२४ माघ २०८२
अ+
अ-

काठमाडौं । अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता औपचारिक रूपमा सार्वजनिक भएको छ। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताका मुख्य बुँदाहरू बाहिर ल्याएका हुन्।

यसअघि फेब्रुअरी २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए। त्यसक्रममा भारतबाट आयात हुने वस्तुमा लगाइएको ५० प्रतिशत ट्यारिफ घटाएर १८ प्रतिशतमा झार्ने निर्णय पनि सार्वजनिक गरिएको थियो। तर, त्यतिबेला सम्झौताका विस्तृत सर्तहरू खुलाइएका थिएनन्।

अब जारी संयुक्त वक्तव्यअनुसार सम्झौताले भारतीय निर्यातकर्तालाई करिब ३० ट्रिलियन अमेरिकी डलर बराबरको विशाल बजारमा पहुँच दिलाउने भारतका वाणिज्य मन्त्री पीयूष गोयलले बताएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो सम्झौता भारतीय व्यापारका लागि महत्वपूर्ण अवसर भएको उल्लेख गरेका छन्।

यता, ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात नगर्ने प्रतिबद्धता जनाएको उल्लेख छ। साथै, भारतले अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षमा रक्षा क्षेत्रमा सहकार्य विस्तार गर्न पनि सहमति जनाएको छ।

सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाइने ‘रेसिप्रोकल ट्यारिफ’मा कटौती गर्नेछ। यसपछि भारतीय उत्पादनमा लागू हुने ट्यारिफ दर १८ प्रतिशतमा सीमित रहनेछ।

ह्वाइट हाउसका अनुसार अन्तरिम व्यापार सम्झौताका लागि आवश्यक फ्रेमवर्क तय भइसकेको छ र त्यसका केही प्रमुख सर्तहरूमा दुवै पक्ष सहमत भइसकेका छन्।