दमौली। जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको छ।
कार्यालयले एक हजार ६ सय ९८ जना अस्थायी मतदाताको नामावली स्वीकृत गरेको हो।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले कारागारमा रहेका कैदीबन्दी, सङ्घ र प्रदेश सरकार मातहतका कर्मचारी, सुरक्षाकर्मी अस्थायी मतदाताको रूपमा रहेको जानकारी दिए । अस्थायी मतदातालाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरिनेछ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रयोजनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ को दफा ९ उपदफा (१) बमोजिमका निकाय वा संस्थाबाट प्राप्त सोही कार्यविधिको दफा १० बमोजिम नाम समावेश गर्न, त्रुटी सच्याउन तथा दाबी विरोधका लागि निवेदन पेस भए अनुसार जाँचबुझ गरी सोही कार्यविधिको दफा ११ बमोजिम अस्थायी मतदाता स्वीकृत गरिएको लम्सालले बताए।
निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३ सय ९७ मतदाता कायम भएका छन्। त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४ सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९ सय ६ रहेको छ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २६ हजार ८ सय ८२ र र क्षेत्र नं २ तर्फ एक लाख २७ हजार ५ सय १५ मतदाता कायम भएका छन् । क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७ सय ७८ र महिलाको सङ्ख्या ६५ हजार १ सय ४ छ।
क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७ सय १३ र महिलाको सङ्ख्या ६५ हजार ८ सय २ रहेको छ । क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नं ५ र ६ पर्दछ।