काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

मानसिक स्वास्थ्य

मानसिक स्वास्थ्य समस्याबाट पार पाउन औषधोपचारसँगै आवश्यक पर्ने रहेछ, आफन्ती साथ-भरोसाको मल्हम।

२५ माघ २०८२
अ+
अ-

करिब एक वर्षअघिको म अर्कै थिएँ। अवस्था यतिसम्म खराब थियो, आफ्नै नजरमा अर्कै पात्रजस्तो थिएँ।
मानसिक रोगको अँध्यारो र साँगुरो सुरुङमा फसेकी थिएँ। यस्तो लागेको थियो, यो सुरुङबाट अब कहिल्यै बाहिर निस्किन सक्ने छैन। अत्यास, बेचैनी, तनाव, निराशा, सबै कुरामा अरुचि, अनिद्राले एकसाथ घेरेका थिए।

मर्ने इच्छा पटक-पटक लाग्थ्यो। तर मरिहाल्न सकिनँ, र त आज तपाईंसामु त्यसबेलाको अनुभूति बाँड्दै छु।

000

कहिलेकाहीँ जीवनमा यस्तो पनि क्षण आउँदो रहेछ, जतिबेला शब्द हराउँछन्, आँसु सुक्छन्, भावना थिचिन्छ, डरले घेर्छ र उकुसमुकुसले बाफिएको मनबाट चिच्याहट मात्र पोखिन्छ, तर आवाज बाहिर निस्कँदैन। मौनताभित्रको छटपटी र रोदन मात्र बाँकी रहन्छ।

त्यस्तै उकुसमुकुस र छटपटीको समय पार गरेँ मैले। जुन बाटोबाट धेरै जना गुज्रिन्छन्। कतिपयले आफन्ती आडभरोसा र उपचार पाएर यसबाट पार पाउँछन्, कति चाहिँ बीच बाटोमै जीवनसँग हार मान्छन्। हामीले सुन्ने गरेका आत्महत्याका कैयौँ घटनाभित्र मानसिक रोगको तडप लुकेको हुन सक्छ।
एन्जाइटी र डिप्रेसनको सिकार भएकी थिएँ म। बाहिरबाट हेर्दा ठिकठाक नै देखिन्थेँ- हाँस्दै बोल्ने, काममा व्यस्त, सामान्य जीवन बाँचिरहेकी। तर, भित्रभित्रै कुन अवस्थाबाट गुज्रिरहेकी थिएँ, कति छटपटी र तुफान मडारिएको थियो, कसैलाई थाहा थिएन।

आफैँलाई पनि थाहा थिएन, खासमा के भइरहेको थियो मलाई? दिमागमा अनगिन्ती सोचले हल्लीखल्ली मच्चाउँथे। जीवनको उद्देश्य नभेटेर रित्तो बन्थेँ। अनेक प्रश्नले रनथनीमा पार्थे- जीवन कस्तो भुमरीमा पर्दै छ?, जिउनुको उद्देश्य के हो मेरो? म ठीक छु?, ठीक छु भने किन कसैले मलाई सुन्दैन, बुझ्दैन?
‘ओभरथिङ्किङ’बारे पहिले सुनेकी थिएँ, अहिले आफैँ भोगिरहेकी थिएँ। अब सोच्दिनँ भन्थेँ, तर दिमागले थरीथरीका विचार हुर्काइहाल्थ्यो, भए-नभएका कुराको जालो बुन्थ्यो। मनमगज आफ्नो वशमा हुँदैनथ्यो। अविरल नानाभाँतीका सोच खेल्दाखेल्दा दिमाग थकित, गलित हुन्थ्यो- मुक्काबाजको प्रहार खेपेको थिलथिलो ज्यानजस्तो।

