काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

आईसीसी टी-ट्वेन्टी विश्वकप

इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो

२५ माघ २०८२
अ+
अ-

काठमाडौं। आईसीसी टी-ट्वेन्टी विश्वकपमा दुईपल्टको विजेता इङ्ल्यान्डसँग जितनजिक पुगेर पनि नेपाल पराजित भएको छ। मुम्बईस्थित वाङखेडे रंगशालामा आइतबार भएको समूह ‘सी’ को पहिलो खेलमा नेपाल ४ रनले पराजित भएको हो।

इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। नेपालका लोकेश बमले अविजित रहँदै ३९ रन बनाए। २० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। नेपाललाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। तर, नेपालले ६ रन मात्र बनाउन सक्यो। योसँगै नेपाल पराजित हुन पुग्यो।

उनीबाहेक दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। २९ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेल ३९, कुशल भुर्तेल २९ रनमा आउट हुँदा आरिफ सेखले १० रनको योगदान दिए।

इङ्ल्यान्डका लियाम डसनले सर्वाधिक २ विकेट लिए। लुक वुड, जोफ्रा आर्चर, विल ज्याक र साम करनले समान १ विकेट राखे।

त्यसअघि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकसँगै इङ्ल्यान्डले आईसीसी टी-ट्वेन्टी विश्वकपमा नेपाललाई १८५ को दिएको थियो। पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

इङ्ल्यान्डका ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए। ३५ बल खेलेका उनले समान ४ चौका र छक्का प्रहार गरे। ह्यारी ब्रुकले ३२ बलमै ४ चौका र ३ छक्कासहित ५३ रन बनाए। जोश बटलर २६ रनमा आउट हुँदा विल ज्याक्स ३९ रनमा अविजित रहे।

नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट राखे।