काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोगको स्क्रिनिङ (रोग पहिचान गर्ने काम) अभियान सुरुआत गरेको छ।

उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोग पहिचान भएका बिरामीको स्वास्थ्य शिविर आयोजना गरेर निःशुल्क उपचार गर्न नगरपालिकाले स्क्रिनिङ अभियान थालनी गरेको हो।

आगामी चैत पहिलो हप्तासम्म सञ्चालन हुने स्क्रिनिङ अभियानको पहिलो दिन ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। दिक्तेलस्थित नगरपालिकाको सभाहलमा आयोजित स्क्रिनिङ अभियान शुभारम्भ कार्यक्रममा सहभागी भएर स्वास्थ्य परीक्षण गराउनेमध्ये चार जनाको रक्तचाप बढेको र सात जनामा पिसाबसम्बन्धी समस्या देखिएको जनाइएको छ।

पिसाबसम्बन्धी समस्या देखिएकालाई मिर्गौला परीक्षण गराउन जिल्ला अस्पताल दिक्तेल जान सल्लाह दिइएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए। “अभियानका क्रममा सङ्कलन भएका तथ्याङ्कको प्रतिवेदन चैत ३ गतेभित्र नगर स्वास्थ्य शाखामा बुझाउन सबै स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ।

स्क्रिनिङ अभियान सम्पन्न भएपछि आगामी चैत ५ र ६ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेका छौँ”, उनले भने, “नगरपालिकाको अगुवाइमा सञ्चालन हुने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकसहितको टोली सहभागी हुनेछन्।

दिक्तेलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा सञ्चालन हुने शिविरमा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि चाबहिल काठमाडौँले प्राविधिक सहयोग गर्ने भएको छ।”

नगरपालिकाभित्रका सबै वडामा सञ्चालन हुने अभियानमा राजनीतिक दल, नागरिक समाज, विद्यालय परिवार, कर्मचारी तथा ३० वर्षमाथिका नगरवासीलाई अनिवार्य स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ।

नगरपालिकाले सुरु गरेको स्क्रिनिङ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै वडा कार्यालय तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वभर कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएकामा हाल यो दर बढेर ७१ प्रतिशत पुगेको छ। नेपालमा पनि उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोगको प्रकोप तीव्रगतिमा बढ्दै गएको छ।

यसैबीच, यही माघ २८ देखि फागुन १ गतेसम्म जिल्लाभर पाठेघरको मुखको क्यान्सर नियन्त्रणसम्बन्धी एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ। अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने जनाइएको छ।