कहिले मनमा ठूलो तुफान उठ्थ्यो, कहिले भावशून्य अवस्थामा पुग्थेँ। पूरै रित्तो हुन्थ्यो दिमाग। को हुँ, कहाँ जाँदै छु, के गर्दै छु, म म नै हुँ कि भित्र अरु नै आत्माको प्रवेश भएको छ भन्ने हेक्का हुँदैनथ्यो।
त्यस्तो अवस्था भोगिरहँदा आफूलाई सामान्य अवस्थामा राख्न र दैनिक कामकाज गर्न भरमग्दुर कोशिश गरेँ। म ठीक छु भन्ने विश्वास आत्मसात् गर्ने प्रयत्न गरिरहेँ।

मलाई अरु पनि लक्षण देखिए। घाइते चरा छटपटाए जस्तो मुटु बेस्सरी धड्किन्थ्यो। श्वासप्रश्वास उस्तै तीव्र हुन्थ्यो।

ससाना कुरादेखि पनि असाध्यै डर लाथ्यो। कसैले आफूलाई केही नराम्रो भन्यो या ठूलो आवाजमा बोल्यो भने सहन गाह्रो हुन्थ्यो। घरपरिवार, छिमेक वा देशमा संवेदनशील केही घटना, दुर्घटना भए मन थाम्नै सक्दिनथेँ। रातभरि छटपटी हुने, डर लाग्ने, शरीर थरथरी काँप्ने हुन्थ्यो। यस्तो शारीरिक कम्पनले आफैँलाई भ्रमित र भयभीत बनाउँथ्यो। कैयौँ पटक रातमा भूकम्प आयो भनेर कोठाबाट म भागेकी छु।

यस्तो उकुसमुकुस, छटपटी र कमजोर मनोदशाले सुरुआतका दुई-तीन महिना धेरै गाह्रो पार्‍यो। निद्रा नलागेर कैयौँ रात टुलुटुलु हेरेरै छ्याङ्ग पारेँ। अनिद्राका कारण शरीरमा विभिन्न स्वास्थ्य समस्या देखिँदा रहेछन्। ग्यास्ट्रिक चम्कियो। मोटोपनले सतायो।

त्योभन्दा पनि दु:खद पाटो चाहिँ, मेरो समस्या आफन्त, साथीभाइले बुझेनन्। मैले आफ्नो स्वास्थ्य समस्याबारे बताउँदा पनि उनीहरूबाट न्यूनतम भरथेग पाउन सकिनँ। खासमा आफूलाई संकट र समस्याले घेरेपछि मात्रै नाता र सम्बन्धको असली पाटो सतहमा देखिने रहेछ। मैले पनि मानसिक बिरामी परेपछि आफ्नो सरसम्बन्धको जुइनो कति कमजोर रहेछ भन्ने पत्तो पाएँ।

मानसिक रोग लागेको बेला झन् बढी साथ, हौसला, प्रेरणा र माया आवश्यक पर्दो रहेछ। आफन्तजन र साथीसँगी त्यस्ता होऊन्, जसले बिरामीलाई ‘म छु नि’ भनेर आडभरोसा दिऊन्, ऊ घरपरिवार र समाजका लागि कति जरुरी छ भनिदिऊन्। तर औपचारिकता, बोक्रे व्यवहार र स्वार्थमा आधारित सम्बन्ध गाँस्ने यो समाजमा कसलाई फुर्सद छ र यो सब गर्ने? अरुको दु:खवेदना र समस्यामा एकैछिन टक्क अडिएर सुन्ने, सोध्ने, बुझ्ने चासो कसलाई? परिवार, आफन्त हुन् या साथीभाइ, पैसा, शक्ति र लेनदेनमा टिकेको सम्बन्ध। जीवन छउन्जेल र समस्यामा पिल्सिउन्जेल वास्ता नहुने अनि जीवन नरहेपछि सामाजिक सञ्जालमा ‘रिप’ लेख्न तिनैलाई हतारो! गइसकेको प्राणलाई सम्बोधन गरेर देखावटी रूपमा बल्ल सोधखोज चल्छ- ‘के भएको थियो? कसरी यस्तो भयो? किन केही भनेनौ?’

