काठमाडौँ। आगामी २१ फागुनमा निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ पूरा भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार बिहीबारसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको हो।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक गरी ५८ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो। बुधबारसम्म ५३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो।
बिहीबार थप पाँच जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ। यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको न्यौपानेले बताए। हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। अहिले दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीका लागि गत २२ पुसदेखि मतपत्र छपाइ सुरु भएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सकेर विभिन्न जिल्लामा पठाइसकिएको छ।
गत २६ पुसदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी १३ माघमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सकेर प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ।
प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। १६ माघदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको हो।
कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाइयो मतपत्र
छपाइ भएको मतपत्र आजैदेखि आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ।
आयोगले आज (बिहीबार) कर्णालीका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए।