काठमाडौँ। गोरखापत्र संस्थानले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न विषयमा शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको छ।
शुक्रबार सूचना प्रकाशित गर्दै संस्थानले गोरखापत्र एकेडेमी अन्तर्गत प्रदान गरिने शोधवृत्ति दुई वर्गको हुने जनाएको छ।
विश्वविद्यालय वा आङ्गिक क्याम्पसमा एमफिल, एमफिल पिएचडी र पिएचडीका लागि शोध प्रस्ताव दर्ता गराई अनुसन्धानका लागि स्वीकृत भई छनौट भएका एकजना उत्कृष्टलाई एक लाख रुपैँया प्रदान गर्ने संस्थाले जनाएको छ।
गोरखापत्र दैनिक, द राइजिङ नेपाल, मासिक प्रकाशनहरु (मुना, युवामञ्च र मधुपर्क), गोरखापत्र संस्थान, गोरखापत्रका बहुभाषिक सामग्री, संस्थानका डिजिटल संस्करण गोरखापत्र अनलाइन र राइजिङडेली अनलाइनलगायतले नेपालका विभिन्न क्षेत्रमा दिएको योगदान शोध शीर्षकमा नै खोलेर त्यसै अनुसार अनुसन्धान भएको हुनु पर्नेछ बताएको छ।
यसैगरि गोरखापत्र, यसका सहप्रकाशन, गोरखापत्र संस्थानका योगदानबारे यसअघि नै विभिन्न विषय क्षेत्रमा गरिएका अनुसन्धानका लागि ५० हजार रुपियाँको प्रोत्साहन शोधवृत्ति प्रदान गरिने संस्थानले जनाएको छ। त्यसका लागि आफूले गरेको शोत्रपत्र वा शोध प्रबन्धको एक प्रति र डिजिटल प्रति संस्थानमा उपलब्ध गराउनु पर्नेछ।
संस्थानले पत्रकारिता, सञ्चार, भाषा, साहित्य, इतिहास, र डिजिटल रूपान्तरण लगायतका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उद्देश्यले यो कार्यक्रम ल्याएको जनाएको छ।
यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिनभित्र गोरखापत्र संस्थानको केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौंमा आवेदन दिन सकिने संस्थानले सूचनामा उल्लेख गरेको छ।

गोरखापत्र संस्थानले प्रकाशित गरेको सूचना।