काठमाडौँ। प्रहरीले श्रीधी अस्पताल लाजिम्पाटका डा. गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ।
पर्यटकको फेक रेस्क्यु गरी बिमा रकम दाबी गरेको प्रकरणमा संलग्न देखिएको भन्दै ४४ वर्षीय तिमिल्सिनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाई बिमा रकम दाबी गरेर गैरकानुनी रूपमा आर्थिक लाभ प्राप्त गरेको आरोपमा प्रहरीले ११ माघमा तीन कम्पनीका ६ जनालाई पक्राउ गरेको थियो।
पवर्तारोहण र ट्रेकिङका क्रममा हुनसक्ने दुर्घटना, स्वास्थ्यमा समस्या र प्राकृतिक विपद् आईपर्दा पर्यटकलाई गर्नुपर्ने बाध्यात्मक परिस्थिति वा अवस्थामा प्रयोग हुने रेस्क्यु फ्लाइट सञ्चालन गर्ने कम्पनी तथा व्यक्तिमाथि अनुसन्धान गर्ने सिलसिलामा चिकित्सक पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेको अभिलेखको विवरणलाई थपघट तथा किर्ते गरी सोहीअनुसारको बिल तयार गर्ने, उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई अनिवार्य रूपमा इन्स्योरेन्स नीतिमा उल्लेख भएको सर्तबमोजिम काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाएर ठगी गरेको आरोपमा प्रहरीले तीन कम्पनीका ६ जनालाई पक्राउ गरेको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्युमा संलग्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल र विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक रवीन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरिएन्स एन्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुवास केसी थिए।
पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतका कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।