पुस्तक समीक्षा
लेखकले भान्साभित्रको राजनीतिलाई वैचारिक विमर्शको विषय बनाएकी छन्। भान्साभित्रको आवाज मूल्यवान् छ भन्ने कुरा आफैँ मनन गरेर बौद्धिक वर्गलाई पनि मनन गर्न बाध्य पारेकी छन्।
‘भात! भान्सा! भोजन!
मीठो। नमीठो। सफा। फोहोर। चिटिक्क। स्वागत। संस्कार। सत्कार। घर। व्यवहार। परिवार। जिम्मेवारी। कर्तव्य। दायित्व। महिलाका लागि निकै परिचित शब्दहरू हुन्। यी शब्दहरू मात्र पनि हैनन्। यी शब्दहरूले व्यापक अर्थ ओगटेका छन्।
हरेक महिला एक गृहिणी हुन्। यी शब्दहरूप्रति रुचि होस् या नहोस्, गृहिणीका कानमा यी शब्द मन्त्र बनेर नाद गरिरहन्छन्। भाला बनेर घोचिरहन्छन्। हृदयमा आगो लुकाएर चिसा हातहरूले झोसिरहन्छन् भान्साको आगो। आफैँ जलेर पकाइरहन्छन् अनेकन् परिकार। अरूकै पेट भर्न, अरूकै सुख र सुविधाका लागि दिइरहन्छन् आफ्ना रहरका आहुति।
तर, प्रश्न उठ्छ– युगौँयुगदेखि भान्सामा खटिएकी एक गृहिणी किन उपेक्षित, अवहेलित र अर्थहीन छे? आजीवन घरभित्रको कामको पहाड उचालेर हिँडिरहेका गृहिणीका हनुमान् हातहरू किन निर्बल बनाइन्छन्? किन निर्धन छन् ती कर्मवीर हातहरू? आराम नभेटेको जीवन किन आम्दानीविहीन छ? दाता भएर परिवारभरि पग्लिएको हृदय किन लाचार छ? औषधि भएर बगेको शरीर किन आफैँ बिमार छ?
म पनि गृहिणी नै हुँ। मेरो पनि अमूल्य समय भान्सामै व्यतीत हुन्छ। ठ्याक्कै तेजश्री जस्तै। तेजश्रीलाई मैले निकटबाट चिनेकी छु। बुझेकी छु। तेजश्री! आखिर को हो त?
हुन त, तेजश्री अर्चना थापाको नवीनतम उपन्यास अग्निगर्भाकी मुख्य पात्र हुन्। तर, उपन्यासको पात्रमा मात्र परिचित गराउन मन लागेन। यो पात्रसँग म धेरै निकट छु। देखेकी छु घरघरमा तेजश्रीहरू। तेजश्री म पनि हो। तपाईं पनि।
भान्सालाई उपन्यासकारले मुख्य विषय बनाएकी छन्। तेजश्रीकै वरिपरि कथा र उपकथा घुमेको छ। सम्पन्न घरभित्रको मक्किएको सम्बन्धहरूको पोयो खुल्छ कथामा। समाजको असली रूप प्रतिबिम्बित हुन्छ कथाहरूमा, किंवदन्तीहरू, उखानहरूमा।
यो जक्तिसिंह टोलको कथा हो। कहाँ छ यो टोल भन्नुहोला! यो हरेक समाजमा छ। टोल टोलमा छ। अझ घर घरमा छ।
आगोले जलेको दृश्यबाट उपन्यास आरम्भ हुन्छ र आगोकै संघर्षमा समाप्त हुन्छ। जोसँग सम्बन्ध गाँसिएर तेजश्री नयाँ घरमा आएकी छ, उसैले परित्याग गरेको छ। लोग्ने अमेरिका पढ्न गएको छ। घरमा तेजश्री असल ब्वारी बनेर बसेकी छ। एउटी छोरी, बिरामी सासू, दम्भी ससुरा, अहंकारी हजुरी र वरिपरि छन् अनेकौँ असहयोगी मस्तिष्क। तेजश्रीले आफूलाई मारेर जीवित राखेकी छ परिवार। अहोरात्र सेवाटहल गरेकी छ छोरीको, सासूको, ससुराको र सहयोग गरेकी छ अरू महिलाहरूको पनि। आमाहरू नै तेजश्रीलाई वचनवाण हान्न तल्लीन छन्।
