म्याग्दी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन्।
अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवार भोट दिने युवा मतदाता बताउने गरेका छन्।
सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्मका मतदातामा काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको युवा मतदाता भवि शर्माको भनाइ छ । उनी भन्छन्, “चुनावको मौसममा उम्मेदवार र मतदाता दुवैका विचारहरू आइरहेका छन्।
विगतदेखि नै उम्मेदवारले झुटा आश्वासन र विकासे नारामा हामीलाई लोभ्याउँदै आएको अवस्थामा यस पटक त्यस्तो हुँदैन। देशका समस्या समाधान गर्ने स्पष्ट योजना भएको उम्मेदवारलाई रोज्छौँ, त्यसका लागि हामीले सचेत भएर हेरिरहेका छौँ।”
बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्री समाजमा विग्रह ल्याउने र गलत कुरा गरेर मत बटुल्ने सोचविरुद्ध आफू रहेको बताउँछन्। “हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । यस पटक पनि कतिपयले त्यस्तै गर्न खोजिरहेका छन्, तर हामी सचेत छौँ। अब समाजलाई भ्रमित बनाउने र झुट्टा आश्वासन दिने उम्मेदवारलाई भोट दिँदैनौँ । जनताको दुःख बुझ्ने र काम गर्ने मान्छेलाई रोज्छौँ”, उनले भने।
मङ्गला गाउँपालिका–५ का किसान हरिकृष्ण पौडेलले देशमा सबैभन्दा प्रचुर सम्भावना भएर पनि उपेक्षामा परिरहेको कृषि क्षेत्रको विकासको स्पष्ट खाका ल्याउने दल र उम्मेदवारलाई आफ्नो सहयोग रहने बताए। उनले कृषि, पर्यटन, रोजगारीलगायत क्षेत्रमा देखिएका समस्या समाधानको नीति, कार्यक्रम र सोच ल्याउनुको सट्टा नपत्याउने गफ गर्नेलाई पहिचान गर्ने चरणमै रहेकाले यस पटक सोचेर मात्र मत दिने योजना रहेको बताए।
खत्रीले भने, “हामीलाई मल, सिँचाइ, सडक र बजार चाहिएको हो। जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन । यस्तो प्रवृत्तिलाई भोट जाँदैन । यस पटक निकै सचेत भएर मत हाल्छौँ।”
म्याग्दीमा राजनीतिक दलका र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। हाल सबै उम्मेदवार जनताको घरदैलोमा गई आफ्ना योजना सुनाइरहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जनताले खोजेको विकास र सुशासन नै आफ्नो मुख्य ‘एजेन्डा’ भएको र जनताको घरघर गएर समस्या पहिचान र गुनासो सुन्ने काम भइरहेको बताए।
उनले भने, “विभाजनको राजनीति होइन, सबैलाई समेटेर विकास गर्ने सोचसहितको बाटोमा हामी प्रतिबद्ध छौँ। मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छौँ ।”
नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठ पनि जनचाहनाअनुसार नै आफूले काम गर्ने विषयमा जनतालाई बुझाउने काम भइरहेको बताए। उनले भने, “जिल्लाको विकास र स्थानीयका चाहनाबारे हामी जानकार छौँ। गरिब, किसान र युवाका मुद्दा संसद्मा बलियो गरी उठाउने र जनचाहनाअनुसार नै विकास काम अगाडि बढाउनेमा मेरो पार्टी र म प्रतिबद्ध छु।”
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिक सरोकार भएको बताए। “आश्वासन होइन, स्पष्ट योजना र समय सीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ। सोहीअनुसार जनतालाई बुझाउने काम भइरहेको छ”, उनले भने।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै घरदैलो गरिरहेका छन्। उनी भन्नुहुन्छ, “जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन्। पारदर्शिता, जबाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ। त्यसका लागि मैले आफ्नो स्पष्ट सोच र योजना बनाएको छु।”
यहाँ उम्मेदवार आफ्ना कुरा राख्न र मत माग्न व्यस्त छन्। मतदाताले पनि योजना र व्यक्तिको पृष्ठभूमि हेरेर निर्णय गछौँ भनेर आफ्नो धारणा राखिरहेका छन्। बेनी बजारमा व्यवसाय गर्दै आएका शिव पौडेलले उम्मेदवारका प्रतिबद्धता कार्यान्वयनको आधार देखेमा मात्रै यसपालिको निर्वाचनमा कुनै उम्मेदवारलाई मत दिने बताउँछन्। “नेताहरूका कुरा धेरै सुनियो। अब व्यापार, रोजगारी र स्थायित्वका कुरा गर्ने उम्मेदवारलाई नै मेरो र परिवारको भोट जान्छ”, उनी भन्छन्।
बेनीकी युवा मतदाता अङ्गिता पुन पनि भन्छिन्, “हामी भाषण होइन, भविष्य खोजिरहेका छौँ। युवालाई देशमै अवसर दिने नीति र योजना भएको उम्मेदवारलाई मात्र भोट दिन्छौँ।”
माउन्ट एभरेस्ट आवासीय माविका प्रधानाध्यापक राजु केसी मतदातामा बढ्दै गएको चेतनाले यस पटक निर्वाचन भावनाभन्दा मूल्याङ्कनमा आधारित हुने सङ्केत देखिएको बताउँछन्। आश्वासन र समाजमा दरार ल्याउने रणनीतिले उम्मेदवारलाई घाटा पुर्याउन सक्ने उनको विश्लेषण छ।
यहाँका अधिकांश मतदाताले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर कालोपत्रे गर्ने, अन्य सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवर्द्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दालाई मूल्याङ्कनको आधार बनाउने बताएका छन्।
म्याग्दीमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ कुल ८६ हजार ३९७ मतदाता छन्, जसमध्ये अन्य एक, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ छन्। निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएका छन्।