मनोभाव बुझिदिने कोही नहुँदा यस्ता बिरामीले एक्लै संघर्ष गर्नुपर्ने हुन्छ। आफ्नो आडभरोसा आफैँ बन्नुपर्ने हुन्छ। मानसिक समस्याको बेला एक्लै पर्नेहरूलाई मात्र थाहा हुन्छ, यो रोग कति पीडादायी छ भनेर। खासमा घरपरिवार र साथीसँगीकै बेवास्ताका कारण यो रोग जटिल बनिदिन्छ। यसको अर्थ, साथ र भर पाए, कुरा सुनिदिने र बुझिदिने स्वजन भए यो रोगबाट पार पाउन गाह्रो हुँदैन।

म मनोरोगी भएपछिकै केही समयपछिको कुरा हो। एकदिन मोबाइल चलाउँदै गर्दा भारतका चर्चित मोटिभेस्नल स्पिकर विकास दिव्यकीर्तिको भिडिओ देखेँ। उनी भन्दै थिए-

‘संसारमा धेरै मानिसलाई एन्जाइटी र डिप्रेसनको समस्या देखिन्छ। कतिले यसलाई रोग मान्छन् र समयमै उपचार पाउँछन्। कतिलाई भने छुट्याउन गाह्रो हुन्छ र त्यो अवस्थाबाट पार पाउन धेरै गाह्रो हुन्छ। जसले पार पाउँछ, उसले पहिला आफूलाई जित्छ र पछि संसार जित्छ। त्यसपछि उसले जीवनमा केही कर्म गरेर यो संसारबाट बिदा भएर जान्छ। जसले समयमै उपचार पाउँदैन, कसैको साथ, माया पाउँदैन, उसलाई बुझ्ने र सम्झाउने पनि कोही हुँदैन, ऊ आफूलाई एक्लो ठान्छ र जीवनदेखि हार मानेर आत्महत्याको बाटो रोज्छ।’

उनले भनेका कुरा मैले गहिरो गरी दुख्दै भोगिरहेको जीवन थियो।

000

शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य भन्ने पनि एउटा पाटो हुन्छ, र यसले व्यक्तिको जीवनमा निकै महत्त्व राख्छ भनेर हाम्रो समाजले अझैसम्म बुझेकै छैन। यो स्थितिमा एन्जाइटी वा डिप्रेसनजस्ता मानसिक समस्याबारे त समाजका सबैले राम्ररी बुझ्ने कुरै भएन। पढेलेखेका व्यक्तिहरूले समेत आफू र आफ्नालाई नपरेर वा चासो नदिएका कारण यो संवेदनशील स्वास्थ्य समस्या नबुझेको देखिन्छ। जबकि, जटिल र व्यस्त जीवन, भौतिकवादी जीवनशैली, आर्थिक पीडा र इन्टरनेटका सामाजिक सञ्जालमा केन्द्रित हुने प्रवृत्तिका कारण मानिसहरू एक्लिँदै गएका छन्, विभिन्न मानसिक समस्याको चपेटामा पर्नेहरू बढिरहेका छन्।

सामाजिक सञ्जालको आजको जमानामा हामीमा असामाजिकता झाँगिँदै गएको छ। अरु सरसम्बन्ध त परै छाडौँ, परिवारभित्रै पनि सदस्यहरू सँगै बसेर गफ गर्ने, दु:खसुखका कुरा बाँड्ने र भावना आदानप्रदान गर्ने क्रम घट्दै गएको छ। पहिले सहरी क्षेत्रमा मात्र रहेको यस्तो अवस्था अहिले सूचना-प्रविधिको सहज उपलब्धता र आधुनिक जीवनशैलीका कारण नगरोन्मुख क्षेत्रमा समेत पसिसकेको छ।

बेचैन मन बाँध्नका लागि आफूलाई व्यस्त राख्न धेरै कोसिस गर्थेँ। किताब पढ्थेँ। सकिनसकी केही न केही लेखिरहन्थेँ।

