काठमाडौँ। वरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ। उनको हृदयाघातका कारण शनिबार बिहान निधन भएको हो।
शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। उनको अस्पतालले निधन भएको घोषणा गरेको हो।
कलाकार थापाको निधनबारे केदार घिमिरे (माग्ने बुढा) ले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वरिष्ठ कलाकार सुनील थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ बास होस् ।”
उनी नेपाली चलचित्र क्षेत्रमा ‘राते काइँला’ नामले परिचित छन्। जुन उनले अभिनय गरेको सुपरहिट चलचित्र चिनोमा निर्वाह गरेको भूमिकाबाट आएको हो। यो भूमिकाले उनलाई नेपाली दर्शकमाझ अमर बनायो।
बडीबिल्डर रजनी श्रेष्ठले पनि कलाकार थापा खिचेको तस्बिरसहति उनको निधनमा दु:ख व्यक्त गरेकी छन्। श्रेष्ठले फेसबुकमा लेखेकी छन्‚ “कला क्षेत्रमा हजुरको योगदान नेपाललगायत सारा विश्वमा सधैँ स्मरणीय रहनेछ। भावपूर्ण हार्दिक श्रद्धाञ्जली। हजुरसँग भेटघाटको कुराकानी रमाइलो थियो अब सम्झना मात्र बाँकी रह्यो।”
कलाकार थापा नेपाली चलचित्र क्षेत्रमा ‘राते काइँला’ नामले परिचित छन्।
कलाकार थापाले सयौँ नेपाली चलचित्रमा अभिनय गरेका छन्। उनले बलिउडका चलचित्रहरूमा समेत अभिनय गरेका छन्। उनको अभिनयकला भोजपुरी चलचित्रहरूमा पनि देख्न सकिन्छ।
उनको करियरको सुरुवात बलिउडबाटै भएको थियो। तर नेपाली सिनेमामा उनको योगदान महत्त्वपूर्ण छ। उनी एभरेस्ट फिल्म एकेडेमीका अध्यक्ष पनि थिए।
कलाकार थापाले अभिनय गरेका केही चर्चित चलचित्र
उनले अभिनय गरेका चलचित्रमा चिनो‚ राँको‚ सपना‚ आगो‚ देउकी‚ मसाल‚ रुद्राक्षलगायत छन्। उनले नेपाली टेलिसिरियलमा पनि अभिनय गरेका छन्। मेरी बस्सैमा उनले शेरसिंह मामा भूमिकामा अभिनय गरेका छन्।
यस्तै उनले बलिउडमा डेब्यु गरेको चलचित्र एक दूजे के लिए हो। उनले मेरी कोम‚ द फेमिली म्यानलगायत चलचित्रमा पनि अभिनय गरेका छन्। झन्डै डेढ सय चलचित्रमा अभिनय गरेका वरिष्ठ कलाकार थापाले खलनायक‚ सहायक भूमिका र विविध चरित्रहरूमा विभिन्न भूमिका निर्वाह गरेका छन्।