तानसेन। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्नेभन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन्। पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा उनले चुनावको भन्दा पनि चिन्ता देशको रहेको बताएका हुन्।
जिल्लाका कांग्रेसका दुवै उम्मेदवारसमेत रहेको भेलामा उनले भने‚ “०८४ सालमा हुनुपर्ने चुनाव किन ०८२ मा हुँदै छ? किन ७४ आमाको काख रित्तियो? किन सिंहदरबार जल्यो? यसको जरामा रहेको कारण पहिचान गरेर सही ढंगले देशलाई कसले समन्वय गर्न सक्छ? भविष्यमा जेन-जीपछिको पुस्ता अल्फाले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ नेतृत्व कोसँग छ ? मूल प्रश्न यो हो।”
शर्माले चुनावी जितहारपछि पनि मिलेर देश निर्माणको काममा लाग्नु पर्नेमा जोड दिँदै नयाँ आशा, नयाँ विश्वास जगाउन जुट्नुपर्ने बताए। उनले देश कसले हाँक्ने भन्ने दाबी कुनै पनि दलले गरिरहँदा देश गाँस्ने भन्ने मूल मन्त्र जप्दै अघि जानुपर्नेमा जोड दिए।
चुनावी मैदानमा रहेका कुनै पनि दल र कुनै पनि प्रतिस्पर्धी उम्मेदवारलाई कांग्रेसले दुस्मन नमान्ने प्रस्ट पार्दै उपसभापति शर्माले सबैसँग हार्दिक प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाए।
उनले भने‚ “आलोचना गर्नुपर्दा स्वस्थ्य ढंगले गर्नेछ तर कसैलाई पनि गाली गर्नेछैन। देशभरका हाम्रा उम्मेदवार साथीहरूलाई पार्टीको यो नीतिअनुरूप प्रस्तुत हुन आग्रह गर्दछु।”