तेजश्रीलाई कर्तव्यको डोरीले टनटनी बाँधेको छ। यौनको आगो, मनको तृष्णा जबर्जस्ती निभाएकी छ। तेजश्रीले कर्तव्यको भारी बिसाउन पाउँदिन। निजी रहरको सन्दुक उघार्न सक्दिन। कुनै हालतमा पनि ऊ थाक्न पाउँदिन। ऊ जिम्मेवार हुनैपर्छ घरप्रति, हजुरीप्रति र कमजोर मानसिक अवस्था भएकी सासूप्रति, पितृसत्तामा हुर्किएकी आफ्नै बेसोमती छोरीप्रति।
तर, तेजश्रीको अस्तित्व बोध जुर्मुराउँछ। सत्यादीको प्रेरणादायी विचारले चेतनाको छैटौँ आँखा खुल्छ। नयाँ दृष्टिकोण निर्माण हुन्छ। पहिचान गुमेको भान्साबाट आरम्भ हुन्छ स्वत्वको खोज। आफ्नो कर्मको मूल्य टिप्न थालेपछि अस्तित्वको राजमार्ग आफैँ कोर्न थाल्छे तेजश्री।
धनीकी बुहारीले भान्साघर खोल्नु हुँदैन। निच काम हो भात बेचेर दोबाटामा आइमाई बस्नु। घरको मात्र होइन, सारा समाजको इज्जत जान्छ, ब्वारीले भात बेचेर बस्यो भने। समाजको मानसिकता यही छ।
भान्साघर आयआर्जनको केन्द्र बनेपछि समाज ओकल्छ संकुचित स्वरको हाब्रो ‘लाज, शरम र इज्जत नभएकी छाडा आइमाईले अरू आइमाई पनि बिगार्ने भई। वेश्यालय नै खोल्ने भई सम्म भन्छ। समाजको नजरमा तेजश्री तारो बन्छे। कामप्रति समर्पित हुँदा छाडा हुन्छे।
भान्साबाट आरम्भ हुने विभेदको कथा छ अग्निगर्भामा।
यता, परिवार सेवा मात्र खोज्छ। स्वाधीनता स्विकार्न सकस पर्छ, शक्ति हातमा लिएर बसेको सत्तालाई। तेजश्रीको मौन विद्रोह घरबाट आरम्भ हुन्छ। आफ्नै सन्तान पनि सहयोगी हुँदैनन्। भान्साको कामको कुनै मूल्य छैन घरमा, तर मूल्य खोज्न बाहिर जाँदा तिलमिलाउँछन् सेवाभोगी आँखाहरू।
भान्साबाट आरम्भ हुने विभेदको कथा छ अग्निगर्भामा। वर्षौंदेखि घरभित्र किचिएको, थिचिएको, अपमानित भएको सशक्त जिन्दगानी छ उपन्यासमा। थाहै नहुने हिंसाको विद्रूप रूप छ। विभेदको पर्खाल छ। कामको असमान व्यवस्था छ। भान्साको विशालतालाई उपन्यासकारले निकै सरल किसिमले उठाएकी छन्।
लाग्छ, थापाको कलमले सामान्य विषयलाई उठाएको छ, तर यो विषय गम्भीर छ। पात्रहरूको चयन नै अर्थपूर्ण छ।
वर्तमान समयमा मानसिक रोगीहरूको संख्या दिनप्रतिदिन बढ्दै छ। घरभित्र मानसिक रोगी जन्माइँदै छ। हुर्काइँदै छ। सबै जना तेजश्री नहुन सक्छन्। ठुल्काजीकी दुलही पनि बन्न सक्छन् कुँवरी। हरेक गृहिणीको भोगाइ फरक फरक भए पनि संघर्ष उस्तै उस्तै छन्।
घरको सबैभन्दा सुन्दर स्थान हो भान्सा। भान्सा ज्ञान हो। विज्ञान हो। शिक्षालय हो।
