काठमाडौँ। चुनावी अभियानका क्रममा रौतहटमा सवारीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएपछि रास्वपाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै पार्टीले यो घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ।’
चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई रास्वपाले कडा निर्देशन दिएको छ।