काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

मधेस

भोट माग्न घरदैलोमा व्यस्त उम्मेदवारसँग मल अभावले मधेसको बालीनाली संकटमा परेको किसानको गुनासो

२७ माघ २०८२
अ+
अ-

धनुषा क्षेत्र नम्बर ३ भित्र पर्ने नगराइन नगरपालिकाको गंगुली पश्चिमबारी टोलका गेनालाल साहले विगतमा चुनाव जितेका नेता चुनावपछि आफ्नो हालखबर सोध्न आएको देखेका छैनन्। चुनावअघि भने उनको टोलमा उम्मेदवारको ओइरो लाग्छ। २१ फागुनको चुनावका लागि भोट माग्न अहिले हरेक दिन स्वतन्त्र तथा विभिन्न दलका उम्मेदवार गाउँ आउन थालेका छन्। उनी भन्छन्, “हामीलाई भेट्न आउने नेतालाई भोटको चिन्ता छ, हामीलाई चाहिँ मल अभावले खेतीपाती संकटमा परेको चिन्ता छ। त्यसैले हामी भोट माग्न आउने नेतासँँग मल मागिरहेका छौँ।”

नेपाली कांग्रेसका तर्फबाट धनुषा ३ का उम्मेदवार विमलेन्द्र निधि।

पश्चिमबारी टोलका ६० वर्षीय मकसुदन साहुको गुनासो पनि गेनालालको जस्तै छ। त्यस गाउँमा मोटर बाटो पुगेको छ, तर चुनावबाहेक अरू बेला किसानको समस्या सुन्ने र समाधान खोज्ने नेता भने बिरलै पुग्छन्। त्यसैले मकसुदनजस्ता किसानले हरेक वर्ष मल अभाव झेल्नुपरिरहेको छ। गाउँबाट पाँच किलोमिटर दक्षिणमा रहेको भारतीय बजार उमगाँवबाट पश्चिमबारीका किसानले पाँचसात किलो मल किनेर ल्याउने गरेका छन्। तर, भारतबाट यसरी मल ल्याउँदा सीमा प्रहरीको केरकार र अवरोध झेल्नुपरेको छ।

गाउँमा मोटर बाटो पुगेको छ, तर चुनावबाहेक अरू बेला किसानको समस्या सुन्ने र समाधान खोज्ने नेता भने बिरलै पुग्छन्।

“निर्वाचनको समयमा नेताले गाउँ आएर आश्वासन दिने गरेको म जन्मेदेखि नै हो। तर, मल नभएर खेती गर्न नपाएको समस्या सधैँ उस्तै छ,” मकसुदन भन्छन्। त्यस गाउँका हजारी साह पनि प्रतिनिधिसभाको चुनावका कारण उम्मेदवारलाई भोट माग्ने चटारो भए पनि किसानहरूलाई भने मल र सिँचाइकै संकट रहेको बताउँछन्। केही समयअघि गाउँमा ५० केभीको ट्रान्सफर्मर चोरी भएपछि सिँचाइका लागि विद्युत्‌को समेत अभाव हुन थालेको छ,” साह भन्छन्, “किसानको दु:ख सुन्ने कोही भएन।”

गाउँ बस्ती।

त्यसो त धनुषा क्षेत्र नम्बर २ पौडेश्वरका किसानको खेतमा अहिले गहुँ खेती छ। तर, त्यहाँ पनि मलकै अभाव छ। कतिसम्म भने, स्थानीय किसान पल्टी महराले जम्मा दुई कट्ठा खेतमा लगाएको गहुँ पनि मल अभावमा पहेँलो हुन थालेको छ।

सिँचाइ र मल अभाव धनुषाको मात्र होइन, मधेसका आमकिसानको साझा समस्या हो। तर, अहिलेसम्म त्यसलाई एकीकृत रूपमा समाधान गर्ने प्रयास नै गरिएको छैन। धनुषाको मिथिला नगरपालिका ३ का किसान रामपुकार यादव भन्छन्, “चुनावमा नेताजीहरू घरमा आएर हामीलाई ढोग्नुहुन्छ, तर हाम्रो पीडा सुन्नुहुन्न। यसपालि पनि गहुँ छर्ने बेला मल पाइएन।”