दिनको आरम्भ र अन्त्य भान्साबाटै हुन्छ। भान्साविनाको जीवन मृत हुन्छ। भान्साकै लागि हामी हिँड्छौँ घरबाहिर। भान्साभन्दा माथि मानव जीवन छैन। मानव जीवनको उत्साह, उमंग र प्राणशक्तिको केन्द्र हो भान्सा। तर, भान्सा सजाउने पात्र सधैँ उपेक्षित छ। तिरस्कृत छ। मूल्यहीन छ। भान्साको कामको मूल्यांकन गर्दैन जगत्।
यो उपन्यासको मात्र कथा होइन, युगौँयुगदेखि हाम्रै समाजमा मडारिएको विभेदको चक्रवात हो। अन्यायको अन्त्यहीन अँध्यारो हो। दिनरात चुलोमा आफ्नो स्वप्रभुता र अस्तित्वलाई चरु बनाएर होमिइरहेका जातिहरूको महाकथा हो अग्निगर्भा। हरेक बिहान नवीन ऊर्जासहित जन्मिन्छन् अग्निगर्भाहरू।
मान, अपमान, निराशा, संघर्ष, दुःख, पीडा र तिरस्कारको अग्निमा होमिएका यिनै स्वर्ण चरीहरू पखेँटा काटेर पर्खालभित्र बन्दी बनाइए तापनि निर्माण गर्न सक्छन् आफ्ना लागि एउटा सिंगो आकाश। जसरी निर्माण गरेकी छ जक्तिसिंहकी ब्वारी नानीले।
आगोमा होमिएर पनि मृत्युलाई पराजित गर्दै आएका महिलाहरूले चाहे भने भान्साबाटै एउटा सुन्दर भविष्य कोर्न सक्छन्। भान्साबाट उत्पादित अमृतभोग खाएर हुर्किएको स्वस्थ समाज, भान्साभित्रकै कामलाई अर्थहीन र मूल्यहीन ठान्छ। भान्साबाटै बोल्न सिकेको थुतुनो अपमानको झटारो फ्याँक्छ भान्साकै पवित्र चुलोमा। तर, समय सधैँ जेठी दुलही (कुँवरी) बनेर टोलाएर बस्दैन। तेजश्री बनेर सम्पूर्ण समाजलाई नै तरंगित पार्न सक्छ।
अपमान र अन्यायको आगोमा पिल्सिएर बसेका कैयौँ कुँवरी सिंहहरू मिसिएका गेडागुडी केलाएर बस्दैनन् अब। अस्तित्वमाथि हमला हुँदा गृहिणीहरू भान्साबाटै मौन विद्रोह गर्न सक्छन् जसरी तेजश्रीले गरेकी छ। अपमान र अवहेलनाको पहिरो नथामिँदा अबका तेजश्रीहरू उग्रचण्डी बनेर भान्साभित्रका जिनिसहरूबाटै जयदुन्दुभि बजाउन सक्छन्। भान्साकै धरातलमा उभिएर स्वको बिगुल फुक्न सक्छन्।
भान्साभित्रका शब्दहरू परिभाषित शब्द हैनन्, तर साधारण पनि छैनन्। पठित वर्गहरूलाई लाग्न सक्छ भान्सालाई बुझ्न के नै पढ्नुपर्छ र! जाबो भातै त पकाउने थलो हो नि! भान्सामा भात मात्र पाक्दैन! भान्सामा जीवन पनि पाक्छ। विचार पाक्छ। चेतना मात्र जागृत हुँदैन अस्तित्वको उज्यालो अलात बल्छ।
भान्साको धारामा तरकारीको विष पखालेको त सजिलै देख्न सकिन्छ। चुलो जलेको पनि सजिलै देखिन्छ, तर शनैः शनैः भान्साभित्र सीमित पारिएका तेजस्वीहरूको रुचि, इच्छा, सपना, कल्पना, अस्तित्व, आत्मसम्मान, अधिकार, अवसर जलेको कसले देख्न सक्छ? कसले बुझ्न सक्छ भान्साको महाज्ञान?
