नेपाल–इंग्ल्यान्ड भिडन्त
विश्व च्याम्पियन बलर साम करनका लागि नेपाललाई हराउनु अनौठो थिएन। तर, करनले नेपालसँगको खेललाई जीवनकै अविस्मरणीय मानेका छन्।
कोलोराडो, अमेरिका। घडीमा बिहानको ६ बज्यो। काममा ‘ब्रेक टाइम’ भयो।
म दौडिँदै ट्वाइलेट छिरेँ। क्रिकइन्फो खोलेँ। लाइभ अपडेट हेरेँ। एकछिन त ट्वाल्लै परेँ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य नेपालले सानदार तरिकाले पछ्यायो। खातामा १७९ रन देखियो। ६ विकेट चैट्।
म भाग्यमानी कहलिएँ। अन्तिम ओभर भए पनि हेर्न पाएँ। स्ट्राइकमा छन्, लोकेश बम। अर्कातिर पावर हिटर करण केसी।
बलिङमा साम करन। बम आफैँमा धमाका हुन्, तर उनीभन्दा घातक छन् करण। पाँच बलमा जम्मा चार रन। जित्नका लागि अझै ६ रन आवश्यक छ।
मुम्बईको पिच। बमको हिटिङ।
अन्तिम बलले फैसला गर्ने भयो। चौकाले पुग्दैन। केटोले छक्का हान्ला त? मेरो मनले सोध्यो।
छक्का हानेरै इंग्ल्यान्डको सातो खाएको रहेछ। अन्तिम बलमा पनि हाने हुन्थ्यो। यो कुरा आफ्नै मनले भन्नुअघि मुम्बईको वानखेडे रंगशालामा खचाखच भरिएका नेपाली दर्शक दुई हात जोडेर ‘लोकेश छक्का, प्लिज लोकेश छक्का’ भन्दै थिए।
म पनि कोलोराडोमा त्यही सोचिरहेको थिएँ। तर, यो काम गाह्रो छ। एक हिसाबले दुर्लभ।
करण र बमबीच कुरा भयो। म मोबाइलमा हेरिरहेको छु।
करन अन्तिम बल फाल्न तयार छन्। नेपालको भाग्य खुल्ने अन्तिम बलमा हो।
यसअघि धेरैपटक यस्तो भएको छ। पहिलोपटक एकदिवसीय मान्यता पाउने बेलादेखि जोगाउनेसम्म। यिनै करणले पटक पटक अन्तिम बलमा नेपाललाई जिताएका छन्। तर, आज उनी नन-स्ट्राइकमा छन्।
साम करनले बल फ्याँके। लो फुल टसमा। लोकेशले हान्न त हाने। तर, बाउन्ड्री गएन। छक्का भएन। मात्रै एक रन। लोकेश बम ३९ रनमा अविजित। करण एक रनमा।
नेपाल चार रनले पराजित।
इंग्ल्यान्डजस्तो च्याम्पियन टिमविरुद्ध सानदार ब्याटिङ। झन्डै झन्डै जितिसकेको खेल। प्राविधिक रूपमा मात्रै हार।
यो त दुई वर्षअघि अमेरिकामै दक्षिण अफ्रिकाविरुद्धको एक रनको हार ‘रिक्याप’ भयो।
इंग्ल्यान्डले खेल जित्यो। नेपालले मन। कसरी?
इंग्ल्यान्डजस्तो च्याम्पियन टिमविरुद्ध सानदार ब्याटिङ। झन्डै झन्डै जितिसकेको खेल। प्राविधिक रूपमा मात्रै हार। त्यो पनि अन्तिम ओभरको अन्तिम बलमा।
नेपालले इंग्ल्यान्डविरुद्ध जसरी खेल्यो, त्यो अविश्वसनीय हो। त्यसमा पनि जसरी रन बटुल्यो, जसरी चौका र छक्का हान्यो, त्यो झन् अविश्वसनीय हो।
चार वर्षअघि सन् २०२२ मा इंग्ल्यान्डले टी-२० विश्वकप जितेको थियो। फाइनलमा पाकिस्तानलाई हराउँदै विश्वकप जिताउने सामले नै आज नेपालविरुद्ध अन्तिम ओभर बलिङ गरेका थिए। विराट कोहली, बाबर आजमलाई पन्छाउँदै उनी त्यस प्रतियोगिताकै सफल खेलाडी घोषित भएका थिए।
उनै विश्व च्याम्पियन बलरका लागि नेपाललाई हराउनु अनौठो कुरा थिएन। तर, करनले नेपालसँगको खेललाई जीवनकै अविस्मरणीय खेल मानेका छन्।
फाइनल ओभरमा बल फाल्नुअघि करनलाई एकाएक सन् २०१६ मा भारतमा भएको टी-२० को फाइनलमा वेस्ट इन्डिजसँगको चार विकेटको पराजय सम्झना आउँछ। अन्तिम ओभरमा जितका लागि १९ रन चाहिने अवस्थामा बलिङका लागि बेन स्टोक्स आउँछन्। तर, आठौँ नम्बरमा ब्याटिङका लागि आएका कार्लोस ब्रेथवेट पहिलो चार बलमा प्रत्येकमा छक्का हानेर इंग्ल्यान्डको सपना धूलिसात् बनाइदिन्छन्।

