२४ माघ २०८२
अ+
अ-

वालिङ। नेपाली संगीतको एक प्रतिष्ठित नाम कन्दरा ब्यान्डले वालिङमा भव्य कन्सर्ट आयोजना गरेको छ। कन्सर्टमार्फत संगीत‚ स्मृति र सामाजिक चेतनाको शक्तिशाली प्रस्तुति दियो।

वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित नवौँ वालिङ महोत्सव करिब दुई घण्टा चलेको थियो। कन्सर्टभर कन्दराका कालजयी गीतमा दर्शक झुमे।

कन्दराका प्रमुख गायक विवेककुमार श्रेष्ठका लागि कन्सर्ट भावनात्मक बन्यो। वालिङकै विद्यालयमा अध्ययनरत एक सामान्य बालकदेखि राष्ट्रिय स्तरमा परिचित संगीतकर्मी बन्ने उनको यात्रालाई उनकै पूर्वशिक्षक एलबी ज्वारचन ले स्मरण गर्दै भावुक शब्दहरूमा प्रस्तुत गरे। कक्षाकोठामा डेस्कमा ताल ठटाउँदै गीत गाउने विवेकको बाल्यकालीन झल्कोले दर्शकदीर्घामा आत्मीय भावनाको तरंग ल्यायो।

संगीतसँगै कन्सर्टले सामाजिक उत्तरदायित्वको स्पष्ट सन्देश पनि बोकेको थियो। विवेक श्रेष्ठले दर्शकहरूलाई ‘प्लानेट ओभर प्लास्टिक’ रोज्न आह्वान गर्दै स्थानीय तहमा बढ्दो प्रदूषणप्रति चिन्ता व्यक्त गरे।

कार्यक्रमले वैदेशिक रोजगार‚ पलायन र पहिचानको संवेदनशील विषयलाई पनि गहिरो रूपमा उजागर गर्‍यो। कन्दराको चर्चित गीत ‘हङकङ पोखरा’ ले धेरै दर्शकलाई भावुक बनायो।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै विदेशमा बसोबास गर्दै आएका दर्शकहरूले यो गीत रोजगारीका कारण देश छोड्नुपर्ने लाखौँ नेपालीको यथार्थ कथा भएको बताएका छन्। जहाँ विदेश जानु चाहना होइन‚ बाध्यता बन्ने गरेको छ।