टी-२० विश्वकप
दुईपटकको टी–२० विश्वकप विजेता इङ्ल्यान्डसँग नेपालको भिडन्तले नेपाली दर्शकमा उत्साह
बहुप्रतीक्षित टी-२० विश्वकपको पहिलो खेल नेपाल र इङ्ल्यान्डबीच नेपाली समयअनुसार आइतबार दिउँसो ३:१५ मा मुम्बईको वानखेडे रंगशालामा हुँदै छ। वानखेडे त्यही रंगशाला हो, जहाँ भारतीय क्रिकेटका महान् ब्याटर सुनिल गावास्करले पहिलोपल्ट दोहोरो शतक बनाएका थिए।
यो रंगशाला मुम्बईको घरेलु मैदान पनि हो। तर, आइतबार नेपाल र इङ्लिस टोलीबीच समूह ‘सी’ को पहिलो खेल हुँदा वानखेडे रंगशाला नेपाली खेलाडीका लागि घरेलु मैदानसरह हुनेछ। कारण, खेलको सबै टिकट बिक्री भइसकेको छ, र दर्शकमा बहुसंख्यक नेपालीहरू नै हुने देखिएको छ। रोजगारी र विभिन्न कामको सिलसिलामा मुम्बईमा मात्र करिब १५ लाख नेपालीहरू बसोबास गरिरहेका नेपाल-भारत कामदार संघका अध्यक्ष मास्टर थापा बताउँछन्। उनीहरूका लागि दुईपटक टी-२० विश्वकप जितिसकेको इङ्ल्यान्डसँग नेपाली टिमले खेलेको प्रत्यक्ष हेर्न पाउनु गौरवको विषय भएको उनको भनाइ छ।
थापा भन्छन्, “हाम्रै दाजुभाइले क्रिकेटको जननी इङ्ल्यान्डविरुद्ध भारतमा क्रिकेटको घर मानिने मुम्बईमा खेलेको हेर्न पाउनु खुसीको कुरा हो। यहाँ भएका सबै नेपाली उत्साहित छौँ।”
नेपालले यस विश्वकपको समूह चरणका सबै खेल वानखेडे रंगशालामै खेल्दै छ। सन् १९७४ मा निर्माण भएको यो रंगशाला मूलतः ब्याटरका लागि अनुकूल मानिन्छ। यहाँ वेस्ट इन्डिज र भारतले टेस्ट खेल्दै रंगशालाको उद्घाटन गरेका थिए। जसमा भारत २०१ रनले पराजित भएको थियो। उक्त टेस्टमा वेस्ट इन्डिजका कप्तान क्लाइभ लोयडले अविजित २४२ रन बनाएका थिए। सन् १९७८ मा यही मैदानमा वेस्ट इन्डिजविरुद्ध गावास्करले २०५ रनको दोहोरो शतक बनाए।
इङ्ल्यान्डका प्रख्यात अलराउन्डर इयान बोथमले पनि यही मैदानमा एउटै टेस्टमा शतक बनाउनुका साथै १० भन्दा बढी विकेट लिएका थिए। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) स्थापना भएको ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् १९८० मा आयोजना भएको ‘गोल्डेन जुब्ली’ क्रिकेट प्रतियोगितामा बोथमले वानखेडेमा ११४ रन बनाउनुका साथै १३ विकेट लिएको इतिहास रचेका थिए।
भारतका अर्का नामुद ब्याटर विराट कोहलीले पनि यही मैदानमा सन् २०१६ को चौथो टेस्टमा इङ्ल्यान्डविरुद्ध २३५ रनको प्रभावशाली इनिङ्स खेलेका थिए। भारतका पूर्वब्याटर तथा हाल चर्चित कमेन्टेटर रवि शास्त्रीको नाममा पनि यस मैदानमा कीर्तिमान सुरक्षित छ। उनले सन् १९८५ को रणजी ट्रफीमा बरोडाका तिलक राजको एउटै ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए।
वानखेडे रंगशाला समुद्रको छेउमा बनाइएका कारण ब्याटरलाई मात्र होइन, रात्रिकालीन खेलमा सिम बलरलाई पनि बढी फाइदा पुग्ने विश्लेषकहरू बताउँछन्। दोस्रो इनिङ्समा बलले राम्रो ‘टर्न’ लिने भएकाले स्पिनरका लागि पनि यहाँको पिच उपयोगी मानिन्छ।
वानखेडे मूलतः मुम्बईको रातो माटोले बनेको मैदान हो। यहाँ इङ्ल्यान्डले चार वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा उसले दुईमा जित र दुईमा पराजय बेहोरेको छ। उसको पछिल्लो पराजय भारतविरुद्ध गत वर्षको खेलमा भएको थियो। भारतले २४७ रन बनाएको खेलमा इङ्ल्यान्ड ९७ रनमा खुम्चिएको थियो।
भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)को आउँदो सिजन–२०२६ मा इङ्ल्यान्डका १३ जना खेलाडी आबद्ध छन्। यसले भारतीय मैदानमा इङ्लिस खेलाडीको दबदबा देखाउँछ। यस्तो अवस्थामा नेपालले सन् २०१० र २०२२ को विश्व च्याम्पियन टोलीलाई जित्नु भनेको ‘फलामको चिउरा चपाउनु’ सरह हो। यसअघि भारतमा सम्पन्न टी–२० विश्वकपमा पनि इङ्लिस टोलीको प्रदर्शन राम्रै भएको थियो। सन् २०१६ मा फाइनलमा पुगेर इङ्ल्यान्ड उपाधि जित्नबाट चुकेको थियो।
वानखेडे मैदानमा हालसम्म भएका खेलको नतिजालाई विश्लेषण गर्ने हो भने यहाँ सबैभन्दा ठूलो स्कोर २४७ बनेको छ। जुन इङ्ल्यान्डविरुद्ध भारतले बनाएको हो। वानखेडे मैदानको औसत स्कोर १३४ मानिन्छ। नेपालले यसअघि खेलेका दुई वटा विश्वकपको कुनै पनि खेलमा टेस्ट राष्ट्रसँग १३४ रनको औसत स्कोर चुम्न सकेको छैन। सन् २०१४ मा बाङ्लादेशविरुद्ध बनाएको १२६ रन नै विश्वकपमा नेपालले टेस्ट खेल्ने राष्ट्रविरुद्ध बनाएको सर्वाधिक योगफल हो।
वानखेडेमा हालसम्म टस जितेर पहिलो ब्याटिङ गर्ने टिमले २० प्रतिशत मात्र खेल जितेको छ। ८० प्रतिशत खेल टस जितेर फिल्डिङ गर्नेको हातमा परेको छ। त्यसैले आइतबार टस जुन टिमले जित्छ, उसको रोजाइ फिल्डिङ हुनेछ।
५० वर्षअघि वानखेडे रंगशाला निर्माण हुँदा यहाँको सिट क्षमता करिब ३९ हजार थियो। तर, सन् २०११ को विश्वकपका लागि पुनर्निर्माण गरिँदा सिट क्षमता घटेर ३३ हजारमा झर्यो। यसमा आज इङ्ल्यान्डविरुद्ध नेपाली टोली मैदानमा उत्रिँदा ८० प्रतिशतभन्दा बढी दर्शक नेपाली हुने पक्का छ।
वानखेडे इतिहासै इतिहासले भरिएको मैदान हो। आइतबार नेपालले इङ्ल्यान्डलाई पराजित गरे यस मैदानमा अर्को एउटा इतिहास लेखिनेछ।