मानसिक रोगको संवेदनशीलता र गम्भीरता नबुझ्ने आफन्तजन र साथीभाइलाई आफ्नो समस्या सुनाउँदा हल्का रूपले लिएर कोरा अर्ती दिने, हाँसोमा उडाइदिने र आफैँ डाक्टर बन्नेहरू पनि हुन्छन्। यस्ता कुराले बिरामीलाई झन् असर गर्छ। कम्तीमा साथ र हौसला दिन नसक्ने हो भने नकारात्मक कुरा गरेर समस्या पनि नथपिदिए हुने।

मानसिक रोगलाई समाजले संकुचित रूपमा हेर्ने भएकाले निकट भन्दैमा सबैलाई आफ्नो समस्या भनिहाल्न पनि गाह्रो पर्छ। किनकि, तत्कालै ‘पागल’ करार गरिदिने, तर्किने, फरक नजरले हेर्नेहरू हुन्छन्। यसैले मन कुरा सुनाउन निकै विचार गर्नुपर्ने हुन्छ।

मैले पनि कतिपयलाई विश्वास गरेर मैले आफ्नो समस्या सुनाएको थिएँ। तर बदलामा उनीहरूबाट यस्ता कुरा सुन्नुपर्‍यो :

– एन्जाइटी के हो र! त्योभन्दा धेरै ठूलो तनाव त मैले भोगेको छु। जाबो त्यति कुरा सहन सक्दिनस्?

– औषधि खाने रे? फाल्दे औषधि, खानु हुँदैन। तैँले बढी तनाव लिएर यस्तो भएको हो। अन्ठसन्ठ सोचेर नबस्। केही कुराको पनि वास्ता नगर। बरु ध्यान गर्, योग गर्, घुमफिर गर्, मोजमस्ती गर् न। जिन्दगी बिन्दास भएर जिउनुपर्छ के।

-तेरो मुटु त कमजोर रैछ। भोग्दै, सहँदै जाने हो नि जिन्दगी त! यति जाबो कुरामा टेन्सन लिने हो? जीवनमा दु:ख, हैरानी कसको हुन्न र। हेर् त, हामीले म्यानेज गरिराखेकै छौँ त।

– अनावश्यक कुरा धेरै सोच्नाले तँलाई यस्तो भएको हो। केही नसोची आनन्दले बाँच् न। मलाई हेर्, कसरी बाँचिरहेको छु?

– ओहो तिमी ठीक छौ नि? साँच्चि हामी भेट्नुपर्ने, सरी है म त बिजी भएँ। मलाई यस्तो पर्‍यो, त्यस्तो पर्‍यो … …।

समस्या बताउँदा पनि रोग के हो भन्ने बुझ्न नचाहेपछि, यो कुनै रोग नै होइन भनेपछि सुरूमा त आममान्छेले जस्तै मैले पनि त्यसलाई सामान्य तनाव नै सम्झिएँ। तर त्यो तनाव शरीर, दिमाग, मुटुको गतिमा पस्दै गयो। निद्रा हरायो। भोक हरायो। आत्मविश्वास टुट्दै गयो। आँखामा उज्यालो थिएन। शरीरमा शक्ति थिएन। मनमा शान्ति थिएन। तर जिन्दगी जिउन दिनभरि काम गर्नैपर्ने बाध्यता थियो।

रातभरको अनिदोले शरीर गलित हुन्थ्यो। जिन्दगी ओइलाएको झारजस्तो भएको थियो। अरुको दिन बिहानको पूजापाठबाट सुरु हुन्थ्यो, मेरो चाहिँ रोएर। राम्ररी सुत्न नसक्ने समस्या दुई-तीन महिनासम्म भोगेँ।

बेचैन मन बाँध्नका लागि आफूलाई व्यस्त राख्न धेरै कोसिस गर्थेँ। किताब पढ्थेँ। सकिनसकी केही न केही लेखिरहन्थेँ।

दिनभर अफिसको कामले व्यस्त हुन्थेँ। त्यही बीचमा नेपाल टेलिभिजनको काम र स्नातकोत्तर तहको पढाइ चलिरहेको थियो। फुर्सदमा केही साहित्यिक कार्यक्रममा सहभागी हुन्थेँ। कहिलेकाहीँ नाटकघर पुग्थेँ। नेपाली फिल्ममा प्रिमियर शोहरूमा सहभागी हुन्थेँ। ती नाटक र फिल्मबारे मनमा लागेका कुरा लेखिहाल्थेँ।

यसरी आफूलाई व्यस्त राख्दाराख्दै पनि मन, मस्तिष्क र शरीरलाई सन्तुलनमा राख्न सकिरहेकी थिइनँ। एक्लो अनुभूति भइरहन्थ्यो। बेला बेला आफ्नै माया लाग्न छोड्थ्यो। घरीघरी निराशाको बादलमा रुमलिन्थेँ। आत्महत्याको विचार आउँथ्यो। तर, आँट जुटिहाल्थेन। आफैँलाई प्रश्न गर्थेँ- कविताका माध्यमबाट अरुलाई हिम्मत भर्ने, अधिकार, प्रेम र अस्तित्वको पाठ सिकाउने मैले आत्महत्या गर्नुहुन्छ? मनले जवाफ दिन्थ्यो- अहँ हुँदैन।

मेरी १५ वर्षकी छोरी छे। छोरीकै मुख हेरेर पनि त्यस्ता कुविचारलाई पन्छाउँथेँ। छोरीका लागि पनि मैले बाँच्नुपर्छ, उसका लागि गर्नुपर्ने धेरै बाँकी छ भनेर भविष्यमुखी भएर जिम्मेवारीको रेसामा आफूलाई अड्याउन खोज्थेँ। जीवनमा हार्नु हुँदैन, म कायर होइन, अझै धेरै काम गर्नु छ, धेरै लेख्नु छ भनेर आफैँलाई हौसला र ऊर्जा दिन्थेँ। जिउनका लागि सामाजिक सञ्जालमा खोजी खोजी संसारका एकसेएक उत्प्रेरक व्यक्तिका जीवनकथा सुनेँ, पाकिस्तानी मुनिबा मजारीदेखि भारतीय अरुणिमा सिन्हासम्म।
स्नातकोत्तर तहको छुटेको ६/७ वर्ष भइसकेको थियो। त्यो पूरा गर्ने धोको थियो। पढाइ अगाडि बढाइरहँदा मानसिक स्वास्थ्य समस्याले छोपेको थियो। सकिनसकी आफूलाई अध्ययनमा केन्द्रित गर्न खोजेँ। अन्तिम सेमेस्टरको परीक्षा हुँदै गर्दा धेरै गाह्रो भयो। अनिद्राले पिरोलेको महिनौँ भइसकेको थियो।

मानसिक तनावका सुरुआती लक्षण देखिएपछि एक वर्षअघि नै डाक्टरकहाँ पुगेकी थिएँ म। ‘मिक्स्ड एन्जाइटी-डिप्रेसिभ डिसअर्डर’ निदान भएको थियो। डाक्टरले यस्तो बेला परिवार र साथीभाइको माया र साथ धेरै चाहिने बताए। केही औषधि सिफारिस पनि गरे। ती औषधि लिएर आएँ।

हामीले आफूलाई के सोच्छौँ र कस्तो देख्छौँ भन्ने कुराले मात्र जीवनमा फरक पार्छ।

केही साथीलाई आफ्नो कुरा सेयर गरेँ। तिनले ‘तिमीलाई मानसिक रोगसोग लागेकै होइन, यस्तो औषधि नखाऊ फाल्देऊ’ भने।

मान्छेले यसै पनि आफूलाई कुनै आपत आइलागेको, स्वास्थ्य समस्या आएको कल्पनै गर्दैन। झन् यो त बाहिर असर नदेखिएको समस्या थियो। साथीहरूको कुराले मलाई पनि होला त नि भनेर वास्तविक समस्याबाट भाग्ने बहाना मिल्यो। उनीहरूकै लहैलहैमा लागेर औषधि पन्छाएँ, ध्यान, योग र घुमघामतिर समय लगाएँ। तर त्यसले त मेरो समस्या निको हुनुसाटो झन् बढ्दै गयो।

एकातिर बिसन्चो चरम अवस्थामा पुगेको, अर्कोतिर परीक्षाको चिन्ता। काम र दैनिक जीवनका तानाबाना छँदै थिए।

अति भएपछि डाक्टरलाई देखाएँ। एन्जाइटी र निद्रा लाग्ने औषधि दिए।
ओषधि हाइ डोजको रहेछ। परीक्षाको बेला १२/१५ घण्टासम्म उठ्नै नसक्ने गरी निदाउँथेँ।
लट्ठिएको जिउ, नशा लागेजस्तो दिमागको हाल। बिहान एकछिन एक झलक किताब हेरेर परीक्षा दिन जान्थेँ। स्कुटी चलाएर परीक्षा हलसम्म कसरी पुग्थेँ, पत्तो पाउँदिनथेँ। त्यहाँ पुगेपछि अडिन र उभिन पनि सक्दनथेँ। भुइँमै थ्याच्च बस्थेँ। प्रश्नका उत्तर अलिअलि के के लेख्थेँ, याद हुन्नथ्यो।

त्यस्तो अवस्थामै परीक्षा सकेँ। तर धन्न रिजल्ट राम्रो आयो।

आफ्नो मानसिक स्वास्थ्य बिग्रियताको एक वर्षमा म तीन-चारजना डाक्टरकहाँ पुगेँ। सबैले सकेको उपचार गरे, तर अन्तिममा मैले एकजना असल डाक्टर भेटेँ। कुनै पनि रोग निको पार्न औषधिले मात्र काम गर्दैन, डाक्टरको प्रस्तुति र व्यवहारले पनि ठूलो भूमिका खेल्छ। झन् मानसिक रोगको उपचारमा त डाक्टरको काउन्सिलिङ र संवेदनशील व्यवहार धेरै महत्त्वपूर्ण हुन्छ। मैले त्यस्तै व्यवहार गर्ने डाक्टर भेटेँ।

राम्रा उपचार गर्ने मनोचिकित्सक अनलाइनमा खोजबिन गर्ने क्रममा ती डाक्टर फेला परेका थिए। उनी मेरो फेसबुक साथीको सूचीमा पनि रहेछ्न्। कवि पनि लेख्ने रहेछन्।
मैले बिहानै मेसेज गरेँ- बिरामी छु, भेट्न चाहन्छु भनेर।

उनले आउनू भने।
त्यस अघिदेखि औषधि त खाँदै थिएँ, तर मेरो उपचार गरिरहेका डाक्टरले काउन्सिलिङ गर्ने, उत्प्रेरणा जगाउने खासै गर्दैन थिए। त्यसैले चित्त बुझिरहेको थिएन।

यी डाक्टरसँग समय तय गरेर भेट्न गएँ। उनको क्लिनिकमा २०/३० जनाको भीड देखेर अनौठो लाग्थ्यो। आफू बिरामी भएर मानसिक रोगको उपचार गर्ने ठाउँमा पुगेपछि मात्र थाहा पाउँदै थिएँ, यस्तो समस्या भएका त बग्रेल्ती रहेछन्। यो त समाजमा भुसको आगोजस्तै रहेछ।

