काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

आईसीसी टी-ट्वेन्टी विश्वकप

आईसीसी टी-२० विश्वकपमा शक्तिशाली राष्ट्र इङ्ल्यान्ड नेपालविरुद्ध असहज स्थितिमा पुग्यो।

२५ माघ २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। मुम्बईको वानखेडे स्टेडियममा आइतबार भएको समूह ‘सी’ को खेलमा दुईपल्टको विश्वविजेताविरुद्ध नेपाल अन्तिम बलसम्म जितको दौडमा थियो। तर, चार रनले पराजित भयो। स्कोरलाइनले हार देखाए पनि प्रदर्शनले नेपाल कमजोर टोली नरहेको संकेत देखायो।

तेस्रोपल्ट विश्वकप खेलिरहेको नेपालले १८५ रनको लक्ष्य पछ्याएको थियो। भलै विश्वकपमा नेपालको यो ठुलो रन चेज थियो। तर, सुरुआतदेखि नै दबाबमुक्त र योजनाबद्ध क्रिकेट खेल्यो। पावरप्लेमा जोखिमसँगै रन बटुल्ने रणनीतिले इङ्ल्यान्डका बलरहरूलाई लगातार रक्षात्मक बनायो।

कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ३७ रन जोड्दै लक्ष्य पछ्याउन सकिने आधार तयार गरेका थिए। तर, तेस्रो ओभरमा आसिफ शेख लियाम डसनको बलमा आउट भए भने ५.२ ओभरमा ४२ रन हुँदा कुशल भुर्तेल विल ज्याक्सको बलमा आउट भए। दुई प्रारम्भिक विकेट गुमेपछि नेपाल दबाबमा देखिएको थियो। तर, त्यसपछि आएको साझेदारीले खेलको दिशा परिवर्तन गर्‍यो।

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाल्दै रन गति नियन्त्रणमा राखे। दुवैबीचको ८२ रनको साझेदारी नै नेपाललाई खेलमा टिकाइराख्ने निर्णायक पक्ष बन्यो। दीपेन्द्रले आक्रामकता देखाउँदा रोहितले ‘स्ट्राइक रोटेसन’ गरिरहे। सही समयको प्रतीक्षा गर्दै नेपाललाई अगाडि बढाए।

नेपाल अन्तिम पाँच ओभरमा आवश्यक रनरेटको दायराभित्रै थियो। खेलपछि रोहितले ब्रोडकास्टरसँग भने,‘हामी अन्तिम पाँच ओभरका लागि विकेट जोगाएर जान चाहन्थ्यौँ। प्रतिओभर १०-१२ रन निकाल्ने योजना थियो।’

तर, १५औँ ओभरमा दीपेन्द्र साम करनको बलमा टम बन्टनद्वारा क्याच आउट भएपछि खेल इङ्ल्यान्डतर्फ मोडिन थाल्यो। २९ बलमा ४४ रन बनाएका दीपेन्द्रको विकेटसँगै नेपालको आक्रामक विकल्प सीमित भयो। टिकेर खेलिरहेका रोहित पनि ३९ रनमा आउट भएपछि भने नेपाल जितबाट बाहिरिएजस्तो बनेको थियो।

तर, लोकेश बमको आक्रामक इनिङ्सले भने नेपाल पुन: खेलमा फर्कियो। नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सलाई सुरुआति खेलमा जित दिएका उनी त्यसपछिका खेलमा ‘फ्लप’ साबित भएका थिए। यद्यपि, प्रतियोगिताभर एक अर्धशतकसहित १७० रन बनाएका उनलाई मुख्य प्रशिक्षक स्टुअर्ट लले विश्वास गर्दै टोलीमा फर्काए।

आइतबार पनि सन्दीप जोरालाई बेन्चमा राख्दै लोकेशलाई नै उनले प्रयोग गरे। त्यसमा खरो उत्रिएका उनले २० बलमा ३९ रन बनाए। अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन आवश्यक थियो। तर, उनले अन्तिम दुई बलमा आवश्यक बाउन्ड्री प्रहार गर्न सकेनन्। अन्तिम ६ बलमा जम्मा ६ रन आउँदा नेपाल जितनजिक पुगेर पराजित हुन पुग्यो।

यो पनि…

वाङखेडे स्टेडियममा टिम नेपाल [फोटो फिचर]

