नेपालगञ्ज । बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरी मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत स्थानमा आजसम्म ती हातहतियार बुझाइएको जानकारी दिए ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो । बुझाइएका हातहतियारमा भरुवा बन्दुक बारबोरलगायत रहेका छन् ।
यसैबीच बाँकेमा मतदाता शिक्षाका गाउँगाउँ पुर्याइने तयारी गर्न थालिएको छ । प्रतिनिधिसभा सदस्य २०८२ का निम्ति जिल्लामा रहेका आठ स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षाका लागि गाउँगाउँ पुर्याउन थालिएको हो ।
बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता शिक्षाका लागि स्थानीय तहमा स्वयंसेवक परिचालन गर्न पत्राचार भइसकेको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्लाका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन हुने बताए ।
“निर्वाचन आयोगबाट कार्यक्रम आइसकेको छ, केही प्राविधिक काम बाँकी छ, त्यसपछि हामी मतदाता शिक्षा कार्यक्रम सुरु गर्छौँ,” उनले भने। निर्वाचन अधिकारी शाहीका अनुसार मतदाता शिक्षाका लागि केही दिनमा सम्पर्क व्यक्तिलाई तालिम प्रदान गरिने र सम्पर्क व्यक्तिले पुनः स्थानीय तहका वडामा भएका स्वंयसेवकलाई तालिम दिएर मतदाता शिक्षा गाँउगाउँ तथा टोल टोल पुर्याउने लक्ष्य लिइएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । जिल्लामा एक सय ३९ मतदानकेन्द्र र चार सय मतदानस्थल रहेका छन् ।