सुर्खेत। नसर्ने रोगहरुमध्ये मानसिक स्वास्थ्य समस्या कर्णाली प्रदेशका लागि चुनौती बनेको छ। कर्णाली प्रदेश अस्पतालमा उपचार २० बर्षमुनिका बालबालिका, किशोरकिशोरीमध्ये अधिकांशमा मानसिक स्वास्थ्य समस्या देखिएको छ।
बिहीबारसामाजिक विकास मन्त्रालयले आयोजना गरेको गरेको बालबालिका तथा किशोर–किशोरी मानसिक स्वास्थ्य सम्बन्धी सरोकारवाला निकायसँगको समन्वय बैठकमा कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले २० वर्षमुनिका ९८५ बालबालिकामा नसर्ने रोग देखिएको जानकारी दिए।
सानै उमेरमा नसर्ने रोग पुष्टि भएका अधिकांश बालबालिकामा मानसिक समस्या पाइएको उनले बताए। डा. समदर्शीका अनुसार अहिले दैनिकजसो ८ देखि १० जना बालबालिका तथा किशोर–किशोरी मानसिक स्वास्थ्य समस्या लिएर उपचारका लागि आउने गरेका छन्। “यो तथ्याङ्कले भविष्यमा घर–घरमै मानसिक समस्या भएका व्यक्ति हुन सक्छन्, समयमै सचेत हुनुपर्छ।” उनले भने।
बालबालिकाको तनाव बुझ्न नसक्दा यसको असर विद्यालय तहमा समेत परेको डा. समदर्शीको भनाइ छ। तनाव र उदासिनताका कारण पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीमा लागुऔषध दुव्र्यसन बढ्दै गएको उनले बताए।
“लागुऔषधलाई उपचारात्मक भन्दा अपराधीकरण गर्ने प्रवृत्तिले मानसिक समस्या झन् बढेको देखिन्छ,” उनी भन्छन्, “लागुऔषध प्रयोगको सुरुआती कारणसम्म पुगिएको छैन, सचेतनाको पाटो कमजोर छ। बालबालिकामा भएको तनाव बुझ्ने माध्यम नहुँदा लागुऔषधको जोखिम बढ्दै गएको छ।”
लागुऔषध प्रयोग र मानसिक समस्याका विषयमा भइरहेको सतही अध्ययनले समस्या समाधान नहुने बताउँदै उनले सेवाप्रदायक संस्था, जनशक्ति र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए। मानसिक स्वास्थ्य समस्याका कारण बालबालिका र वयस्कमा आत्महत्याको प्रयास पनि बढेको उनको ठहर छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था सिएमसी नेपालका प्रदेश संयोजक हिमाल गैरेका अनुसार कर्णालीमा मानसिक स्वास्थ्य समस्या प्रमुख चुनौतीका रुपमा देखा पर्दै गएको बताए।
सिएमसीले कर्णालीका विभिन्न जिल्लामा सञ्चालन गरेका मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रममार्फत सेवा लिएकाहरुको तथ्यांक डरलाग्दो रहेको उनले बताए। उनका अनुसार सुर्खेतका चार पालिकाका १ हजार ५२६ जनाले मानसिक स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। जसमध्ये १२६ जनाले टेलिमेडिसिनमार्फत सेवा लिएका छन्।
सिएमसी नेपालले कर्णालीका ६ जिल्लामा सञ्चालन गरेका कार्यक्रमबाट मानसिक स्वास्थ्य नीतिगत कमजोरीका कारण ओझेलमा परेको निश्कर्ष निकालेको छ।
प्रदेश संयोजक हिमाल गैरेका अनुसार विद्यालय तहमा बालबालिका तथा किशोरकिशोरीको मानसिक समस्या पहिचान, रोकथाम र व्यवस्थापनका लागि स्पष्ट नीति अभाव रहेको संस्थाको निश्कर्ष छ। नियमित अनुगमन, तथ्याङ्क संकलन र गुणस्तर मुल्याङ्कन नहुँदा कार्यक्रम प्रभावकारी बन्न नसकेको प्रदेश संयोजक गैरेले बताए।
तालिमप्राप्त जनशक्तिको उच्च पलायन र मनोसामाजिक परामर्शदाता तथा फोकल पर्सनको निरन्तरता नहुँदा यससम्बन्धि सेवाप्रवाहको काम प्रभावित भएको उनले बताए।