बाँके। बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सीमित भएको छ।
प्रत्येक निर्वाचनमा खड्कवार–घुइँयाबारी सडक निर्माणलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाए पनि सडक निर्माण भने हुन सकेको छैन। विसं २०१५ देखि नै चुनावी नारा बन्दै आएको यो सडक निर्माणको एजेण्डालाई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले प्राथमिकतामा पारेका छन्।
कोहलपुर नगरपालिका वडा नं. १२ र १३ लगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौँडी–खडकबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी रहेको नेकपा (एमाले) बाँके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताए।
“यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ, छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक हाम्रो प्राथमिकतामा छ”, उम्मेदवार ढकालले भने, “यो सडक सञ्चालन गर्न सके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यानलगायत स्थानमा पुर्याउन सकिन्छ।”
नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रायण गौडेलले यो सडक निर्माणको लागि आफूले प्रयत्न गर्दै आएको बताए।
खड्कबार–घुइँयाबारी सडकखण्डका लागि बजेट विनियोजन गर्न दबाब दिन विगतमा नेपाली कांग्रेसले पदयात्रा गरेको स्मरण गर्दै उम्मेदवार गौडेलले यो सडक निर्माणलाई आफूले चुनावी एजेण्डा बनाएको बताए। यो सडक दुरीका हिसाबले अत्यन्त छोटो छ।
खड्कबार हुँदै सल्यान घुइँयाबारी पुग्न २० किलोमिटरभन्दा कम छ । यो सडकको परिकल्पनाकार नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला भएको गौडेलको दाबी छ।
अन्य राजनीतिक दलका उम्मेदवारले यो सडक निर्माणलाई प्राथमिकतामा राखेका छन्। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं.१ मा उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डे, रास्वपाका सुरेश चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले खड्कबार–घुइँयाबारी सडक निर्माणलाई चुनावी एजेण्डा बनाएका छन्।
चुरे, भावर, समथर भू–भाग, मठमन्दिर, बाँके राष्ट्रिय निकुञ्ज यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले यो बाटो महत्वपूर्ण छ। यो मार्ग बनाउनको लागि लामो समयदेखि कुरा उठ्दै आएता पनि यसले मूर्तरुप लिन नसकेको कोहलपुर नगरपालिका–१३ का स्थानीय अगुवा लालबहादुर रानाले बताए।
कोहलपुर–चपरगौँडी–खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग निर्माण भए कोहलपुरको दुर्गम भेगका रुपमा रहेको वडा नं. १३ का खड्कवारलगायत गाउँवस्ती सडक सञ्जालसँग जोडिने उनको भनाइ छ।