२ फाल्गुन २०८२
अ+
अ-

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

रोजगारीको सिलसिलामा चार महिनाअघि मेघालय गएका हलेसी तुवाचुङ–५ दुर्छिमका ५० वर्षीय रत्न राईको कोइलाखानीमा काम गर्दैगर्दा गत माघ २२ गते विष्फोटमा परी ज्यान गएको थियो।

उनको परिवारलाई नगरपालिकाले रु ५१ हजार सहयोग गरेको हो । गत असोज ९ गते मेघालय जानुभएका रत्नले ज्यान गुमाएपछि घरमै गएर मृतककी श्रीमती मिना राई ९तामाङ०लाई रकम उपलब्ध गराएको नगरप्रमुख विमला राईले जानकारी दिए।

दुर्छिमस्थित जोरकाफलका राई दम्पतीको दुई छोरा र दुई छोरी छन्। ज्यालामजदुरी कमाएको पैसाले घर व्यवहार धान्दै आएका रत्नको मृत्यु भएपछि परिवारका अन्य सदस्यको विचल्ली भएको छ। उक्त घटनामा खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरले पनि ज्यान गुमाएका थिए।

उनीहरूको भारतमै अन्त्येष्टि गरिएको छ। विष्फोटमा ज्यान गुमाउने सालघारीका पूर्णिराम र सुरेन्द्र दाजुभाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए। विष्फोटमा गम्भीर घाइते भएका भञ्ज्याङका नरबहादुरको उपचारको क्रममा गत माघ २३ गते सिलोङस्थित निलग्रीन हस्पिटलमा मृत्यु भएको हो।

विष्फोटमा गम्भीर घाइतेको सिलोङमा उपचार हुँदै

विष्फोटमा गम्भीर घाइते भएका नेपालका चार जनाको सिलोङस्थित निलग्रीन हस्पिटलमै उपचार भइरहेको घटनास्थलमा पुगेका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिए।

उनका अनुसार बराहपोखरी–१ सालघारीका ४७ वर्षीय कर्णबहादुर खपाङ्गी मगर र भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ४८ वर्षीय दावा शेर्पा तथा छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका ललितबहादुर लुङ्गेली मगरको हाल उपचार भइरहेको छ।

रोजगारीको सिलसिलामा गत पुस ३ गते घरबाट हिँडेर भारतको मेघालय पुगेका तीन जनाको एउटै घटनामा ज्यान गएपछि बराहपोखरी गाउँपालिका शोकमा डुबेको छ। घटनाका मृतक परिवारलाई बराहपोखरी गाउँपालिकाले प्रतिव्यक्ति रु ५० हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए।

कोइलाखानीमा भएको विष्फोटपछि सँगै काम गर्दै आएका सोही गाउँपालिका–१ वालम्पाका ताराबल मगरले फोनमार्फत घटनाको बारेमा जानकारी गराएका थिए। मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनामध्ये ताराबल मात्रै सकुशल छन्।

मेघालयको कोइलाखानीमा भएको घटनापछि मृतकका परिवारलाई राहत तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियानसमेत सुरु गरिएको स्थानीय इन्द्र लिमेल मगरले जानकारी दिए।