भोजपुर। जिल्ला निर्वाचन कार्यालयले मत बदर हुन नदिन आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
उक्त कार्यालयले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागेको हो।
मतदातालाई सही तरिकाले मतदान गर्ने विधि, निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा नागरिक कर्तव्यबारे जानकारी गराइने उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए।
मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत जिल्लाका ८१ वटै वडामा मतदाता स्वयंसेवक नियुक्त गरिएका छन्।
प्रत्येक वडामा खटाइएका स्वयंसेवकले घरघरमा पुगेर मतदातालाई सिकाउने छन्।
सार्वजनिकस्थल तथा सामुदायिक भवनमा समूहगत रूपमा पनि मतदानसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए।