काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित भएको नेपाल जितको खोजीमा अहिले अभ्यासमा केन्द्रित छ।
नेपाल र इटालीबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। विश्वकपमा नेपालका सबै खेल सोही मैदानमा हुँदैछन्।
पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमै सीमित भएको थियो। अन्तिम क्षणसम्म प्रतिस्पर्धात्मक खेल देखाए पनि नेपाल चार रनले चुकेको हो।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको यस विश्वकपका समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ। विश्वकप इतिहासमा हालसम्म जित निकाल्न नसकेको नेपालले इटालीविरुद्ध ऐतिहासिक पहिलो जित दर्ता गर्ने लक्ष्य लिएको छ।
नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकप खेलेको थियो। त्यसपछि दोस्रो पटक विश्वकप खेल्न नेपालले १० वर्ष कुर्नुपर्यो। सन् २०२४ को संस्करणमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति मजबुत बनाएको थियो। विशेषगरी दक्षिण अफ्रिकासँगको खेलमा नेपाल एक रनले पराजित भएको थियो।
हालसम्म दुई पटक विश्वकप खेलिसकेको नेपाल समूह चरण पार गर्न भने सफल भएको छैन। यस संस्करणमा पनि टोली रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ। सोमपाल कामी तीन विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
समूह ‘सी’ मा रहेको नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। इंग्ल्यान्डसँग खेल्दै नेपालले आफ्नो अभियान सुरु गरेको हो।
बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले प्रतियोगितामा स्थान पाएको हो।
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।