काठमाडौँ। नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाट खाना पकाउने ग्यास बिक्री वितरण सुरु गरेको छ।
बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यास टेकुबाट लिन सक्ने व्यवस्था मिलाईएको हो।
प्रवक्ता ठाकुरले नेपाल ग्यासको वितरण सुरु भइसकेको र एभरेस्ट र सुगम ग्यासको काउन्टर पनि तत्काल सञ्चालनमा आउन लागेको बताए।
उनले भने, ‘जसलाई ग्यास अत्यावश्यक छ र आफ्नो डिलरबाट पाउनुभएको छैन, उहाँहरूले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आई सहज रूपमा ग्यास लिन सक्नुहुन्छ।’
बजारमा ग्यासको अभाव सिर्जना भएको हल्लाको पछि नलाग्न बताउँदै उनले आयात र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे।
प्रवक्ता ठाकुरले भन्सारको तथ्याङ्क अनुसार माग बमोजिम नै ग्यास आयात भइरहेको स्पस्ट पारे।