काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
अ+
अ-

ढाका । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १८० सिटमा जित हात पारेको छ, जुन बहुमतका लागि आवश्यक १५० सिटभन्दा ३० सिट बढी हो। हालसम्म २२८ सिटको नतिजा सार्वजनिक भइसकेको छ।

यता, जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलको गठबन्धनले हालसम्म केवल ४५ सिट मात्र जितेको छ। जमातका प्रमुख शफीकुर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका छन्।

अब पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। उनले दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए र दुवै क्षेत्रमा विजयी भएका छन्। रहमान १७ वर्षपछि गत वर्षको डिसेम्बरमा स्वदेश फर्किएका थिए।

बंगलादेशले ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउने लगभग निश्चित भएको हो। यसअघि सन् १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेपछि सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा शेख हसीना र खालिदा जियाको प्रभाव कायम रह्यो। यस अवधिमा उनीहरू पालैपालो प्रधानमन्त्री बन्दै आएका थिए।

शेख हसीनाले देश छाडेपछि र खालिदा जियाको निधनपछि भएको यो पहिलो निर्वाचन हो। शेख हसीनाको पार्टी अवामी लिगलाई यस निर्वाचनमा सहभागी हुन अनुमति दिइएको थिएन। निर्वाचन आयोगका अनुसार सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा पार्टीको संलग्नता रहेको आरोपका कारण यस्तो निर्णय लिइएको हो।

भारतमा बसिरहेकी पूर्व बंगलादेशी प्रधानमन्त्री शेख हसीनाले भने यस निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै आलोचना गरेकी छन्। उनले मोहम्मद युनुसले गैरकानुनी तथा असंवैधानिक तरिकाबाट सत्ता कब्जा गरी त्यही आधारमा चुनाव गराएको आरोप लगाएकी छन्।

निर्वाचनका क्रममा बंगलादेशका विभिन्न स्थानमा झडपसमेत भएका थिए। एक मतदान केन्द्र बाहिर जमात-ए-इस्लामीका कार्यकर्तासँग भएको झडपमा बीएनपीका नेता मोहिबुज्जमान कोच्चिको मृत्यु भएको थियो।

त्यस्तै, मुन्सीगञ्ज–३ र गोपालगञ्ज सदर क्षेत्रमा मतदान केन्द्र बाहिर घरेलु बम प्रहार गरिएको थियो। गोपालगञ्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएका थिए।

बंगलादेशको निर्वाचनबारे भारतले भने नतिजा पर्खनुपर्ने धारणा व्यक्त गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नतिजा सार्वजनिक भएपछि मात्र जनमतको स्वरूपबारे मूल्यांकन गरिने प्रतिक्रिया दिएका छन्।