काठमाडौँ। जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का अध्यक्ष रामचन्द्र भुसाल निर्वाचित भएका छन्।
श्रीलङ्काको राजधानी कोलम्बोमा भएको तीनदिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीपश्चात शनिबार भएको निर्वाचनमा भुसाल निर्विरोध अध्यक्षमा निर्वाचित भए।
भुसाल नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का वर्तमान अध्यक्ष हुन्। सन् २०१७ देखि हालसम्म उनी सार्क क्षेत्रको जाइका अलमनाई एसोसिएसनको महासचिव थिए। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका जाइका अलमनाइहरुको सहभागिता रहेको उक्त सम्मेलनमा जानका अध्यक्ष भुसाल र उपाध्यक्ष किरण रुपाखेतीले नेपालका तर्फबाट कार्यक्रम प्रस्तुत गरेको जानका महासचिव शान्तिलक्ष्मी शाक्यले जानकारी दिइन्।
कार्यक्रममा नेपालका तर्फबाट भुसालको नेतृत्वमा ६ सदस्यीय टोलीले सहभागिता जनाएको थियो। कार्यक्रममा श्रीलङ्काका लागि जापानी राजदूत आकिको इसोमाताले सार्क क्षेत्रको छाता सङ्गठनका रूपमा रहेको संस्थाले जापान र सार्क क्षेत्रका देशहरूबीचको सुमधुरसम्बन्ध कायम राख्दै सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताएको शाक्यले जानकारी दिइन्।
नवनिर्वाचित अध्यक्ष भुसालले जापानले सार्क क्षेत्रमा निस्वार्थ‚ भरपर्दो र दिगो रूपमा सहयोग गर्दै आएको र जापानबाट इमानदारी‚ जिम्मेवारीको जवाफदेहिता‚ अनुशासन‚ समयनिष्ठता र मिहिनेत सिक्नुपर्ने बताए। कार्यक्रममा सार्क क्षेत्रका जाइका अलमनाईहरूबाट भए गरेका गतिविधिबारे प्रस्तुति भएको थियो।
सार्क क्षेत्रका जाइका अलमनाईहरूको छाता सङ्गठनका रूपमा यो संस्थाको स्थापना सन् २००८ मा भएको थियो। यसको सचिवालय सन् २०१७ देखि काठमाडौँमै छ।