काठमाडौँ। नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको गोरखा दरबार धार्मिक रुपमा पनि अत्यन्त महत्वपूर्ण रहेको छ।
गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रुपमा गोरखा दरबार रहेको छ।
मन्दिर परिसरमा नै रहेका विसं १६१६ अघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन्। पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोशाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ।
राजा रामशाहको पालामा निर्माण गरिएको गोरखा दरवार परिसरमा रहेको संरचनाहरु मध्ये मूल दरवारको विशेष महत्व रहेको छ। बुंईगल सहित यो दरवार ४ तला रहेको छ। दरबारको तेस्रो तलाकलात्मक आँखी झ्यालले वरिपरि घेरेर बनाइएको छ। उत्कृष्ट काष्ठकलाका नमूना देख्न सकिने सो मूल दरबार लगायत अन्य विभिन्न संरचनाहरु २०७२ सालको भूकम्पले क्षति गरेपनि हाल पुन निर्माणको काम सकिसकेको छ ।
सो मूल दरबारमा रहेका केही महत्वपूर्ण कोठा र दरबार परिसरका केही एतिहासिक संरचनाहरुको जानकारी दिए।
पृथ्वीनारायण शाह जन्मेको कोठा: दरवारको तल्लो अर्थात भुईतलाको दाँयातर्फको कोठामा पृथ्वीनारायण शाह जन्मेको मानिन्छ। हाल यो कोठा बन्द गरेर राखिएको छ। यो कोठा वाहिर रहेको कोठालाई धुनी कोठाभनिन्छ। भनिन्छ पृथ्वीनारायण शाह जन्मेपछि यसै धुनीकोठामा सेकताप गरिन्थ्यो।
राजकन्या कोठा: दरवारको मूल प्रवेशद्धारबाट गएपछि भित्री द्धार आउँछ यसै भित्रीद्वारबाट छिरे पछि बाँयातर्फ एक कोठा रहेको छ जसलाई कन्या कोठा भनिन्छ। यस कोठामा बडा दशैं ८ कन्या र १ कुमारलाई पूजा गरी भोजन गराइन्छ भने वडा दशैंको टिकाको दिन देखि पुर्णीमाका दिनसम्म गोरखकाली र गोरखकालीसंग सम्बन्धित वस्तुहरु यस कोठामा राख्ने प्रचलन रहेको छ।