भान्सा बुझ्न निकै सजिलो छ जस्तो लाग्छ, तर अहँ! भान्सा नबुझिने पहेली पनि हो।
भान्सा त साधनाको द्वार हो। सन्तुलनको उपहार हो। स्वास्थ्यको सञ्जीवनी हो। औषधिको भण्डार हो। भान्सा कौटिल्य हो। गीता हो। महाभारत हो। भान्सा रामायण पनि हो। भान्सा कुरुक्षेत्र हो। भान्सा युद्धभूमि हो। संघर्षको मैदान हो।
विडम्बना, म निर्ढुक्क भन्न सक्दिनँ भान्सा कैलास मात्र हो भनेर, भान्सा आर्यघाट पनि हो। भान्सामा चिता जल्दैन भनेर म विश्वास बटुल्न सक्दिनँ। भान्सा कालको पनि महाकाल हो। चिहानहरूको पनि महाचिहान हो। यहाँ मृत्यु ताण्डव गर्छ हर समय। देखेकी छु सिर्जनाका अनेकौँ फूल भान्सामा भस्म भएका।
भान्सा बुझ्न निकै सजिलो छ जस्तो लाग्छ, तर अहँ! भान्सा नबुझिने पहेली पनि हो। यही पहेलीलाई उपन्यासकार अग्निगर्भाबाट बुझाउन चाहन्छिन्। अग्निगर्भा पढेपछि तपाईं पनि भन्नुहुनेछ भान्सा एक रहस्यमयी विश्वविद्यालय हो।
भान्सामा आसन जमाएर भोजन गर्दै तृप्त भएर उठेका बलिया आँतहरूले आजसम्म पनि बुझ्न सकेका छैनन् भान्साको पाठ। भान्साको ज्ञान, विज्ञान, रहस्य र दर्शनको अन्तर्य बुझ्न सक्दैन भान्साभन्दा पर भएको सत्ता। भान्साभन्दा परको सुकिलो विश्वविद्यालबाट दीक्षित डाक्टर पनि भान्साको विशालता बोध गर्न असमर्थ छ।
युगौँयुगदेखि भिन्न पहिचान, अस्तित्व र सभ्यता बोकेर हिँडेको छ भान्सा। तेजश्रीले प्रमाणित गरेर देखाएकी छ भान्साको शक्ति।
तेजश्रीको भान्साघरको बेग्लै महत्त्व छ। बेग्लै घनत्व छ। भान्साप्रतिको प्रेम पृथक् छ। भान्साप्रतिको विश्वास अग्लै छ। तेजश्रीको भान्साको तेजले सम्पूर्ण जक्तिसिंह टोल डराउँछ। जहाँ भान्सा पैसा कमाउने साधन बन्दैन त्यहाँ पहिचान जल्छ। जब भान्सा पनि काम बन्छ त्यहाँ अस्तित्व जागृत हुन्छ। पहिचान पल्लवित हुन्छ। अर्थ आर्जन गर्ने भान्सा पूजा मात्र बन्दैन, प्रसाद पनि बन्छ। जीवनको आधार बन्छ।
अन्निगर्भा पृथ्वी, शमीको काठ। नारी र पृथ्वी। शक्तिशाली छ बिम्ब। ठूलो कुरा लेख्न सजिलो छ, तर सानो सानो कुरा लेख्न कठिन। थापा कठिन बाटो समात्छिन्। भान्साभित्रको झिल्कोलाई तुच्छ ठान्दिनन्। डढेलो झिल्कोकै देन हो।
उपन्यासकारले भान्साभित्रको जीवन, जगत्, उज्यालो, अँध्यारो, शक्ति, सत्ता, शोषण, सहनशीलता, शालीनता, सहयोग, सद्भाव, विभेद, न्याय, अन्याय, अत्याचार, ज्ञान, विज्ञान, मनोविज्ञान, प्रविधि, प्रकृति, प्रवृत्ति र परिवेशलाई प्रतीकात्मक, बिम्बात्मक किसिमले ल्याएकी छन्।
उपन्यासको भूगोल, विषय, पात्रहरूको तानाबाना बडो सुन्दर छ। भाषा मौलिक छ। उखानटुक्काको प्रयोगले उपन्यासलाई रोचक बनाएको छ। पात्रअनुसारको संवाद सुहाउँदो छ। समाजमा, घरव्यवहारमा, सम्बन्धमा देखिएका विभेदको बडो शालीन प्रस्तुति छ। भान्साभित्रको राजनीतिलाई वैचारिक विमर्शको विषय बनाएकी छन्। भान्साभित्रको आवाज मूल्यवान् छ भन्ने कुरा आफैँ मनन गरेर बौद्धिक वर्गलाई पनि मनन गर्न बाध्य पारेकी छन्।
