टी-२० विश्वकप
विश्वकप खेल्न जाँदा नेपालको लक्ष्य थियो, कुनै एक टेस्ट राष्ट्रलाई हराउने। एसोसिएट राष्ट्र इटालीसँग अघिल्लो खेल गुमाए पनि नेपालको त्यो लक्ष्य जीवितै छ। किनभने, आइतबार नेपाल दुईपल्टको विश्वविजेता वेस्ट इन्डिजसँग भिड्दै छ।
गत अक्टोबर नेपाली क्रिकेटका लागि अविस्मरणीय क्षण थियो, जतिबेला नेपालले टेस्ट क्रिकेट राष्ट्र वेस्ट इन्डिजसँग पहिलो तीन खेलको टी-२० शृंखला खेल्ने अवसर पायो। यसअघि नेपालले कुनै टेस्ट राष्ट्रसँग शृंखला खेलेको थिएन। यतिबेला नेपालले सुरुआती दुई खेल ९० र १९ रनले जितेर इतिहास रच्यो। संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहाँ रंगशालामा आयोजना भएको त्यस शृंखलामा दुईपल्टको विश्वविजेता वेस्ट इन्डिजलाई २-१ ले हराउनु आफैँमा ठूलो उपलब्धि थियो।
तर, जितका बाबजुद नेपाली खेलाडीले सोचेजति प्रशंसा बटुल्न सकेनन्। यसको मुख्य कारण थियो, वेस्ट इन्डिजले आफ्नो पूर्ण टोली नउतारेर कमजोर टोली पठाउनु। तथापि, शृंखलामा नेपाली खेलाडीले देखाएको सुझबुझ र रणनीतिक कौशलताको चर्चा भयो।
वेस्ट इन्डिजविरुद्ध एक वर्षअघि बटुलेको त्यही अनुभवका आधारमा आइतबार नेपाल सन् २०१२ र २०१६ को विश्वविजेता वेस्ट इन्डिजविरुद्ध समूह चरणको तेस्रो खेल खेल्दै छ। यतिबेला नेपाली टोलीमा सन्दीप लामिछानेबाहेक वेस्ट इन्डिजसँग खेल्ने सबै खेलाडी समावेश छन्। वेस्ट इन्डिजविरुद्धको शृंखला सन्दीपले खेलेका थिएनन्। वेस्ट इन्डिज टोलीमा भने नेपालसँग खेलेका दुई खेलाडी मात्र समावेश छन्। अन्य सबै खेलाडी नयाँ हुन्। नेपालसँग आकेल हुसेन र जासोन होल्डरले शृंखला खेलेका थिए।
विश्वकपमा सहभागी हुनुअघि कप्तान रोहितकुमार पौडेलले स्वीकार गरिसकेका छन्, “हामीलाई यसपल्ट वेस्ट इन्डिजविरुद्ध त्यति सहज हुनेछैन। किनभने, त्यस टिममा हामीले खेलेका दुई खेलाडी आकिल र जासोन मात्र समावेश छन्। अन्य खेलाडी हाम्रा लागि नयाँ भएका कारण चुनौतीपूर्ण हुनेछ।”
नेपाल यसपालिको विश्वकपमा कुनै एक टेस्ट राष्ट्रलाई पराजित गर्ने लक्ष्यका साथ मुम्बई पुगेको थियो। इङ्ल्यान्डविरुद्ध पहिलो खेलमा त्यो अवसर झन्डै जुरेको पनि थियो। इङ्ल्यान्डले पहिलो इनिङ्समा बनाएको १८४ रनलाई पछ्याउने क्रममा नेपालले १८० बनाइसकेको थियो। चार रन जोड्न नसक्दा नेपाल इतिहास रच्नबाट चुक्यो।

मुम्बईस्थित वानखेडे स्टेडियममा इंग्ल्यान्डसँगको खेलमा रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी। तस्बिर : क्यान
दोस्रो खेलमा आफूभन्दा कान्छो एसोसिएट राष्ट्र इटालीसँग अप्रत्याशित १० विकेटको पराजय भोग्दा नेपाली खेलाडीको आलोचना भइरहेको छ। इङ्ल्यान्डविरुद्ध दीपेन्द्रसिंह ऐरीले ४४, लोकेश बमले अविजित ३९, कप्तान रोहितले ३९ र कुशल भुर्तेलले २९ रन बनाएका थिए। बलिङतर्फ दीपेन्द्र र नन्दन यादवले २-२ विकेट, शेर मल्ल र सन्दीपले १-१ विकेट लिएको अवस्थामा इटालीसँग नेपालले हार भोग्छ भन्ने कसैले अनुमान गरेकै थिएन। तर, बलिङ, ब्याडिङ र फिल्डिङ– तीन वटै क्षेत्रमा फितलो प्रदर्शन गर्दा खेल सकिन ४४ बल बाँकी रहँदै नेपाल अप्रत्याशित रूपमा पराजित भयो।
आइतबार नेपाललाई पराजित गरेको खण्डमा साई होपको कप्तानीमा रहेको वेस्ट इन्डिज समूह चरणका तीन खेल लगातार जितेर सुपर-८ मा प्रवेश गर्नेछ।
यस खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाएको थियो। प्रत्युत्तरमा इटालीले १२ दशमलव ४ ओभरमा कुनै विकेट नगुमाई विजय प्राप्त गर्यो। नेपालविरुद्धको जितसँगै इटालीले विश्वकपमा पहिलो खेल जित्ने इतिहास रच्यो भने नेपाल १२ वर्षपछि जितको पुनरागमन गर्ने अवसरबाट चुक्यो। सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले कुनै खेल जितेको छैन।
यस्तो अवस्थामा वेस्ट इन्डिजविरुद्धको खेल नेपाली क्रिकेटका लागि इतिहास कोर्ने अवसर पनि हो। तर, यो विश्वकपमा वेस्ट इन्डिज निकै बलियो देखिएको छ। उसले वानखेडे मैदानमै भएको खेलमा इङ्ल्यान्डलाई ३० रन र कोलकाताको इडेन गार्डेन मैदानमा स्कटल्यान्डलाई ३५ रनले पराजित गरिसकेको छ। आइतबार नेपाललाई पराजित गरेको खण्डमा साई होपको कप्तानीमा रहेको वेस्ट इन्डिज समूह चरणका तीन खेल लगातार जितेर सुपर-८ मा प्रवेश गर्नेछ।
“हामी हार्दा नेपाली समर्थक सधैँ निराश हुन्छन्। हामी टिममाथिको विश्वास कायम रहोस् भन्ने चाहन्छौँ। त्यसैले हामीले वेस्ट इन्डिजविरुद्ध अझ राम्रो प्रदर्शन गर्नुपर्नेछ,” आरिफ शेख भन्छन्।
गत विश्वकपमा वेस्ट इन्डिज सुपर-८ बाट बाहिरिएको थियो। यसपालि वेस्ट इन्डिजको टिम निकै सन्तुलित देखिन्छ। भारतको चर्चित इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पाँच खेलाडी सम्मिलित यस टोलीले अघिल्लो दुई खेलमा २४ छक्का प्रहार गरिसकेको छ। यसले वेस्ट इन्डिजको आक्रामकता झल्किन्छ। टिममा राजस्थान रोयल्सबाट भारु ११ करोडमा आबद्ध सिमरोन हेटमायरदेखि मुम्बई इन्डियन्सका सेरफेन रुथरफोर्ड, रोयल च्यालेन्जर्सका रोमारियो सेफर्ड, चेन्नईका आकिल हुसेन र गुजरातबाट खेल्ने जासोन होल्डरजस्ता खेलाडी सम्मिलित छन्।
रुथरफोर्डका लागि वानखेडे घरेलु मैदान हो। उनी अहिले उत्कृष्ट लयमा छन्। मध्यक्रममा विस्फोटक ब्याटिङ गर्ने उनले इङ्ल्यान्डविरुद्ध यही मैदानमा अविजित ७६ रन बनाएका थिए। उनीबाहेक हेटमायर झन् खतरनाक देखिन्छन्। केही ओभरमै खेलको दिशा बदल्न सक्ने खुबी राख्ने हेटमायरले स्कटल्यान्डविरुद्ध ६४ रन बनाएका थिए। अझ, प्रारम्भिक ब्याट्सम्यान कप्तान साई होप चलेका छैनन्। उनी अर्का खतरनाक ब्याट्सम्यान हुन्।
प्रारम्भिक ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत दिएको खण्डमा र मध्यक्रममा कप्तान रोहित र दीपेन्द्रले इनिङ सम्हाले नेपालको सम्भावना बलियो भएर जानेछ।
यसबाहेक बलिङमा सेफर्डको तीव्रताले स्कटल्यान्ड धराशायी भएको थियो। उनले २० रन खर्चेर पाँच विकेट लिएका थिए। पूर्वकप्तान होल्डर पनि फर्ममै देखिन्छन्। उनले स्कटिस टोलीविरुद्ध तीन विकेट लिएका थिए। इङल्यान्डविरुद्ध तीन विकेट लिएका लेफ्टआर्म स्पिनर गुडाकेश मोती र दुई विकेट लिएका रोस्टन चेस पनि लयमै छन्।
नेपालका लागि आइतबारको खेल आत्मसम्मानको हुनेछ। प्रारम्भिक ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत दिएको खण्डमा र मध्यक्रममा कप्तान रोहित र दीपेन्द्रले इनिङ सम्हाले नेपालको सम्भावना बलियो भएर जानेछ। तर, इटालीसँग खेल्दाको जस्तै विकेट गुमाउने रोग बल्झिएमा नेपालको इतिहास रच्ने अभियानमा ठूलो धक्का लाग्नेछ।
बलिङमा सन्दीप लामिछानेको भूमिकाले धेरै कुरा निर्धारण गर्नेछ। नेपालको खेललाई सूक्ष्म ढंगले अध्ययन गरेका वेस्ट इन्डिजका कप्तान होप भन्छन्, “मैले पहिल्यै भनिसकेँ– यो विश्वकप हो। यसमा कुनै एक टोलीले अर्को टोलीलाई हराउने सामर्थ्य राख्छ। त्यसैले कसैलाई हल्का रूपमा लिनु हुँदैन।”
वेस्ट इन्डिजका कप्तानले भनेजस्तै नेपालले आइतबार जित निकालेको खण्डमा नेपाली क्रिकेटका लागि त्यो सुनौलो भविष्य कोर्न सहयोगी हुनेछ।