अनुभूति
‘तपाईंले नेपाली समुदाय र अल्पसंख्यकहरूको हकहितका लागि पुर्याएको योगदानको कदर स्वरूप हङकङ सरकारले अवार्ड प्रदान गर्ने भएको छ।’
सन् २०१६ को एक दिन हङकङ सरकारबाट यस्तो सन्देश आउँदा एकसाथ खुसी र चकित भएँ। समाज सेवामा योगदान गर्नेलाई हङकङका प्रमुख कार्यकारीले प्रदान गर्ने ‘चिफ एक्ज्युकेटिभ्स कमन्डेसन फर कम्युनिटी सर्भिस’ पाउने खबरले एकातिर आफूले वर्षौंदेखि गरेको कामको कदर भएकामा खुसी थिएँ अनि आशा नगरिएको अवार्डले चकित पनि। यसले मलाई आफूले विगतमा गरेका दुःख, सुखको सम्झना गरायो।
नेपालमा अस्पतालमा नर्सका रूपमा काम गरिरहेकी थिएँ। रमाइलै जीवनशैली थियो। तर हङकङ आएर यहाँ गरेको सङ्घर्षको याद आयो।
सन् १८४१ देखि १९९७ सम्म बेलायतको अधिनमा थियो, हङकङ। त्यसयता भने चीनको अधिनमा आयो। ब्रिटिस गोर्खा सैनिकमा भर्ना भएका थुप्रै नेपाली बेलायतको अधिनमा रहेकै बेला हङकङ आइपुगेका थिए।
सन् १९८३ भन्दाअघि हङकङमै जन्मिएकाहरूले स्थायी बसोबासको अधिकार पाउने कानुन बनेपछि नेपालीको हङकङ प्रवेश गर्ने लहर चल्यो। हङकङमै जन्मिएका कारण मैले पनि त्यो अधिकार पाएँ। त्यही बेला पोखरामा स्टाफ नर्सको काम गरिरहेकी म सन् १९९७ मा हङकङ आईपुगेँ।
यहाँ आएपछि भने सोचेजस्तो सजिलो लागेन। विभिन्न क्षेत्रमा सङ्घर्ष गरेँ। सुरुमा फुड एन्ड बेभरेजमा काम गरेँ। त्यसपछि एयरपोर्टमा निर्माण कामदारको काम पनि गरेँ। बाहिर सुन्दा जति आकर्षक थियो, वास्तविकतामा उत्तिकै चूनौतीपूर्ण थियो, हङकङ। सोचेजस्तो कहाँ रहेछ र हङकङ!
मैले पनि नेपालमा रहँदा अनेरास्ववियु पाँचौँसम्म विद्यार्थी राजनीति गरेका कारण कार्यक्रममा जान्थेँ। यही सिलसिलामा हङकङको नेपाली समुदायसँग नजिक हुन थालेँ।
त्यसबेला यहाँ डोमेस्टिकमा काम गर्ने नेपाली पनि थिए। उनीहरूको हकहितका लागि काम गर्ने संस्था फियोना सक्रिय थियो। यस्ता संस्थाको कार्यक्रममा स्याङ्जाका जगत अम्बु गुरुङ फोटो खिच्नु हुन्थ्यो। म पनि स्याङ्जाको भएकाले उहाँसँग नजिक थिएँ। अनि म पनि क्यामेरा बोकेर हिड्थेँ। समाचार लेख्थेँ। सबै सङ्घसंस्थाका कार्यक्रममा सहभागी हुन्थेँ। यसरी सङ्घसंस्थामा हिँड्ने महिलाहरू थोरै थिए।
फियोनामा प्रायः कम्युनिस्ट विचारधाराका मान्छेहरू थिए। मैले पनि नेपालमा रहँदा अनेरास्ववियु पाँचौँसम्म विद्यार्थी राजनीति गरेका कारण कार्यक्रममा जान्थेँ। यही सिलसिलामा हङकङको नेपाली समुदायसँग नजिक हुन थालेँ।
सन् १९९८ पछि हङकङमा विभिन्न संस्थाहरू स्थापना हुन थाले। म पनि जिल्लागत र जातिगत संस्थामा आबद्ध भएँ। सन् २००३ पछि संस्थाहरूमा सक्रिय हुन थाले पनि सन् २००५ पछि मात्र विभिन्न संस्थामा पदमा रहेर काम गर्न थालेँ। त्यसो गर्दागर्दै सामाजिक सेवामूलक काममा रस बस्यो। नेपाली समुदायलाई परेका समस्याको समाधान खोज्दै, नेपालीलाई जोड्न पाउँदा, त्यसैमा आनन्द लाग्न थाल्यो।
धेरैजसो नेपाली परदेश जानुको प्रमुख उद्देश्य पैसा कमाउनु हुन्छ। अझ हङकङजस्तो धेरै कमाइ हुने ठाउँमा त अधिकांश नेपालीको प्राथमिकता पैसा बढी आउने काम नै हुन्छ। मेरो ध्यान भने पैसामा भन्दा आफूलाई मन आनन्द हुने सामाजिक काममा रमायो। तर यो परदेशको ठाउँमा पुरुषलाई समेत रातदिन सामाजिक काममा लाग्न सहज छैन। त्यसमाथि महिलालाई घर व्यवहारदेखि अनेक चुनौती हुन्छन्। ती चुनौतीहरू सामना गर्दै अघि बढेँ। हिम्मत कहिल्यै हारिनँ।
७५ लाख जनसङ्ख्यामध्ये करिब ३० हजार जति नेपाली रहेको हङकङमा वडा, क्षेत्र, जिल्ला, जातीय र क्षेत्रीय गरी दर्जनौँ नेपाली सङ्घसंस्था छन्। ती संस्थाहरूको पनि साझा संस्था ‘हङकङ नेपाली महासङ्घ’ मा संस्थाहरू सदस्य रहन्छन्। म आफ्नो संस्था तमू ट्हो हृयुल हङकङको प्रतिनिधिका रूपमा सन् २०१० मा महासङ्घको सातौँ अधिवेशनमा महासचिवको उम्मेदवार बनेँ।
संस्थाका लागि सक्षम र सक्रिय थोरैमध्ये म पनि पर्थें, इमानदारीपूर्वक काम गर्दा पनि मलाई आफ्नै संस्था र पहिला समर्थन गर्नेले सहयोग गरेनन्।
हङकङका ठूला संस्थाहरूमा पनि नेपालमा जस्तै राजनीतिक प्रभाव हुन्छ। आ–आफ्ना प्यानल हुन्छन्। यस्ता सङ्घसंस्थामा पनि पुरुषकै वर्चस्व हुन्छ। तर, सामाजिक सेवामा सक्रिय रहेकाले होला- सबैले मलाई सहयोग गरे। महासचिवमा निर्विरोध निर्वाचित भएँ। महासङ्घको अध्यक्षमा भने अर्कै समूहका उम्मेदवार प्रदीप थापाले जिते। हाम्रो संस्थाले समर्थन गरेका अध्यक्ष भने पराजित भए।
फरक समूहको भए पनि चुनाव जितिसकेपछि विधानअनुसार काम गर्नुपर्छ भन्ने मेरो मान्यता थियो। आफ्नो कार्यकालमा संस्था बलियो बनाउनु पर्ने, नेपालीहरू एकजुट हुनुपर्छ भन्ने सोचले अध्यक्षसँग मिलेर काम गरेँ। तर मेरो संस्थाले त्यो कुरा मन पराएन। संस्थाले मलाई फिर्ता बोलाउने निर्णय गर्यो। अनायासै म पनि राजनीतिक चक्करमा फसेँ। संस्थाका लागि सक्षम र सक्रिय थोरैमध्ये म पनि पर्थें, इमानदारीपूर्वक काम गर्दा पनि मलाई आफ्नै संस्था र पहिला समर्थन गर्नेले सहयोग गरेनन्। बरु अन्य सङ्घसंस्थाहरूले महासङ्घमा तपाईं चाहिन्छ भनेर सहयोग र समर्थन गरे। त्यसपछि झनै सामाजिक क्षेत्रमै केन्द्रित भएर सक्रिय रहन थालेँ। यही क्रममा नेपाली आदिवासी जनजाति महासङ्घ, हङकङ लगायत विभिन्न संस्थामा रहेर काम गरेँ। नेपाल क्लब हङकङको अध्यक्ष बनेँ।
पछि हङकङ नेपाली महासङ्घमा दुई कार्यकाल अध्यक्ष बनेर नेतृत्व गरेँ।
नेपाली समुदायका समस्या यहाँको वाणिज्य दूतावासदेखि हङकङ सरकारसम्म पुर्याउन पहल गरेँ।
महासङ्घमार्फत हङकङ सरकारसँग सहकार्य गरेर निर्माण क्षेत्रमा काम गर्ने नेपाली श्रमिकहरूको सुरक्षासम्बन्धी प्रशिक्षणदेखि नेपाली बालबालिकालाई नेपाली भाषा प्रशिक्षण, तेक्वान्दो र फुटबल प्रशिक्षण, नृत्य प्रशिक्षणजस्ता कार्यक्रमको नेतृत्व पनि गरेँ। अझै पनि यस्तै काम गरिरहेकै छु। अहिले पनि महासङ्घमा सेक्टर इन्चार्जका रूपमा काम गरिरहेकी छु। यहीँ जन्मिएका नेपाली बालबालिकालाई आफ्ना कला, संस्कृति सिकाउन र नेपालीलाई आइपर्ने अन्य समस्या समाधानका लागि काम गर्दै आएकी छु।
नेपाली समुदायका सङ्घसंस्थामा रहेर काम गर्दा पूर्वदेखि पश्चिम नेपालसम्मका धेरै नेपालीसँग काम गर्ने, अन्तरक्रिया गर्ने अवसर पाएँ। नेपाली समुदायका समस्या यहाँको वाणिज्य दूतावासदेखि हङकङ सरकारसम्म पुर्याउन पहल गरेँ।
हङकङ सरकार र नेपाली समुदायबीच पुलको रूपमा पनि काम गर्ने अवसर पाएँ। हङकङ सरकारले गठन गरेको ‘याउ सिम मोङ डिस्ट्रिक फाइट क्राइम कमिटी’को सन् २०१४-२०२० को उपाध्यक्ष, ‘द इथ्निक माइनोरिटिस् टाक्स फोर्स अफ कन्स्ट्रक्सन इन्डस्ट्रिज काउन्सिल’ को सल्लाहकार, इथ्निक माइनोरिटिज् फोरमको सदस्य, प्रोमोसन अफ रेसियल हार्मोनीको कार्य समिति सदस्य लगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने अवसर यही सामाजिक सेवामूलक कामले दिएको हो।
नेपाली समुदाय र अल्पसंख्यकहरूको हकहितका लागि सामाजिक कार्य गरेको भन्दै हङकङ सरकारले सन् २०१६ मा ‘चिफ एक्ज्युकेटिभ्स कमन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्ड प्रदान गरेको थियो। त्यसपछि हङकङ सरकारको गृह तथा युवा मामिला मन्त्रालयअन्तर्गतको महिला आयोगमा पनि नियुक्त भएँ। यो नेपाली समुदाय र हङकङ सरकारले मप्रति गरेको विश्वास पनि हो।
हङकङमा मात्र होइन, नेपालमा पनि भूकम्प, कोभिड महामारीजस्ता विभिन्न विपद्का समयमा सहयोग सङ्कलन गरेर पठाएकी छु। अब त समाजसेवाबाट टाढा हुनै सक्दिँन। जीवनभर समाजसेवामै लागिरहन्छु। आफ्नै अनुभवले भन्न सक्छु, मनैदेखि गरेको कामलाई निरन्तरता दिने हो भने पैसाले भन्दा बढी खुसी दिने रहेछ।
(गुरुङ नेपाल क्लब हङकङकी अध्यक्ष र महासङ्घकी सेक्टर इन्चार्जका रूपमा कार्यरत छिन्।)