साम करन र लोकेश बम।
‘मलाई अहिले पनि त्यतिबेला स्टोक्सलाई कार्लोसले कसरी सामना गरे होलान् सोच्दै पनि बडो विचित्र लाग्छ,’ नेपालविरुद्धको खेलमा टिमलाई स्तब्ध बन्नबाट जोगाएका करनले जितपछि भने, ‘त्यसैले पनि म सोचिरहेको थिएँ– मैले बललाई सही ठाउँमा फ्याँक्न सकेमा उनले (लोकेश बम) छक्का हिर्काउन सक्दैनन्, त्यही भएर म उनको खुट्टामा हेरिरहेको थिएँ, धन्न भनेजस्तै भयो, नत्र त हार कम्ती पीडादायी हुने थिएन।’
करनले नेपालको समग्र खेलसँगै अन्तिम ओभरमा हानेका केही सटको पनि प्रशंसा गरे। ‘ती सट साँच्चिकै सानदार थिए,’ उनले भने, ‘आइन्दा यी खेलाडीहरूलाई कम आँक्नु ठूलो भुल हुनेछ।’
सामको सफलता त्यतिमा मात्र सीमित छैन। उनले विराट कोहलीदेखि आईपीएलमा धोनीसम्मलाई प्रभावित गरेका छन्।
रगतमै क्रिकेट
साम करनको रगतमै क्रिकेट छ। उनका हजुरबुवा केभिन प्याट्रिक करन जिम्बाबेका राष्ट्रिय खेलाडी थिए भने बुवा केभिन माल्कोम करन पनि जिम्बाबेकै राष्ट्रिय खेलाडी र सन् २००५ देखि २००७ सम्म जिम्बाबेकै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक। बुवा केभिन इंग्ल्यान्डमा काउन्टी खेलिरहँदा त्यहीँ जन्मिएका सामका दाजु टम इंग्ल्यान्ड टोलीकै पूर्वखेलाडी हुन् भने अर्का दाजु बेन अहिले पनि जिम्बावेको राष्ट्रिय टोलीका सदस्य हुन्।
बाल्यकाल जिम्बाबेमै बिताएका सामको परिवार सन् २०१२ मा स्थायी बसोबासका लागि इंग्ल्यान्ड आएको थियो। सानै उमेरदेखि प्रतिभावान् साम सन् २०१६ मा पहिलोपटक इंग्ल्यान्डको अन्डर १९ राष्ट्रिय टोलीमा छानिएका थिए।
साम १९ वर्षकै उमेरमा इंग्ल्यान्डको राष्ट्रिय टोलीमा पनि छानिए। सुरुमा उनले पाकिस्तानविरुद्धको टेस्ट म्याचमा डेब्यु गरे।
नेपाली खेलाडी र सामको भेट बाङ्लादेशमा भएको त्यही प्रतियोगितामा भएको हुनुपर्छ, जहाँ इंग्ल्यान्डसँगै नेपालले पनि क्वार्टरफाइनल यात्रा तय गरेको थियो। समूह चरणको खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै सनसनी मच्चाएको नेपालको खेल इंग्ल्यान्डसँग भने परेन। तर, त्यसबेला टोलीमा रहेका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आरिफ शेख भने अहिले पनि खेलिरहेका छन्। आइतबारको खेलमा यी चारै खेलाडी मैदानमा उपस्थित थिए।
साम १९ वर्षकै उमेरमा इंग्ल्यान्डको राष्ट्रिय टोलीमा पनि छानिए। सुरुमा उनले पाकिस्तानविरुद्धको टेस्ट म्याचमा डेब्यु गरे। तर, उनलाई चिनाएको भारतविरुद्धको टेस्ट सिरिजले हो।
विराट कोहलीले त्यतिबेला तहल्का मच्चाइरहेको टेस्ट क्रिकेटमा करनको इन्ट्री भएको थियो। कोहलीको टिम भारत त्यतिबेला विश्वकै नम्बर एक थियो। र, इंग्ल्यान्डलाई उसकै घरमा हराउने लक्ष्य थियो।
तर, त्यसमा मुख्य बाधक बनेर करन उभिए। पाँच खेलको त्यो टेस्ट सिरिज इंग्ल्यान्डले ४-१ ले जित्यो। त्यो जिताउने अरू थिएनन, यिनै करन थिए।
‘प्लेयर अफ द सिरिज’ बनेका उनले भारतविरुद्धको दोस्रो र चौथो टेस्ट जिताएका थिए।