‘परिणामको हिसाबले यो खेल हाम्रो बाटोमा गएन। तर, प्रयासको हिसाबले हामीले १०० प्रतिशत दियौँ। इङ्ग्ल्यान्डले पनि डेथ बलिङसँग संघर्ष गरिरहेको थियो। तर साम करनले साँच्चै राम्रो बलिङ गरे,’ रोहितले भने।

यसअघि इङ्ल्यान्डले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। युवा ज्याकोब बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतकको योगदान दिए। ज्याकोब बेथेलले कुशल भुर्तेलको बलमा दुई छक्का प्रहार गर्दै ३५ बलमा अर्धशतक पूरा गरे।

उनले चार चौका र चार छक्का प्रहार गर्दै ५५ रन बनाएका थिए। विश्वकपमा अर्धशतक बनाउने बेथेल इङ्ल्यान्डका सबैभन्दा कान्छा खेलाडी बनेका छन्। उनी नेपालविरुद्ध यो उपलब्धि हासिल गर्दा २२ वर्ष तीन महिना १६ दिनमा थिए।

कप्तान ब्रुकले ३२ बलमा ५३ रन बनाए। उनले चार चौका र तीन छक्का प्रहार गरे। तर, नेपालले पावरप्लेमा राम्रो सुरुआत गरेको थियो। त्यतिखेर इङ्ल्यान्डको दुई विकेट लिँदै ५७ रनमा रोक्यो। ‘डेब्यु’ खेलेका शेर मल्लले पहिलो बलमै ओपनर फिल्ड साल्टलाई एक रनमै सन्दीप लामिछानेबाट क्याच गराए।

अर्का ओपनर जोस बटलरलाई भने अनुभवी पेसर सोमपाल कामीको स्थानमा खेलेका नन्दन यादवले विकेट किपर आसिफ शेखबाट २६ रनमा क्याच गराए। टम ब्यान्टन दुई रनमै बोल्ड भए पनि ब्रुक र बेथेलको ४५ बलमा ७१ रनको साझेदारीले भने नेपाल दबाबमा पर्‍यो।

बेथेल दीपेन्द्रको बलम लोकेशबाट आउट हुँदा नै इङल्यान्ड १३.४ ओभरमा ४-१२८ को स्थितिमा पुगिसकेको थियो। तर, नियन्त्रणमा रहेको खेलको दिशा भने विल ज्याकले मोडे। १८ बलमा एक चौका र ४ छक्कासहित उनले अवजित ३९ रन जोडे।

त्यसमध्ये ३५ रन त उनले अन्तिम तीन ओभरमा लिएका हुन्। त्यसमा पनि तीन छक्का। ‘अन्तिम तीन ओभरमा ४५ रन गयो। पछि सोच्दा हामी त्यो क्षेत्रमा अझ राम्रो गर्न सक्थ्यौं। डेथ ओभरमा योर्कर र स्लो बाउन्सर प्रहार गर्न सजिलो हुँदैन। तर, हामीले त्यहाँ केही कमजोरी गर्‍यौं। हामी यसबाट सुधार गर्छौं,’ रोहितले भने।

नेपालको बलिङमा सन्दीप लामिछाने प्रभावशाली रहे। उनले चार ओभरमा २५ रन खर्चेर टिमलाई नियन्त्रणमा राखे र टम बेन्टानलाई दुई रनमा एलबीडब्ल्यू आउट गरे। दीपेन्द्रले साम करनलाई दुई रनमा बोल्ड गर्दै खेलमा मोडेका थिए। तर, अन्तिम तीन ओभरमा कुशल भुर्तेल तथा नन्दन यादवले समान १२ र करण केसीले २१ रन दिँदा नेपालले विशाल लक्ष्य पाएको थियो। यो नै नेपालको हारको कारण बन्यो।

खेलपछि वानखेडे स्टेडियममा नेपाली समर्थकको उपस्थितिले सबै ध्यान खिच्यो। यो खेल हेर्न करिब १७ हजार दर्शक उपस्थित भएका थिए। अन्तिम बलसम्म पनि आएको चर्को हुटिङले इङ्ल्यान्डका खेलाडीलाई दबाबमा राख्यो।

यसप्रति कप्तान रोहित कृतज्ञता देखिए। उनले भने, ‘आज यहाँ हेर्दा पूरा नेपाल हामीसँगै आएकोजस्तो लाग्थ्यो। आज हामीले सबैथोक दियौँ। मलाई लाग्छ पूरा नेपालले हामीमाथि गर्व गर्नेछ।’

आईसीसी टी-२० : डेब्यु खेलमै विकेट