प्रतीकात्मक किंवदन्तीबाट आरम्भ भएको उपन्यासमा कथाको संरचना र प्रस्तुति पृथक् पृथक् छ। गम्भीर विषयलाई पनि सरल, सरस र शालीन किसिमले भन्न सकिने कुरालाई प्रमाणित गरेकी छन् थापाले। विश्लेषण, विचार र दर्शनको सुन्दर कोलाज छ। काल्पनिक भूगोलमा गरिएको जक्तिसिंह टोलमा समयको सुन्दर सम्मिश्रण पनि छ।
कुँवरीको दुःख घरभित्रबाट सिर्जित दुःख हो।
जसको उदाहरण, एउटै घरमा अनेक समय एकैपल्ट पात्र बनेर उभिएका छन्। हजुरी ठुल्काजीको बुबुआमा। जो आफ्ना छोराहरूसँग बस्दिनन्। राज गर्न सक्दिनन् आफ्नो घरमा। अरूकै घरमा आफ्नो प्रभुत्व जमाएर हैकम चलाउँछिन्, कत्रो व्यंग्य छ।
हजुरी निश्चित समयसम्म ठूल्काजीकी बुबुआमा थिई, तर ऊ आजीवन सम्मानित छे। यो कस्तो समयको भुमरी हो? हजुरी हैकमवादी छे। कुँवरीको दुःख घरभित्रबाट सिर्जित दुःख हो। रोग हो। अमन र चमनकी आमा किन त्यो अवस्थामा पुगी? कुँवरी अमन र चमनकी बुबुआमा मात्र थिइन, जन्मदाता पनि थिई, तर के, कति र कसको कारणले घरभित्र टोलाएर धुमधुम्ती बस्न विवश भई? यो घरभित्र फैलिएको अन्याय, अपमान र हिंसा भोगेकी पात्र हो।
कुँवरीको मानसिक अवस्था घरभित्रको डरलाग्दो राजनीति हो। उपेक्षा मन्दविष हो। कुँवरी आरम्भमै मिसिएका गेडा छुट्याएर बस्ने पात्र पक्कै थिइन, यदि कुँवरीको मानसिक अवस्था असन्तुलित थियो भने ठूल्काजीको घरमा दुलही बनेर आउँदिनथी। एउटा स्वस्थ छोरी ब्वारी बनेर नयाँ घरमा भित्रिएपछि त्यो घरले, भान्साले मानसिक रोगी पनि बनाइदिन्छ भन्ने शाश्वत उदाहरण हो कुँवरी।
भँगेरी अर्की शक्तिशाली पात्र छ। जातीय विभेदको डरलाग्दो अवस्थालाई भँगेरीमार्फत उपन्यासकारले निकै सुन्दर ढंगले चित्रण गरेकी छन्। भाग्यको धवल ललाट लिएर उभिएकी तेजश्रीलाई पितृसत्ताको लहरोमा उभिएको कृशकाया पनि होच्याएर बोल्छ, ‘भाग्गेमानी रैचौ ब्वारी, परान जोगियो। अमन काजीको भाग्य गरह बलियो रैच…यस्तो लच्छिनको लोग्ने पाउन त सात जन्मको पुन्ने गर्नुपर्छ। भाग्यमानी रेचौ … (पृष्ठ ३६)।’
युगौँयुगदेखि यही भाग्यवादमा स्वाभिमान सती गएको छ। यही भाष्यलाई विनामन्थन हाम्रा आमा-हजुरआमा पुस्ताले स्विकार्दै आएका छन्। तर, तेजश्रीको मस्तिष्क मरेको छैन। ऊ आफैँभित्र विचारको समुद्र मन्थन गर्छे, ‘के मसित बिहे गरेर अमन भाग्यमानी भएनन्? उनी परिवार बिर्सिएर विदेशिएका छन्। उनी ढुक्कसँग आफ्नो सपना पच्छ्याउँदै छन्। मैले गुनासो गरेकी छैन। म उनको घर परिवार धानेर यहाँ बसेकी छु। अनि मसित बिहे गरेर उनको पो भाग्य चम्किएको होइन र ! … (पृष्ठ ३६ )?’
