काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले क्रिकेटले नेपाललाई राष्ट्रिय एकता, पहिचान र सम्भावनाको बाटो देखाएको बताएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले क्रिकेटको सफल यात्रालाई सदनसम्म जोडेर व्याख्या गरेका हुन्।
उनका अनुसार सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप क्रिकेट खेलेको थियो। बंगलादेशमा सम्पन्न उक्त प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। त्यस विश्वकपमा हाल समानुपातिक सांसदका उम्मेदवार ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए।
बालेन शाहले आजदेखि नेपालले तेस्रो पटक विश्वकप क्रिकेट खेल्न लागेको उल्लेख गर्दै क्रिकेटले देशलाई जोड्ने, खुशी दिने र अन्तर्राष्ट्रिय रूपमा नेपाल र नेपालीलाई चिनाउने माध्यम बनेको बताएका छन्। साथै क्रिकेटले व्यवसायिक सम्भावनासमेत देखाएको उनको भनाइ छ।
उनले क्रिकेटको आगामी दिशा, लक्ष्य र रणनीतिक जिम्मेवारी पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई दिइएको जानकारी गराउँदै मल्लको अनुभव, अनुशासन र नेतृत्व क्षमताले नेपाली क्रिकेट र समग्र खेलकुद विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
सन्देशको अन्त्यमा बालेन शाहले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण खेलाडीलाई शुभकामना दिँदै “सिंगो देश तपाईंहरूको साथमा छ” भन्ने सन्देश दिएका छन्।