नेकपा (एमाले)का तर्फबाट धनुषा ३ की प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो।

सरकारले गएको वर्ष मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। तर, सुक्खाग्रस्त क्षेत्रका किसानले अहिलेसम्म न क्षतिपूर्ति पाए, न सिँचाइको प्रबन्ध नै गरियो। “हरेक वर्ष उही पीडा खेप्नु हाम्रो नियति भएको छ,” धनुषा क्षेत्र नम्बर १ को कमला नगरपालिका ३ दास टोलका किसान सोगारथ मुखिया भन्छन्।

चुनावमा मत माग्न आएका उम्मेदवारले स्वदेशमै मल कारखाना खोल्नेदेखि किसानलाई प्रत्यक्ष अनुदान दिनेसम्मका आश्वासन बाँड्ने गरेका छन्।

मधेसको करिब ९० प्रतिशत जनसंख्या कृषिमै निर्भर छ। तर, त्यहाँका किसानको समस्या हल गर्न चुनावको बेला किसानसँग भोट माग्न आउने उम्मेदवारले नै अग्रसरता देखाउँदैनन्। महोत्तरी रामगोपालपुर-२ का अगुवा किसान मोहम्मद कादिर हुसैन भन्छन्, “भोट माग्न आउने सबैजसो दलका नेतासँग हामी सधैँ आफ्ना माग राख्छौँ, सबैले हुन्छ भन्छन्, समाधान कहिले गर्दैनन्।”

चुनावमा मत माग्न आएका उम्मेदवारले स्वदेशमै मल कारखाना खोल्नेदेखि किसानलाई प्रत्यक्ष अनुदान दिनेसम्मका आश्वासन बाँड्ने गरेका छन्। यसपालि पनि उम्मेदवारले यिनै आश्वासन बाँडेका छन्। तर, किसानले उम्मेदवारहरूका यस्ता आश्वासनलाई हावादारी भन्न थालेका छन्। “चुनावको मुखमा मल कारखाना खोल्ने चर्चा हुन्छ। तर, चुनाव सकिएपछि नेताजति काठमाडौँतिर लाग्छन्। हामी फेरि रित्तो गोदाम कुरेर बस्नुपर्छ, मल नपाएपछि भारतीय बजार धाउनुपर्छ।” सर्लाही बलराका किसान मकसुदन महतो बताउँछन्।

भैँसी डोर्‍याउँदै एक महिला।

२१ फागुनको प्रतिनिधिसभा चुनावमा मधेस प्रदेशमा मात्र ५५४ जना स्वतन्त्रसहित एक हजार २७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यीमध्ये कैयौँ उम्मेदवार मतदातासँग मत मागिरहेका छन्। तर, भोट माग्न आफ्नो घरदैलोमा आएका उम्मेदवारलाई मधेसका किसानले मल र सिँचाइको व्यवस्था मिलाउन आग्रह गरेका छन्।

कृषि गणना, २०७८ अनुसार मधेस प्रदेशमा करिब सात लाख ३८ हजार ३४० कृषक परिवार छन्। प्रदेशका कुल परिवारको करिब ६८.८ प्रतिशत खेतीपातीमा संलग्न छन्। करिब ६४.३ प्रतिशत मानिसको मुख्य आम्दानीको स्रोत नै कृषि हो। तर, मधेसको खेतीयोग्य जमिनमध्ये करिब ४९ देखि ५७ प्रतिशतमा मात्र पूर्ण वा आंशिक सिँचाइको पहुँच छ।

मधेसमा करिब तीन लाख ८४ हजार हेक्टरमा धान खेती हुन्छ। यो देशको कुल धान उत्पादनको करिब २५ प्रतिशत हो। मधेसमा करिब दुई लाख ४७ हजार हेक्टरमा गहुँ खेती हुन्छ।