कोहलीले उत्कृष्ट ब्याटिङ गरेको त्यस सिरिजमा इंग्ल्यान्डबाट करनले सानदार क्रिकेट खेले। भारतका मोहम्मद सामी, इशान्त शर्मा, रविचन्द्रन आश्विन, रवीन्द्र जडेजाजस्ता दिग्गज बलरलाई निराश पार्दै इंग्ल्यान्डलाई झन्डै झन्डै हारेको खेल जिताएका थिए।
जो रुटले कप्तानी गरेको त्यस सिरिजमा करन उदीयमान क्रिकेटर बनेर निस्किए। ‘प्लेयर अफ द सिरिज’ बनेका उनले भारतविरुद्धको दोस्रो र चौथो टेस्ट जिताएका थिए। त्यस वर्ष उनले खेलेका सात टेस्टमा २५ विकेट लिए। अनि २७४ रन बनाए।
त्यसयता उनले आफ्नै दाइ टम करनलाई प्रतिस्थापन गर्दै इंग्ल्यान्डको राष्ट्रिय टोलीमा निरन्तर मौका पाउन थालेका हुन्। टिमलाई चाहिएको बेला बल र ब्याट दुवै चलाउन सक्ने उनी योर्करमा मिडियम पेस बलिङको जादु देखाउन माहिर छन्।
सन् २०१८ कै जुनमा उनले अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरे। टेस्ट र एकदिवसीय डेब्युको पाँच महिनापछि उनले न्युजिल्यान्डविरुद्धको सिरिजबाट टी-२० क्रिकेटमा डेब्यु गरेका हुन्।
खासगरी भारतविरुद्धको टेस्ट क्रिकेटमा जादु देखाएपछि उनी आईपीएलका मालिकहरूको नजरमा परे। सन् २०१९ को आईपीएलमा उनलाई पन्जाबले सात करोड भारुमा किन्यो।
पहिलो सिजनमा नौ खेल खेलेका उनले १० विकेट लिँदै ९५ रन जोडेका थिए। दिल्ली क्यापिटलविरुद्ध पहिलो सिजनमै ह्याट्रिक विकेट लिएपछि उनको चर्चा झन् चुलियो। आईपीएलमा ह्याट्रिक लिने उनी पहिलो र एक मात्रै इंग्लिस अलराउन्डर हुन्।
सन् २०२३ को आईपीएल मिनी-अक्सनमा पन्जाबले फेरि साम करनलाई १८ करोड भारुमा किन्यो।
त्यसपछि उनलाई महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टिम चेन्नईले किन्यो। त्यहाँ उनले तीन सिजन बिताए।
खासगरी सन् २०२२ को टी–२० विश्वकपमा अलराउन्डर प्रदर्शन गर्दै इंग्ल्यान्डलाई ट्रफी दिलाएपछि उनको चर्चा र लोकप्रियता झन् बढ्यो। अफगानिस्तानविरुद्ध उनले चार ओभरमा १० रन खर्चिंदै पाँच विकेट लिएर करियरकै उत्कृष्ट बलिङ फिगर पेस गरेका थिए।
सन् २०२३ को आईपीएल मिनी-अक्सनमा पन्जाबले फेरि साम करनलाई १८ करोड भारुमा किन्यो। त्यो मूल्य त्यतिबेला महँगो थियो। उनी त्यस वर्ष आईपीएलकै सर्वाधिक महँगा खेलाडी बने।
पन्जाबमा फर्किएपछि उनले कप्तानी पनि गरे। तर, टिमलाई धेरै अगाडि बढाउन सकेनन्। फेरि चेन्नई पुगेका उनले आउँदो आईपीएल राजस्थान रोयल्स टिमबाट खेल्नेछन्।
टेस्ट र एकदिवसीय सिरिज खेले पनि उनी टी-२० का उत्कृष्ट अलराउन्डर मानिन्छन्।
आइतबार मुम्बईमा नेपालविरुद्ध अन्तिम ओभर बलिङ गरेर इंग्ल्यान्डलाई जिताउँदा उनले आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गरेका छन्। पिचमा सेट भइसकेका ब्याटरलाई पनि बायाँहाते बलिङ गरेर आउट गर्न सक्ने क्षमताका उनलाई ‘डेथ ओभर विशेषज्ञ’ पनि भनिन्छ।
नेपालविरुद्ध जोफ्रा आर्चरजस्ता बलर महँगो साबित हुँदा करनले ‘म्याच विनिङ डेथ ओभर’ बलिङ गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा करनले २४ टेस्टमा ८१५ रन बनाउँदै ४७ विकेट लिएका छन्। एकदिवसीयमा ४१ खेलमा ६४२ रन जोड्दा ४२ विकेट हात पारेका छन् भने टी-२० मा ६६ खेलमा ४७१ रनका साथ सर्वाधिक ७१ विकेट लिएका छन्।