजेन्डा बुझाएर मात्र अघि बढ्न चाहेको बताउँछन्। संसद् बाहिरै रहेर पनि आर्थिक मुद्दा उठाउने, नागरिकमा चेतना जगाउने र प्रतिपक्षको काम गर्न सकिने बताउँदै उनी भन्छन्, “हामी राजनीतिबाट पछाडि सरेका होइनौँ, चुनावपछि प्रतिपक्षको भूमिका खेल्छौँ। स्थानीय तह र प्रदेशसभा निर्वाचनमा सक्रिय बन्छौँ।”
एक महिनायता गठबन्धन गरौँ भनेर विभिन्न दल आए पनि आफूहरूले त्यस्ता गतिविधि नगर्ने अठोट लिएको कायस्थको भनाइ छ। “सुरुआती छवि नै नराम्रो नहोस् भन्ने चाहना हो,” उनी भन्छन्, “राजनीति दीर्घकालीन प्रक्रिया हो, यहाँ प्रतिबद्ध मान्छे चाहिन्छ, बरु ढिलो होस् तर अजेन्डामा काम गरौँ, राम्रो गरौँ भन्ने हाम्रो अभियान हो।”