देशको नेतृत्व हाँक्ने योग्य हुन नै आफू मधेसमा चुनाव लड्न आएको कांग्रेस सभापति थापाको भनाइ
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही ४ लाई आफूले एक नम्बर बनाउन नसके जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्।
उनले बुधबार मधेसका ३२ वटा क्षेत्रमध्ये आफूले चुनाव उठेको क्षेत्रलाई एक नम्बर बनाएर छाड्ने दाबी गरे। उनले भने‚ “सर्लाहीमा म यतिकै चुनाव लड्न आएको होइन। मधेसका ३२ वटा क्षेत्र छन्। त्यसमध्ये अन्य क्षेत्रभन्दा मैले चुनाव लडेको क्षेत्रलाई एक नम्बर बनाउन सकिनँ भने म जुनसुकै मूल्य चुकाउन तयार छु। यो मेरो अन्य राष्ट्रिय नेताहरूलाई चुनौती पनि हो।”
आफू काठमाडौँबाट तीन-तीनपटक चुनाव जितेको मान्छे यत्तिकै मधेसमा चुनाव लड्न नझरेको उनले स्पष्ट पारे। उनले आफू मधेस बुझ्न नै यहाँ आएको बताए। साथै आफूले मधेस नबुझेसम्म देशको नेतृत्व गर्न योग्य नहुने कुरा पनि सपष्ट पारे।
उनले भने‚ “जुनदिसम्म म मधेस बुझ्न सक्दिनँ‚ त्यो दिनसम्म म यो देशको नेतृत्व हाँक्न सक्ने योग्य हुन्न भन्ने मैले बुझेको छु।”
सभापति थापाले मधेसको कृषि‚ सिँचाइ र शिक्षामा आमूल परिवर्तन भएको हेर्न चाहेरै मधेस झरेको समेत स्पष्ट पारे।