डाक्टरले निकै समय लिएर सोधपुछ गरे। हामीले पाएको जीवनको सुन्दर पक्षबारे सम्झाए, ‘हामीले जस्तो जीवन जिइरहेका छौँ, यही जीवन संसारमा कैयौँ मान्छेले पाउन सकेका छैनन्। हामी पेशा-व्यवसायको जुन तहमा छौँ, यो कति मान्छेको सपना हुन सक्छ। हिजो आफैँले गरेको संघर्ष र आजको उपलब्धिको तुलना गर्नुस्। आफूभन्दा तल्लो वर्गका मानिसलाई हेरेर जिउने गरे आफ्नो साथमा के छ भन्ने थाहा हुन्छ। आफूले पाएको जीवनलाई बोझ र तनावको रूपमा लिने होइन, यसलाई त सदुपयोग गर्ने हो। आफूलाई व्यस्त राख्ने, खुसी मिल्ने कुरा गर्ने र राम्रा काम गरेर अरुको प्रेरणा बन्न सक्ने गरी जिउने हो। सबैभन्दा पहिला आफैँलाई माया गर्ने, अरुले आफ्नोबारे के भन्छ, कस्तो देख्छ र के सोच्छ भनेर वास्ता नगर्ने। खासमा त हामीले आफूलाई के सोच्छौँ र कस्तो देख्छौँ भन्ने कुराले मात्र जीवनमा फरक पार्छ। त्यसैले सकारात्मक भएर बाँच्ने हो।’

उनले मेरो समस्या, मनोदशा र भावना बुझेजस्तो लाग्यो। काउन्सिलिङमा पटक पटक उनका कुरा सुन्न थालेँ। मनन गर्न थालेँ। साथमा, उनले सिफारिस गरेका औषधि पनि नियमित रूपमा सेवन गरेँ। बिस्तारै निको हुँदै गएँ। आफ्नै जीवन र संसारलाई हेर्ने दृष्टि सकारात्मक बनाउँदै लगेँ। गत चैतयता कम डोजको औषधिले काम चल्न थाल्यो।

आफूलाई व्यस्त राख्ने, खुसी मिल्ने कुरा गर्ने र राम्रा काम गरेर अरुको प्रेरणा बन्न सक्ने गरी जिउने

मलाई सबैभन्दा धेरै बुझ्ने, माया गर्ने र डाक्टरपछिको अर्को डाक्टर चाहिँ मेरै छोरी हो। छोरीको कारण पनि मलाई यो अवस्था पार गर्न अलि सहज भयो। ऊ मेरी छोरी कम र साथी बढी छे। मेरो दु:ख-सुखको साथी उही हो।

बिरामी हुँदा आफू त रोएँ नै, उसलाई पनि धेरै रुवाएँ। मसँगै रुन्थी ऊ। रोगका कारण आफैँलाई सम्हाल्न नसकेर, आफ्नै समस्या नबुझेर हत्तुहैरान थिएँ म। ऊ भर्खरकी किशोरीले के बुझ्थी र! न त मैले नै उसलाई बुझाउन सकेँ।

पछि बिरामी भन्ने थाहा पाएपछि उसले मलाई धेरै सम्झाई। ऊ भन्थी, ‘मामु, आज हेरेर बाँच्ने हो, भोलि सम्झेर तनाव लिन हुन्न। सम्पत्ति, पैसा कमाउन सकिनँ भनेर पीर गर्नुहुन्छ भने त्यो व्यर्थ हो। किनकि आमाबाबुले कमाएको धनसम्पत्तिले कुनै पनि छोराछोरीलाई पुगेको छैन र पुग्दा पनि पुग्दैन। सकेको शिक्षा दिनु आमाबाबुको कर्तव्य हो। त्यसैले मेरो भविष्यको चिन्ता नलिनुस्। भोलि सोचेर तनाव लिने काम छैन। भोलि कसले देखेको छ र! आफ्नो बारेमा सोच्नुस्, आफ्नो लागि जिउनुस्, आफ्नो खुसी खोज्नुस्।’

यसरी एउटा जीवनको कहालीलाग्दो समय पार गरेर मैले जीवन जोगाउन सफल भएँ। तपाईंको घरमा या साथीसर्कलमा यस्ता बिरामी हुन सक्छ्न्। समयमै चिनौँ, बुझौँ, साथ दिऔँ, माया गरौँ, अँगालौँ। समय छँदै भावनात्मक मल्हम लगाएर, भरोसा दिएर उनीहरूको जिन्दगी जोगाऔँ। एउटा जिन्दगीले अर्को जिन्दगीलाई जोगाउनुजस्तो पुण्य यो संसारमा अर्को के छ र!
जिन्दगी र संसार सुन्दर छ।