चेतनाविहीन जीवन साँच्चै मृत हुने रहेछ। चेतना जागृत भएपछि नै तेजश्रीले नयाँ इतिहास निर्माण गर्न सफल भएकी छ। ठूल्काजीको हृदय बदल्न सकेकी छ।
अनुश्री नयाँ पुस्ता हो। जसले घरभित्र आमाको कामलाई मूल्यहीन ठानेको देखी। आमाको मानसम्मान देखिन। सबैबाट तिरस्कृत र उपेक्षित आमा देखी। आमाको शक्ति, क्षमता, विवेक र सम्भावनाप्रति सदैव ऊ पनि अविश्वासी भई। असहयोगी भई। बेग्लै मनोविज्ञानको सिकार भई। घरभित्रको विभेद कति घातक हुन्छ भन्ने उदाहरण हो अनुश्री। नयाँ पुस्ताको डायरी पनि निकै अर्थपूर्ण छ। मन पोख्ने स्थान नहुँदा नयाँ पुस्ता डायरीमार्फत पनि व्यक्त हुन्छ।
कति गाह्रो छ नारीलाई स्वावलम्बी हुन्। गल्ली गल्लीमा चुनौती।
तेजश्रीको सफलतामा समाज फोहोर फ्याल्छ। तेजश्रीको भान्साघरमा आगो झोस्छ। तर, भर्खरको युवाले खोलेको कफी सपमा मन्त्री आएर उद्घाटन गर्छ। कत्रो व्यंग्य र बिम्ब छ यहाँ। कति गाह्रो छ नारीलाई स्वावलम्बी हुन्। गल्ली गल्लीमा चुनौती। कत्रो संघर्ष गर्नुपर्छ महिलाहरूलाई काम गरेर खान भन्ने उदाहरण देखिन्छ जक्तिसिंह टोलमा।
अनेक चुनौती झेलेर ठडिएको तेजश्रीको भान्साघरमा जातीयताको राँको बालेर आआफ्नो स्वार्थ पूरा गर्न लागिपर्छन्। संरचनालाई खरानी बनाउन सकिन्छ सचेतना, विवेक, उत्साह र जागृतिलाई हैन भन्ने उदाहरण हो तेजश्री। आत्मविश्वास त्यही फिनिक्स चरा हो जो खरानीबाट पुनः ब्युँतिन्छ नयाँ रूप लिएर। खरानीबाटै उठ्छ तेजश्रीको भान्साघर।
तेजश्री त्यो बुलन्द आवाज हो जो हरेक घरभित्र सीमित छ। हरेक दिन आफ्नो अस्तित्व, पहिचान र सम्भावनाको आहुतिमा भस्म हुँदै छ। खाँचो छ तेजश्रीलाई ब्युँताउन। स्वप्रभुत्वको आगो हो तेजश्री। तर, कैयन् तेजश्रीहरू समाज, परिवार, कर्तव्य, दायित्वको नाममा आफूलाई आगोमा होम्दै जान्छन्। भान्साभित्र उसिनेर नष्ट गर्न विवश छन् सम्भावनाका असंख्य बीज।
तेजश्रीका सपनाहरू पनि चर्किन्छन्, तर चर्किएको भित्ताबाट समेत जीवन दर्शन स्विकार्छे। सम्भावनाको ज्योतिलाई कैयौँ वर्षसम्म भान्सामा व्यतीत गर्छे। तेजश्रीमा अस्तित्व र पहिचानको भोक छ। आफैँप्रति आत्मविश्वास र आफ्नो सीपप्रति गर्व छ।
विडम्बना, तेजश्रीहरूको तेज र सामर्थ्यलाई परिवार र समाजले संघर्ष स्वीकार्दैन। विभेदको दाम्लोले कसेर घरभित्रकै दायरामा सीमित गर्न चाहन्छ। माग्ने, दुःखी र निरीह बनाएर राखेको ‘जात’ लाई दाता बनाउन मान्दैन शक्तिको घोडामा चढेको अहंकार। तर, तेजश्री दाता बन्छे। अनि खप्न सक्दैन निरीह पात्र शक्तिशाली बनेको। अनि जिउँदै झोस्न चाहन्छ दन्केको आगो।
तर, आगोलाई आगोले भस्म पार्न सक्दैन, झन् ज्वाला बनेर दन्किन्छअग्निगर्भा।